बहुमुखी प्रतिभाका अब्बल दिपक

(देबु बानियाँ)

मेचीनगर ।

मानिसले समय व्यवस्थापन गर्न सक्यो भने सफलता एकपछि अर्काे गर्दै लाम लाग्छ । यसको उदाहरण हुन् काठमाडौँका दिपक कोइराला ।

जो सशस्त्र प्रहरीमा कार्यरत छन् । धेरैले उनलाई नजिकबाट चिन्न नसकेको हुन सक्छ । किनभने उनी आफ्नो पेशालाई नै प्रमुख बनाएर काम गर्छन् । जुन ठाउँमा गएर काम गर्छन्, त्यसैलाई उनले आफ्नो प्रमुख जिम्मेवारी ठानेर सफलतापूर्वक सम्पन्न गर्छन् ।

कोही व्यक्तिले पाएको सानो सफलतालाई बाहिर ल्याउने चलन हाम्रो समाजमा प्रशस्त छन् । तर, बहुमुखी प्रतिभा भएर पनि आफूलाई प्रचारमा ल्याउन नचाहने व्यक्ति कमै हुन्छन् । त्यस मध्येका एक हुन् दिपक कोइराला ।

पत्रकारिता गर्दागर्दै सशस्त्र प्रहरीमा भर्ना भएका उनी यी गायक, अभिनेता, भिओ आर्टिस्, उद्घोषक, शिक्षक, पत्रकार, लेखक तथा असल देशभक्त नागरिक हुन् । यति धेरै प्रतिभा भएर पनि उनी सधैँ आझेलमा रहिरहे । आज उनै कोइरालाको बारेमा लेख्ने जमर्काे गरेको छु ।

दुईवर्ष अघि झापाको बाहुनडाँगीमा सरुवा भएर आएको समयमा दिपक कोइरालासँग भेट हुने अवसर पाएको थिएँ । त्यस समयमा बाहुनडाँगीको नेतृत्व सम्हाल्नु भएका शमशेर कार्कीले मलाई दिपक कोेइरालाको बारेमा बेलिबिस्तार लगाउनु भएको थियो ।

पछि उहाँ आएपछि मैले तपाई एउटा सफल कलाकार हुनुहुँदो रहेछ । तपाईको बारेमा पत्रिकामा लेख्छु भनेर आग्रह गरेँ । तर, उहाँ त्यस विषयमा कहिलै मन्जुर हुनु भएन । उहाँ सधैँ भन्नु हुन्थ्यो, ‘म जनताको काम गर्न आएको हो । मैले अरु कुरा बताए भने त्यो अवसर नपाउन सक्छु । त्यसैले कुनै दिन समय आएपछि भनौला ।’

आज बाहुनडाँगी छोडेको पनि एक वर्ष हुन लागेको छ । बल्ल उहाँको बारेमा लेख्ने अवसर पाएँ । यो अवसर आज पाएको छु । आफ्नो पेशाप्रति इमान्दार र कर्तव्य निष्ठ रहने दिपक सर सिपाइका एक सफल योद्धा हुन् । उनले बाहुनडाँगीमा रहँदा गरेको योगदानलाई बाहुनडाँगीबासीले इतिहासमा बिर्सने छैन् ।

जन्म २०३७ बैशाख १ गते । बुबा देवीप्रसाद कोइराला र आमा देवकुमारी कोइरालाका जेठा छोराका रुपमा दोलखा जिल्लामा जन्मिएका दिपक ६ वर्षको उमेरमा काठमाडौँ बसाइ सरेर गएका थिए ।

आमा विरामी भएपछि बुबाले परिवार नै काठमाडौँ लगेर राखेका थिए । उनको सम्पूर्ण शिक्षा दिक्षा काठमाडौँमा भयो । कोइरालाले २०५२ सालमा काठमाडौँ रत्न राज्यलक्ष्मी माविबाट एसएलसी उत्तीर्ण गरेका थिए ।

विद्यालय पढ्दै गीत गाउने गरेका कोइराला गीत लेखन, टेलिचलचित्र लेखन, वृत्तचित्र लेखन, उद्घोषण, अभिनयलगायतका क्षेत्रमा काम गरेका छन् । उनले दर्जनाँै गीत लेखेका छन् । टेलिचलचित्रमा अभिनयन गरेका छन् । त्यसमा पनि उनी नायकको भूमिका निर्वाह गर्छन् । विशेष गरेर उनका गीतमा सुरक्षाकर्मीका पीडा र वेदनाले भरिएका हुन्छन् ।

धानकै बाला झुलाँैला…, बर्षमा दिनको यो बडादशैँ.., फौजीलाई कुन हो, दशैँ कुन हो चाड तिहार.., राइफलको सिरानी.., घरदेश परदेश..जस्ता कर्णप्रिय तथा लोकप्रिय गीतको रचना मात्र होइन, आफ्नै आवाज र अभिनय समेत गरेका छन् ।

उनका गीत संगीतमा राष्ट्रियता र नागरिक प्रतिको उत्तरदायित्वगत झल्को त हुन्छ नै । त्यो भन्दा बढी चाडपर्वमा पनि छुट्टी नपाउने सुरक्षाकर्मीलाई उत्साह र प्रेरणा भने अवश्य हुन्छ ।

अम्मरेको पुकार, नारी जस्ता चर्चित र लोकप्रिय टेलिसिरियलमा अभिनय गरेका कोइराला सफल कलाकार हुन् । उनले दर्जनौँ टेलिसिरियलमा अभिनय गरेका छन् । उनको अभिनयमा मिठास मात्र होइन, यथार्थ चित्रण पाइन्छ ।

२०७२ सालमा गएको भूकम्पका समयमा काठमाडौँमा थिए उनी । भाग्यले बाचेकाहरुलाई दिनरात उद्धार गरेका कोइरालाले उद्धार मात्र गरेनन् । त्यो दर्दनाक, कहालीलाग्दो दृष्यलाई कैद गरेर वृत्त चित्र छायाङ्कन तथा निर्माण गरे । जुन धेरै चुनौतीपूर्ण थियो ।

गणेश पाण्डेले निर्देशन गरेको भाग्यले बाँचेकाहरु बृत्तचित्र विश्वका १४ वटा देशमा प्रदर्शन भएको छ । जसले ३० वटा भन्दा बढी उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । त्यो बृत्तचित्रको लेखक र त्यसमा आवाज दिने काम पनि उनी कोइरालाले गरेका थिए ।

उनी आफ्नो काममा जति कर्तव्यनिष्ठ छन् । त्यति नै सरल र मिजासिलो भावनाका पनि । सबैसँग समान व्यवहार गर्नु नै उनको खुबी हो । जसले उनका हरेक चुनौतीलाई सहजै सफल बनाउन सहयोग पुग्छ ।

आफ्नो कामका कारण चाडपर्वमा घर जान नपाएका सुरक्षाकर्मीको भावनालाई विशेष उनका गीतले सम्बोधन गर्छ । जुन समयमा दशैँ र तिहारको चटारो हुन्छ । त्यही समयमा आफ्नो जिम्मेवारी बढ्ने गरेकाले बेश क्याम्पमै चाडपर्व मनाएको दृष्यलाई कैद गर्दै शब्दद्वारा बाहिर ल्याउँछन् कोइराला ।

यसो त उनको परिचय यतिमा सीमित हुँदैन । उनले नेपाली पत्रकारितालाई नजिकबाट नियालेका छन् । ८ वर्ष पत्रकारिताको अनुभव बोटुलेका उनी परेर होइन, पढेर पत्रकारिता गर्ने व्यक्ति हुन् ।

रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता विषयमा स्नातकोत्तर गरेका कोइरालाले २०५२ सालदेखि पत्रकारिता पेशामा काम गर्न थालेका थिए । नेपाली पत्रबाट सुरु पत्रकारिता गरेका उनले गोरखापत्र, सिमल मासिक, मधुमासलगायतका पत्रिकामा काम गरे । त्यस समयमा आफ्नो समाचार लेखेर सबै पत्रिकामा हाल्ने र पैसा लिने प्रचलन थियो । जुन उनले पनि त्यसै गरे ।

उनले पत्रकारिता गरेनन् मात्र । उनी जस्तै पत्रकारहरु जन्माए पनि । उनले पढाउका विद्यार्थीहरु अहिले राम्रै पत्रकारिता गरेर जीविकोपार्जन गरिरहेका छन् । जसले उनलाई गर्व लाग्ने गरेको बताउँछन् कोइराला ।

उनीसँग शिक्षक पेशाको पनि राम्रै अनुभव छ । उनले इन्टरनेसनल ट्रेनिङ सेन्टर डिल्लीबजारमा ५ वर्ष पत्रकारिता विषय अध्यापन गराएका थिए ।

सानैदेखि सरकारी जागिरप्रतिको मोह थियो रे कोइरालालाई । ‘कुनै समय सरकारी जागिर खाएर छोड्छु भन्ने थियो,’ कोइरालाले भने, ‘त्यसमा पनि बुबा सेनाको सुविधार मेजर भएकाले मलाई पनि बुबाले अँगालेको पेशातर्फ रुची बढ्यो र म पनि यही पेशामा लाग्ने अठोट गरे । सानामा जुन सपना देखेको थिएँ । त्यो पूरा भयो ।’

२०६० सालमा काठमाडौँमा सशस्त्र प्रहरीका लागि भर्ती खुल्यो । उनले सोझै असइमा नाम निकाले । त्यसपछि सुरु भयो उनको देश सेवाको कर्म । करिव ४ वर्ष असइ पदमा काम गरेका कोइरालाले २०६४ सालमा खुल्ला प्रतिस्पर्धाबाट इनिस्पेक्टरमा नाम निकाले ।

अहिले जनकपुरको जलेश्वरस्थित राजश्व तथा भन्सार सुरक्षा गुल्ममा काम गरिरहेका उनी पेशा मात्र होइन, आफ्नो मुख्य कर्तव्य अनि देशको रक्षाका लागि सधैँ लडिरहने बताउँछन् । ‘देशको सेवा गर्न पाएको छु,’ कोइरालाले भने, ‘अब जति समय बाँच्छु देशकै लागि बाँच्ने छु ।’ उनकी श्रीमती लीला कोइराला, २ छोरी र १ छोरा छन् ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com