सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोज्योः नेता नेम्वाङ

काठमाडौँ,

नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आरोप लगाउनु भएको छ ।

दोलखा–काठमाडौँ सम्पर्क मञ्चले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचित सांसदलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले प्रदेश प्रमुख र अस्थायी मुकाम नतोक्नुले सरकार राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आशंका उत्पन्न भएको बताउनु भयो ।

“सरकारले षडयन्त्रमूलक ढंगबाट निर्वाचन सार्न खोजेको छ”–उहाँले भन्नुभयो, “होइन भने सरकारले यथाशीघ्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोकोस् ।” उहाँले सरकारले राष्ट्रियसभाको निर्वाचन समयमा नगराएर आफ्नो कार्यकाल लम्ब्याउन चाहेको धारणासमेत व्यक्त गर्नुभयो ।

उहाँले वाम गठबन्धनले बहुमत ल्याउँदा पनि वर्तमान सरकारले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त नगरेको गुनासो गर्नुभयो । पूर्वसभामुख नेम्वाङले व्यवहारमा एमाले र नेकपा (माओवादी केन्द्र) एक भइसकेको भन्दै अब सैद्धान्तिक हिसाबले मात्र एक हुन बाँकी रहेको बताउनुभयो ।

उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओली बैंककबाट फर्किसकेपछि पार्टी एकतालाई मूर्तरुप दिने बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक दलको निर्वाचन प्रतिस्पर्धा सकिएकाले अब समृद्धिको बाटोमा लाग्नुको विकल्प नभएको पनि बताउनुभयो ।

सो अवसरमा दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ र प्रदेशसभा सदस्य पशुपति चौलागाईँ र विशाल खड्काले दोलखाको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com