चिसोमा अल्कोहल : एक जोखिमपुर्ण भ्रम …!

(सुरेश खतिवडा)

मौसम परिवर्तनसँगै बिहान–बेलुका बाक्लो हुस्सुसहितको चिसो बढ्ने क्रममा छ । तराईका कतिपय जिल्लाहरुमा कठ्याङग्रिएर मानिसको ज्यान जान थालेको समाचारहरु सार्वजनिक भएका छन् । चिसोले मानिसहरु कष्टकर जीवन बिताइरहेका छन् । जसले गर्दा विद्यालयहरुमा समेत विदा दिइएको छ ।

हाइपोथर्मिया, रुघासहितको खोकी, निमोनिया, जोर्नीहरुमा पीडा, उच्च रक्तचाप साथै शिशु तथा बृद्धबृद्धालाई समायोजनमा कठिनाई इत्यादी चिसो मौसमका जटिलताहरु हुन् । चिसोबाट बच्न र जाडो छल्न मान्छेले सामान्य रुपमा बाक्लो न्यानो कपडा लगाउने, आगो ताप्ने, हिटर बाल्ने, तातो झोल खानेकुरा पिउने, चाकु, सखरखण्ड इत्यादि खाने गर्दछन् तर हिजो आज आधुनिकताका नाममा शरीरको तापक्रम बढाउने भन्दै ग्रामीण र सहरी दुबै क्षेत्रमा नै मदिराजन्य पदार्थको प्रयोग बढ्दो छ ।

‘जाडो छ… चिसोमा एक दुई प्याक त मोटरसाइकल कुदाउन लगाउनै पर्यो नि’ भन्दै मादकपदार्थ सेवन गरेर घरतर्फ हिंडेका विमल त्यतिबेला मात्र झस्के जब उनी चारआली सडकखण्डमा पहिलो पटक मापसे चेकजाँचमा परे । उनलाई त्यतिबेला मात्र थाह लाग्यो कि रमाइलो गर्दै मापसेसहितको सवारीसाधन चलाउनु कानूनी रुपमा दण्डनीय रहेछ भनेर । त्यो नयाँ वर्षको साँझमा उनी त एक प्रतिनिधि पात्र मात्र हुन् धेरै मापसेसहितका सवारीचालकहरु ट्राफिक असई राजकुमार चौधरीको निशानमा रातैभर परिरहे । त्यहाँ सबै गल्ती गर्नेको प्रतिक्रिया एउटै थियो ‘चिसो छ अलिकति खाइयो, आज छोडिदिनुहोस् न सर…. ।’

यसरी चिसोमा अल्कोहल खाँदा शरीरमा तापक्रम बढ्दछ भन्ने भ्रम हाम्रो समाजमा व्याप्त छ । जसले गर्दा सवारी दुर्घटना, हाइपोथर्मिया, हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप जस्ता आकस्मिक समस्याहरु हुने गर्दछन् । चिसोमा अल्कोहल सेवन गर्दा हाम्रो शरीरको तापक्रम बढ्ने होइन कि भित्र मुख्य अंगहरुको तापक्रम घटी नै रहेको हुन्छ । अल्कोहलको रक्तनलीलाई फुकाउने वा फराकिलो बनाउने कार्य (Vasodilation action) नै मुख्य रुपमा बुझ्नुपर्ने तथ्य हो ।


हामीले पिएको अल्कोहलको कार्यले गर्दा छालामुनिका रक्तनलीहरु तत्काल फराकिलो बनाउने गर्दछ र त्यहाको चाप कम भई मुटु खुम्चिएको बेला धेरै मात्रामा तातो रगत उक्त रत्तनलीहरुमा भरिने (प्रवाह हुने) गर्दछ र केही क्षण छालामा रहेका स्नायुहरुले हाम्रो मस्तिष्कमा आफ्नो शरीर तातो भएको सम्वेदना पु¥याउँदछन् । जसलाई नै हामी शरीर तातेको बुझ्दछौं । तर, यहाँ हाम्रो शरीर तातो नभई केवल छाला मात्र केही क्षणका लागि तातो रगतका कारण तातो भएको हुन्छ ।

रोग निन्यत्रण तथा रोकथाम केन्द्र, अमेरिकाको एक अध्ययन अनुसार त्यो समय केवल झुटो सम्वेदनाका कारण मात्र हामीलाई तातो महशुस भएको हो किनकी त्यो बेला त मुटुको गतिमा तिव्रता आउने, शरीरका बाहिरी भागका रक्तनलीहरु फराकिलो हुने र बाहिरी रक्तनलीहरुमा ठुलो मात्रामा भित्री अंगहरुबाट तातो रगत निरन्तर सञ्चार हुँदै भित्री भागहरुमा पुग्ने गर्दछ ।

यसरी तातो रगत चिसोमा बसिरहेको व्यक्तिको बाहिरी छालामा सञ्चार हँुदा चिसिएर पुनः त्यही महत्वपूर्ण भित्री अंगमा पुग्दा क्रमिक रुपमा ती महत्वपूर्ण अंगहरु समेत चिसिँदै गइरहेका हुन्छन् । रक्तसञ्चारको यही नियमित चक्रमा लामो समयसम्म रक्सी सेवन गर्ने व्यक्तिको शरीरको सम्पूर्ण रगत चिसिन गई शरीरको तापक्रम घट्न जान्छ । कहिलेकाहीँ तापक्रम ९५ डिग्री फरेनहाइटभन्दा कम हुँदै गएमा व्यक्ति हाइपोर्थमियाको अबस्थामा पुग्ने र त्यसको जटिलताले उसको मृत्यु समेत हुने गर्छ ।

हाम्रो शरीर मुटु, मृगौला, फोक्सो, कलेजो, मस्तिष्क लगायतका महत्वपूर्ण अंगहरु र अन्य प्रणालीबीचको समन्वय र सन्तुलनमा चलायमान हुन्छ । जसको असुसन्तुलनले विभिन्न शरीरिक समस्याहरु देखापर्ने गर्दछन् । त्यसैले चिसो मौसममा प्रायः हुने यात्रा, वनभोज, भोजभतेर र अन्य सांस्कृतिक कार्यक्रममा चलन त हो भनेर प्रयोग गरिने मदिराजन्य पदार्थको प्रयोगले केही क्षण रमाइलो साथै छाला तातो बनाएको भन्ने विज्ञानले प्रमाणित गरेको तथ्यलाई कदापी नर्कानु हुन्न ।

चिसोयाममा मदिरासहितको दुई चक्के साधन यात्रामा हुने दुर्घटना र कठ्याङ्ग्रिएर भएको मृत्युका समाचारहरु यही शरीर चिसिने हाम्रो शरीरको क्रियात्मक विज्ञान नै कतिपय समयमा कारण हुन सक्दछ । अझ मुटुका समस्या भएकाहरु तथा दिर्घरोगको औषधि सेवन गरिरहेकाहरुलाई त चिसो मौसममा रक्सी सेवन गर्नु घातक मानिन्छ ।

त्यसकारण यदि कुनै पनि बहानामा जाडोमा मदिरा सेवन गर्ने बानी छ भने यसले शरीरको तापक्रम बढाएको भ्रममा नपरी त्यसले क्रमिक रुपमा भित्री महत्वपूर्ण (Vital organs) अंगहरु चिस्याइरहेको हुन्छ भन्ने प्रमाणित वैज्ञानिक तथ्यलाई सबैले ख्याल गर्नुपर्दछ ।

                                                         [email protected]

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com