पीडा भुल्दै बाढी बिस्थापित

बिर्तामोड।

६ महिनाअघि आएको बाढीका कारण बिस्थापित झापा गाउँपालिकाका एक हजार ५ सय ७४ परिवारले पीडा भुल्दै आएका छन् । कनकाई र बिरीङ नदीमा आएको बाढीकै कारण १० जनाको मृत्यु भएको थियो भने हजारौं मानिस बाढी पीडित बनेका थिए ।

झापा गाउँपालिकाले बाढीबाट विस्थापितहरुलाई स्थानीय संघ–संस्थासँग समन्वय गर्दै अस्थायी र स्थायी घर निर्माण गरिदिएसँगै उनीहरुले आफ्नो पीडा विस्तारै भुल्दै गएका हुन् । बाढीले झापा गाउँपालिकामा मात्रै १० करोड भन्दा बढीको क्षति पु¥याएको थियो । सयौं विगाहा खेतीयोग्य जमिन कटान गर्दै वगरमा परिणत गरेको र बालुवाले पुरेकै कारण यस क्षेत्रका सर्वसाधारण मारमा परेका थिए ।

बाढीले क्षति पु¥याएका बाटाघाटा, कल्भर्ट, पुल पुनर्निर्माण गर्दै गाउँपालिकाले खोलामा तटबन्धनको बन्दोबस्त मिलाएसँगै स्थानीयवासी हर्षित बनेका छन् । गाउँपालिकाले सुरुङ्गा–झापा जोड्ने अमरपथ सडक र सुरुङ्गा–सडकबारीसम्मको लक्ष्मी मार्गको पुनर्निर्माण गरेपछि आवतजावतमा सहज भएको झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए ।

बाढीले क्षति पु¥याएको विद्युत् प्रशारण लाइन र वडा नं. १, ५ र ६मा तीन वटा नयाँ ट्रान्सफर्मर जडान गर्दै दुई सय ५० भन्दाबढी घरमा विद्युत् जडान गरेसँगै स्थानीयवासी हर्षित बनेका हुन् । सेतुमारी–सालमारा सडकखण्डको सानुमाईमा ८० लाख रुपैयाँको लागतमा झोलुङ्गे पुलको निर्माण कार्य थालिएकाले त्यस क्षेत्रका सर्वसाधारण उत्साहित भएका छन् । नेपाल सरकार र स्थानीयको श्रमदानबाट पुल निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष साहले बताए ।

यस्तै निर्वाचन क्षेत्र विकास कोषको रकमबाट गाउँपालिकामा विद्युत् विस्तार गरिएको र चालू आर्थिक बर्षभित्र सबैको घर–घरमा विद्युत् सेवा पु¥याउने लक्ष्यसहित गाउँपालिका अघि बढेको जनाउँदै गाउँपालिकामा रहेका ८ हजारभन्दा बढी घरधुरीलाई विद्युत् उपलब्ध गराइने अध्यक्ष साहले बताए । ३४ हजार ६ सय जनसंख्या रहेको झापा गाउँपालिकाभित्र यस बर्ष सबै बाटा ग्राभेल गरिसक्ने र १५ शैय्याको अस्पताल निर्माण गर्ने तयारी भइरहेको अध्यक्ष साहको भनाइ छ ।

अस्पताल निर्माणका लागि कामाटोलीमा स्थानीय एक दाताले सात कठ्ठा जग्गा निःशुल्क प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँपालिकाको २१ करोड विकास बजेट मध्ये शिक्षा, स्वास्थ्यसहित विकास निर्माणका लागि छुट्याइएको बजेट आइतवार अनुमोदन गराएर केही दिनभित्र सार्वजनिक गरिने अध्यक्ष साहले बताए । जनताको तटबन्धनसँग समन्वय गरी एक करोड र गाउँपालिकाबाट २५ लाख रुपैयाँ छुट्याएर काम अघि बढाएको उनले बताए । गरिबी निवारणका लागि ५८ लाख रुपैयाँ बजेट छुट्याएर काम अघि बढाइने अध्यक्ष साहले जानकारी दिए ।

झापा गाउँपालिकामा २१ वटा मदरसा रहेको र मदरसाको विकासको लागि भवन निर्माणको कार्य शुरु भएको उनले बताए । त्यस्तै झापा गाउँपालिकामा १९ वटा सामुदायिक विद्यालय र ११ वटा निजी विद्यालय रहेको बताउँदै उनले भने– डिल्लीराज माविलाई नमूना विद्यालय बनाउन पहल शुरु गरिएको छ ।

जसका लागि झण्डै १० करोड रुपैयाँ बजेट केन्द्रबाट आउँदैछ, यहाँ नयाँ भवन प्रविधियुक्त शिक्षा, खेलमैदानसहित तयार गर्न डीपीआर भइरहेको छ । गाउँपालिकाभित्र क्याम्पस नरहेकाले क्याम्पस बनाउन पहल थालिएको अध्यक्ष साहले बताए । खानेपानीका लागि ५ वटा आयोजना सञ्चालनमा रहेको र झापा गाउँपालिकाका नागरिकले केही समयपछिबाट स्वच्छ खानेपानी प्रयोग गर्न सक्छन्– गाउँपालिका अध्यक्ष साहले भने ।

६ करोड ८० लाख रुपैयाँको लागतमा सानुमाई सिञ्चाई आयोजना सञ्चालनमा रहेको र तीन सय विगाह जमिन सिञ्चित गर्न सकिने बताउँदै चालू आर्थिक बर्षबाट सबै क्षेत्रमा सिञ्चाईको व्यवस्थापनका लागि गुरुयोजना तयार पार्न शुरु गरिएको उनले बताए ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com