Aamsanchar

निःशुल्क शिविरमा २१६ जनाको आँखा र स्वास्थ्य परीक्षण

Author Image
आइतवार, पौष ९, २०७४

भक्तपुर, 

मध्यपुर थिमि–१, लोकन्थली प्रजापतिटोलमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य तथा आँखा शिविरमा २१६ जनाले स्वास्थ्यलाभ लिएका छन् ।

स्थानीय युवाको समूह सिद्धिकाली युथको आयोजना र बिपी नेत्र विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित बाल आँखा, कान, नाक अस्पताल तथा पुनःस्थापना सेवा (चेयर्स) र लाइन्स क्लब अफ न्यू बानेश्वरको सहकार्यमा सञ्चालित सो शिविरमा स्थानीय ११३ महिला र १०३ पुरुषले लाभ लिएका हुन् ।

शिविरमा चेयर्सका विशेषज्ञको टोलीले आँखाको जाँच गरेको थियो भने डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत भएर हाल बिदामा घर आएका स्थानीय युवा डा राजेश प्रजापतिले स्वास्थ्य परीक्षण गरेका थिए ।

स्थानीय बासिन्दामा आँखाको स्वास्थ्यका बारेमा जनचेतना फैलाउने उद्देश्यले शिविर सञ्चालन गरेको आयोजक सिद्धिकाली युथका अध्यक्ष राकेश प्रजापतिले जानकारी दिनुभयो ।

शिविरमा आँखा जाँच गराएका १९४ जनामध्ये पाँच जनामा मोतीबिन्दुको समस्या देखा परेको अध्यक्ष प्रजापतिले जानकारी दिनुभयो । ती बिरामीलाई थप उपचारका लागि चेयर्समा रिफर गरिएको र मोतीबिन्दुको शल्यक्रिया सहुलियत दरमा गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

शिविरमा स्वास्थ्य जाँच गराएका १४९ मध्ये केही युवामा समेत उच्च रक्तचाप र मधुमेहको लक्षण देखिएको डा राजेश प्रजापतिले जानकारी दिनुभयो । शिविरमा स्वास्थ्य परीक्षणमा आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

सो अवसरमा मध्यपुरथिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी र नेपाली काँग्रेसका नेता गणेशमान चक्रधरले युवाको कार्यको प्रशंसा गर्दै युवा रचनात्मक कार्यमा लागेमात्र मुलुकमा आमूल परिवर्तन सम्भव भएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)