Aamsanchar

विद्यार्थीको सिकाई र शैक्षिक भ्रमण

Author Image
शुक्रवार, पौष ७, २०७४

(सविता भण्डारी)

जीवनलाई अनुभवहरुको संगालो पनि भनिन्छ । अनुभवहरुबाट आफ्ना अनुभूतिहरुलाई निखार्दै अगाडि बढ्नका लागि भ्रमण अत्यन्तै महत्वपूर्ण हुने गर्दछ । ‘भ्रमण’ भन्ने वित्तिकै घुम्ने काम वा घुमाई भन्ने बुझिन्छ । सुनेर जानकारी हुन्छ, देखेर विश्वास गरिन्छ र गरेर मात्र सिककिन्छ भन्ने धारणा अनुकुल गरिने शैक्षिक भ्रमण पनि एउटा सिक्ने प्रकृया हो ।

मानिस स्वभावैले एकै स्थानमा बस्न चाहाँदैन । परिवर्तनको अपेक्षा हरबखत गरिरहन्छ । कुनै नयाँ स्थानमा गएर नयाँ नयाँ अनुभवहरु सँगाल्ने र ती अनुभवहरु आफ्ना साथीभाइ परिवारका सदस्यहरुलाई बाँड्ने उत्कण्ठा हरपल मानिसले बोकिरहेको हुन्छ । कुनै पनि व्यक्तिले जति कुरा एउटै स्थानमा बसेर सिक्छ त्यो भन्दा पनि बढी कुरा देश विदेशको भ्रमणबाट सिक्दछ । भ्रमणबाट सिकेका कुराहरुलाई उसले आफ्नो हैसियत अनुरुप व्यवहारिक रुपमा लागू गर्न सक्षम पनि हुन्छ ।

खासगरी कात्तिकदेखि माघसम्मका चार महिना भनेको भ्रमणको लागि उपयुक्त मौसमको महिना पनि मानिन्छ । यि महिनामा विद्यालयका बालकालिका होस् या कुनै संघ संगठन नै किन नहोस् कुनै न कुनै माध्ययमबाट भ्रमण, शैक्षिक भ्रमण अथवा बनभोज जस्ता कार्यक्रममा सरिक हुन्छन् । एकै शब्दमा भन्ने हो भने यि महिनामा ‘भ्रमणको लहर’ नै चलेको हुन्छ ।

अनुभवका आधारमा नै मानिसले आफ्नो भविष्यको मार्ग चित्र पहिल्याउँने र सोही मार्गचित्रमा रहेर आफ्ना भविष्यका लक्ष्यहरुमा मलजल गर्ने मौका प्राप्त गर्दछ । अझ आफ्नो मन मिल्ने साथीहरु तथा घरपरिवारका सदस्यहरुसँग गरिएको भ्रमणबाट भने धेरै कुरा सिक्ने मौका प्राप्त हुन्छ । त्यसैले पनि जीवनमा भ्रमणले मानिसलाई परिपक्वतातर्फ उन्मुख गर्नका लागि मद्दत पु¥याउछ ।

अब कुरा रह्यो विद्यार्थी र विद्यालयले आयोजना गर्ने शैक्षिक भ्रमणको । विद्यालयमा अर्धवार्षिक परीक्षा सकिएपछि वार्षिक रुपमा नै योजना बनाएर आजभोलि भ्रमण लाने प्रचलन बढ्दैै गएको छ । पहिले पहिले यस प्रकारको चलन पनि थिएन तर आजभोलि सूचना, सञ्चार र यातायातको सुविधाका कारणले गर्दा भ्रमणको आवश्यकतालाई महशुस गरिएको छ । भ्रमणबाट विद्यार्थीले थप ज्ञान आर्जन गर्न सक्छन् भन्ने उद्देश्यले यस खाले कार्यक्रम विद्यालय आफैंले आयोजना गर्ने गरेका हुन्छन् ।

पढेर भन्दा पनि आँफैले देखेर बुझेको कुरा चीरस्थायी हुन्छ । यसरी लिएको ज्ञान विस्मरण पनि हुँदैन । जीवनमा भ्रमणबाट प्राप्त गरेका अनुभवहरुलाई अरुसँग बाँड्दा पनि छुट्टै आनन्द पनि आउँदछ । भ्रमणलाई मात्र भ्रमणका रुपमा सिमित नगरी यसलाई उपलब्धीमूलक बनाउन सकेमा मात्रै भ्रमणका लगि गरिएको लगानी अत्यन्तै फलदायी हुन्छ ।

विद्यार्थीलाई शैक्षिक भ्रमण गराएर सिकाइमा उत्प्रेरण ल्याउन गौरीशंकर माविले पुस ४ गते आयोजना गरेको शैक्षिक भ्रमणमा म पनि सरिक थिए । झापाको पर्यटकीय नगरी दोमुखा, जामुनखाडी सिमसार क्षेत्र धार्मिक स्थाल धनुषकोटीधाम लगायतका ठाउँमा गरिएको शैक्षिक भ्रमणले विद्यार्थीले सिकेका सवल पक्षलाई केलाउने हो भने उनीहरुले सुनेको भन्दा धेरै ज्ञान आर्जन गरेका छन् । एउटा बन्द कक्षा कोठामा शिक्षकले पर्यटकीय नगरी दोमुखा र जामुनखाडीका विषयमा जति सिकाउन सकेका हुन्छन् त्यसको दसौं गुणा भन्दा वढी ज्ञान विद्यार्थीले भ्रमणबाट आर्जन गर्न सक्छन् ।

वाल वालिका स्वभावैले जिज्ञासु हुन्छन् । उनीहरलाई गराइएको भम्रण आफैंमा पनि फलदायी हुन्छ । अझ बालबालिकाहरुका लागि गराईने शैक्षिक भ्रमणहरुमा विशेष योजना बनाएर उनीहरुलाई सिक्नका लागि प्रसस्त समय व्यवस्थापन गर्नु जरुरी छ । विद्यार्थीको शैक्षिक भ्रमणलाई व्यवस्थापन गर्न म सहित हाम्रो विद्यालयबाट शिक्षक मित्रहरु अमरवहादुर कटुवाल,व्रम्हलाल राजवंशी, पुण्यप्रसाद सुवेदी, र माया शिवाकोटी सहभागी थियौं । भ्रमणका क्रममा विद्यार्थीले मनोरञ्जन मात्र नलिई आ आफ्ना रुची अनुसारको उनीहरुले ज्ञान आर्जन गरेको हामीले महसुस गरेका छौं ।

भ्रमणमा खड्किएको विषय

विद्यार्थीको सिकाइलाई चीरस्थायी बनाउन हामीले कक्षा ५,६ र कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई शैक्षिक भ्रमण गराएका थियौं । भ्रमणका लगि विद्यार्थीहरुलाई लगिँदैछ भन्ने जान्दा जान्दै पनि विद्यालयमा पहिले नै शिक्षक स्टाफहरुसँग बसेर ठोस निर्णयका साथ योजना र रणनीति तयार नगर्दा अझैंपनि विद्यार्थीले पर्याप्त ज्ञान आर्जन गर्न नसकेको महसुस भएको छ ।

भ्रमण यस्तो होस् कि हरेक पल र समयमा बालबालिकाहरुले केही नयाँ नयाँ कुराहरु सिक्दै जाउन् र सिकेका कुराहरुलाई आफ्नो डायरी वा कपीमा नोट गर्दै जाउन् । भ्रमणको समय सकिएपछि समीक्षात्मक छलफल गर्न नसक्दा विद्यार्थीको सिकाई व्यवहारमा लागू नहुन सक्ने भएकाले हामीले पुन विद्यालयमा आएर भ्रमणका विषयमा स्मरण गराउनु पर्यो । जस्तो कि पर्यटकीय नगरी दोमुखा, जामुनखाडी, ऐतिहासिक स्थल धनुसकोटीधामको संक्षिप्त परिचय हामीले भ्रमणकै क्रममा दिन सकेको भए उनीहरुले सिकाइलाई अझ फराकिलो बनाउन सक्ने थिए ।

जामुनखाडी सिमसार क्षेत्रमा कस्ता कस्ता बन्य जन्तु संरक्षित गरेर राखिएको छ तयो विद्यार्थीले आफ्नै आँखाले देखेर रमाएपनि जामुनखाडी कसरी सिमसार क्षेत्र बन्यो,जामुनखाडीको क्षेत्रफल कति छ, आदि विषयमा उनीहरुले सोचेजति ज्ञान आर्जन गर्न भने सकेनन् । यो उदाहरणको विषय मात्रै हो । पूर्व तयारीका साथ यस खाले भ्रमण गराइने हो भने विद्यार्थीले सोचेभन्दा बढी त्रान लिन सक्नेछन् ।

भ्रमणबाट विद्यार्थीहरुका अनुभूतिहरु संकलन गरेर वार्षिक रुपमा विद्यालयले एउटा मुखपत्र वा स्मारिका निकाल्ने हो भने विद्यालयका लागि त्यो एउटा ऐतिहासिक दस्तावेज हुनुका साथै भविष्यका लागि मार्गदर्शन पनि बन्ने थियो । शिक्षकहरुका लागि समेत सिकाइको अवसर बनेको शैक्षिक भ्रमण मनोरञ्जनात्मक मात्र नभई व्यवहारिक बनाउन जरुरी छ ।

जामुनखाडी नै किन ?

झापाको कनकाई नगरपालिका–१ मा रहेको जामुनखाडी सिमसार क्षेत्र पूर्वी क्षेत्रको आन्तरिक पर्यटनको मुख्य गन्तव्य हो । २०५२ सालमा स्थापना भएको ३४ हेक्टर क्षेत्रफलको जामुनबारी सामुदायिक वनअन्तर्गत ४ सय हेक्टर क्षेत्र ओगटेको यो सिमसारलाई पर्यटकीय गन्तव्य बनाउने सोच २०६५ सालमा ल्याइएको हो । राजमार्गदेखि उत्तरमा रहेको यो जामुनबारी अहिले पूर्वकै आर्कषक पर्यटकीय गन्तव्य स्थल बनेको छ ।

लोपोन्मुख वन्यजन्तुहरू यहाँका प्रमुख आकर्षण हुन् । १५ प्रजातिका वन्यजन्तुहरू संरक्षण गरेर राखिएको छ । वाल उद्यान, झोलुङ्गे पुल, मृगस्थली, वोटिङ स्थल, घोडचडी, मनोरम दृष्य लगायत यहाँका संरक्षित वन्य जन्तु विद्यार्थीका लागि आर्कषणको केन्द्र विन्दु भएकाले सिकाइमा यसले प्रत्यक्ष लाभ पुग्ने भएकाले जामुनखाडी विद्यार्थीलाई शैक्षिक भम्रण लान उपयुक्त छ ।

धनसकोटीधाम नै किन ?

धनुषकोटीधाम कन्काई नगरपालिकाको एक धार्मिक र पर्यटकीय स्थल हो। यो सुरुङ्गा बजारदेखि करिब ३ किलोमीटर उत्तरमा अवस्थित छ भने यसलाई समीपमा रहेका कन्काई नदी र ठूला हरियाली पहाडहरूले अझ शोभायमान बनाएका छन् । साथै त्यहाँबाट अत्यन्त समीपमा रहेको कन्काई नदी पारी दोमुखा अत्यन्त रमणीय तथा पर्यटकीय स्थल पनि रहेको छ ।

यो हिन्दू धर्मावलम्बीहरूको एक पवित्र तीर्थस्थलको रुपमा परिचित हुदै गएको छ । यसको स्थापना करिब ८ वर्ष पहिला भएको थियो । यहाँ श्रीकिराँतेश्वर महादेवको मन्दिर , विष्णुपादुका दामोदर कुण्ड, शिवलिङ्गका साथै गणेश, पार्वती, विष्णु लगायत अन्य देवि देवताको प्रतिमा पाइन्छ । धार्मिक सहिष्णुता र हरियाली पहाड, नदी र पर्यटकीय स्थलको बारेमा विद्यार्थीलाई सिकाउन सहज हुन्छ ।

दोमुखा नै किन ?

कनकाई नगर र सतासीधाम नगरपालिकाकोे बीचमा पर्ने एक पर्यटकीय स्थल हो दोमुखा । यस क्षेत्रबाट कन्काई नहर निकाली झापाको शिवगंज, सतासीधाम, पाँचगाछी गाविस क्षेत्रलाई छोएको छ । झापा जिल्लाको सतासीधाम गाविस वडा नं.–८ गैंडेमा अवस्थित माई दोमुखा खासगरी पिकनिक स्थलको रूपमा पूर्वाञ्चलमा नै प्रसिद्ध छ । पिकनिकको सिजनमा (आश्विनदेखि वैशाख सम्म) दैनिक दश हजारसम्म पिकनिक खाने मानिसहरू आउने गरेका छन् ।

यो स्थानम वैष्णव देवीको मन्दिर समेत छ । पूर्वपश्चिम राजमार्गबाट लगभग ३ कि.मी. उत्तरमा अवस्थित माई दोमुखाबाट मेची अञ्चल कै सबैभन्दा ठूलो सिंचाई योजना कन्काई सिंचाई प्रणालीको नहरको हेड निर्माण गरी नहर छुट्याएर लगिएको छ । सदरमुकाम चद्रगढी बजारबाट लगभग ४० कि.मि. पश्चिममा अवस्थित माई दोमुखा क्षेत्रमा पिकनिकको उद्धेश्य वाहेक धार्मिक कारणले जाने भक्तजनहरू भने खासगरी शनिवार र मंगलवार जाने गरेको पाईन्छ ।

विस १९९० अगाडि कन्काई माई चुरे पर्वतवाट तराई निस्कदा साँघुरो गल्छी भएको ठाउँमा सखुवाको रुख लडेर दुई मुख परेको अर्को सखुवाको रुखमा अड्किई फड्के पुलको आकार दियो। सो फड्केको उपयोग गरी मानिसहरू आगत जावत गर्दथे र त्यही दुई मुखे सखुवाको रुखबाट यो ठाउँको नाम दुई मुखे भन्दा भन्दै दोमुखा रहन गएको जनश्रुती छ । अहिले यो स्थान पर्यटकीय स्थलको रूपमा पनि रूपान्तरित भएको छ । वाह्रै महिना जस्तो यहाँ दृश्यावलोकन गर्ने मानिसहरूको भीड लागि नै रहेको हुन्छ ।

उपलब्धी

थोरै समयमा पनि विद्यार्थीलाई पर्याप्त शिक्षा प्रदानका लागि शैक्षिक भ्रमण उपयुक्त मानिन्छ । विद्यार्थीले जे देख्छन् त्यो जान्दछन् र त्यसका वारेमा वुझ्ने गर्छन ।

जिज्ञासु स्वभावका विद्यार्थीलाई जति धेरै कुराहरु खेलाउँदै देखाउदै सिकाउन सक्यो त्यत्तिनै फलदायी हुने भएकाले शैक्षिक भ्रमणपनि विद्यार्थीको सिकाईका लागि उपयुक्त माध्ययम बन्न जान्छ । तसर्थ समय समयमा हरेक विद्यालयले शैक्षिक भ्रमणको आयोजना गर्नु आवश्यक हुन्छ ।

[email protected]   

(लेखक : गौरीशंकर माविको शिक्षक हुनुहुन्छ)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 539

प्रतिक्रिया (०)

सम्बन्धित खबर