Aamsanchar

पूर्वाञ्चल औद्योगिक मेलाको तयारी तीब्र

Author Image
मङ्गलवार, पौष ४, २०७४

दमक।

झापाको दमकमा पुस २७ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन हुने पूर्वाञ्चल स्तरीय दमक औद्योगिक एवम् कृषि महोत्सवको तयारी तीब्र रुपमा शुरु भएको छ । २०६७ सालपछि रोकिएको महोत्सवको निरन्तरताको रुपमा नै महोत्सवको तयारीलाई तीब्र बनाएको बताइएको छ ।

वेवारिसे अवस्थामा रहेको इलम प्रशिक्षण केन्द्रलाई सञ्चालन गर्दै भौतिक संरचनाहरुको संरक्षण गर्ने उद्देश्य राखेर महोत्सव गर्न लागिएको जनाइएको छ । दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले महोत्सवको प्रमुख उद्देश्य भनेको आन्तरिक पर्यटकहरुलाइ भित्र्याउने र यहाँको कृषि तथा हस्तकलालाइ प्रवद्र्धन गर्नु रहेको बताए । पूर्व क्षेत्र कृषि र हस्तकलामा निक्कै अगाडि भएपनि यहाँको उत्पादनहरुको बिषयमा प्रचारप्रसार नहँुदा ओझेलमा रहेको ढकालको भनाइ छ ।

दमकमा नेपालको पहिलो हरित औद्योगिक पार्क, विश्वको अग्लो बुद्धमूर्ति, नेपालकै सबैभन्दा ठूलो सभाहल, व्यापारिक भ्यू टावरजस्ता योजनाहरुले चर्चा रहेकाले यस महोत्सवले यहाँ लगानीकर्तालाई आकर्षणको माध्यमको रुपमा काम गर्ने अपेक्षा राखिएको बाणिज्य संघले जनाएको छ । दमकमा बन्ने विश्वको अग्लो बुद्धमूर्तिका बिस्तृत परियोजना विवरण तयार भइसकेको र औद्योगिक पार्कको जग्गाको व्यवस्थापनसँगै प्रारम्भिक चरणको काम नै शुरु भएको बताइन्छ ।

यसका साथै इलम प्रशिक्षण केन्द्रको भवन निर्माण, जग्गा संरक्षणका लागि घेराबारा गर्ने रकम महोत्सवबाट उठ्ने अपेक्षा समेत लिइएको अध्यक्ष ढकालले बताए । वेरोजगार युवाहरुलाइ सिपमूलक तालिम प्रदान गरेर रोजगारमुखी बनाउने उद्देश्य राखेको इलम प्रशिक्षण केन्द्र बन्द भएको ५ बर्षभन्दा बढी भएको छ । नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र दमक उद्योग बाणिज्य संघले यसलाई साझेदारीमा सञ्चालन गरेका थिए ।

महोत्सव तयारी समितिका संयोजक एवम् दमक उद्योग बाणिज्य संघका सदस्य राजन दंगालका अनुसार बिगतमा भएका महोत्सवहरुभन्दा यो महोत्सव व्यवस्थित बनाउनका लागि प्रयत्न भइरहेको छ । अहिले महोत्सवलाई सफल बनाउनका लागि एकदर्जन भन्दा बढी उपसमितिहरु समेत गठन गरिएका छन् । बाणिज्य संघका द्वितीय उपाध्यक्ष युवराज घिमिरेका अनुसार स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हुन लागेको यो महोत्सवले यस क्षेत्रमा लगानीका अवसरहरु समेत बढाउने अपेक्षा छ ।

दमकमा व्यापार एवम् कृषि महोत्सव नभएको ८ बर्षभन्दा बढी भएको भन्दै नियमित रुपमा महोत्सव गर्ने अवस्था यसबाट आउने उनको भनाइ रहेको छ । आफूहरुले महोत्सवमा स्थानीय उत्पादन, स्थानीय खाद्य परिकार र स्थानीय हस्तकलाका सामग्रीहरुलाई महत्व दिने तयारी गरेको पनि दंगाल बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर