Aamsanchar

नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने

Author Image
मङ्गलवार, पौष ११, २०७४

काठमाडौँ, 

नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ । लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।

लिमिटेडका महाप्रबन्धक डा रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए१५ दिनभित्र भारतबाट दुईवटा मेसिन आएपछि माघदेखि सिटामोल उत्पादन गर्ने गरी आवश्यक अन्य तयारी पूरा भइसकेको जानकारी दिनुभयो । सरकारको पूर्ण स्वामित्वमा रहेको लिमिटेडले गत वैशाख २४ गते जीवनजल उत्पादन सुरु गरेको थियो ।

महाप्रबन्धक सुवेदीले भन्नुभयो, ‘‘आगामी माघ दोस्रो सातासम्म सिटामोल उत्पादन गरी बजारमा लैजाने लक्ष्य राखेका छौँ, ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको र यसका लागि कच्चा पदार्थको आयात, प्याकेजिङ तथा वितरणका लागि बोलपत्रसम्बन्धी कार्य सम्पन्न भइसकेका छ ।’’

गुणस्तर नियन्त्रण विभागको प्रयोगशालालाई कुशल प्रयोगशाला अभ्यास विधिमा तोकिएबमोजिम नवीकरण गरी सकिएको र प्रयोगशालाको भौतिक पूर्वाधार निर्माण कार्य पनि सकिएको लिमिटेडले जनाएको छ ।

आधुनिक विश्लेषणात्मक उपकरण खरिद गरी जडान गरिएको लिमिटेडका सचिव टीकाराम अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विश्वस्तरीय जिएमपी मापदण्डअनुसार गुणस्तरीय औषधि उत्पादन गर्न लिमिटेडले नयाँ प्रविधिअनुरुप २८ भन्दा बढी प्रकारका आधुनिक प्रविधियुक्त गुणस्तर जाँच गर्ने उपकरण जडान गरिसकेको छ ।”

पूर्णरुपमा सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेड औषधिमा आत्मनिर्भर बन्ने उद्देश्यले २०२९ सालमा स्थापना भएको थियो । विसं २०६० सालसम्म १२० प्रकारका औषधि उत्पादन गर्दै आएको लिमिटेड २०६७ सालमा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएपी) अनिवार्य गरेपछि बन्द भएको थियो ।

बन्द भएको आठ वर्षपछि सरकारी स्वामित्व रहेको लिमिटेड तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा २०७३ असोज २ गते बसेकोे मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

सरकारले जिएमपीअनुसार पुनः सञ्चालन गर्न रु १४ करोड ६५ लाख ऋणस्वरुप लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो । पहिलो चरणमा रु छ करोड ४८ लाख रुपैंया निकासा गरेको थियो । दोस्रो चरणको बजेट आउन भने बाँकी छ ।

क्याप्सुल, पेन्सिलिन गु्रपका औषधि, झोल तथा मलम उत्पादन गर्ने र सर्पले डसेपछि लगाउने खोप एन्ट्राभेनसका लागि शाखा समेत सञ्चालनमा ल्याई स्लाइन तथा हेमोडाइलासिस फ्युल्डजस्ता अति आवश्यक औषधिहरूको उत्पादनका लागि प्रष्ट कार्यसूचीका तयार भएको लिमिटेडले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)