सीमा अतिक्रमण रोक्ने सहमति

भद्रपुर।

पूर्वी नेपालको ताप्लेजुङदेखि झापा हँुदै सुनसरीसम्मको सीमा पिलरभित्र पर्ने दशगजा क्षेत्र अतिक्रमण रोकथाम गर्न नेपाल–भारत दुवै देशका सुरक्षा निकाय सहमत भएका छन् ।

भारतको बिहार राज्यस्थित किशनगञ्ज जिल्लाको डीआरडीए सभाघर रचना भवनमा शुक्रवार आयोजित प्रदेश नम्बर १ स्तरीय नेपाल–भारत बोर्डरको प्रशासन तथा प्रहरी प्रमुखसँग भएको सीमा सम्बन्धी बैठकमा दुवै देशका सुरक्षा निकाय सीमा अतिक्रमण रोक्न सहमत भएका हुन् ।

बैठकमा दशगजाभित्रको जमिन अतिक्रमण भए भारतसँग सहकार्यमा त्यसको स्थलगत सर्वे गरी अतिक्रमण हटाइने सहमति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिष्णुकुमार केसीले जानकारी दिए । एक घण्टासम्म चलेको बैठकमा बिषेशगरी तीन बिषयमा छलफल भएको थियो ।

मेची नदीमा आएको बाढीले भत्काएको वा बगाएको पिलरहरु हराएकोले त्यस स्थानमा नयाँ पिलर राखिने, नदीमा देखिने डल्फिनको संरक्षणमा ध्यान दिइने र बिराटनगर–जोगवनी जोड्ने दशगजा क्षेत्रमा सीमा चिन्ह खडा गरी अतिक्रमण मुक्त पारिने माथि छलफल भएको थियो ।

‘दुवै देशको सीमांकन पिलर हराएको वा भत्किएको भए, त्यसको पनि सर्वे गरिनेछ– प्रहरी उपरीक्षक केसीले भने– त्यस ठाँउमा नयाँ पिलर राखिने बारेमा लिखित सहमति भयो । सीमा सम्बन्धी कुनै मुद्दा बल्झिए दुवै देशका प्रशासनिक तथा प्रहरी प्रमुखले त्यस बारेमा छलफल गरेर मुद्दा टुंगो लगाउने बिषयमा पनि गम्भीर छलफल भएको बताइएको छ ।

बिहारका सुपौल डीएम बैद्यनाथ यादवको अध्यक्षता भएको बैठकमा नेपालको तर्फबाट झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी जिल्लाका प्रशासन तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखको सहभागिता रहेको थियो भने भारतको तर्फबाट सुपौल, दार्जीलिङ, सिक्किम, किसनगञ्जका प्रशासन, एसएसबी, भारतीय प्रहरी प्रमुखको सहभागिता थियो ।

पूर्वको सीमा क्षेत्रमा सात सय पिलर निर्माण

पूर्व क्षेत्रको ताप्लेजुङदेखि सुनसरी सम्मको नेपाल–भारत सीमानामा १ हजार १ सय ७३ पिलर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ७ सय पिलर निर्माण भइसकेकोे ४ सय ७३ पिलर निर्माण हुन बाँकी छ ।

सर्वे अफ नेपाल भारतका पदाधिकारीका अनुसार सीमा क्षेत्रमा साना, मझौला र ठूला गरी १ हजार १ सय ७३ पिलर निर्माण गर्नुपर्ने देखिन्छ । बाढीले बगाएको पिलरको हकमा अहिले दुवै देशका सर्वे टोलीले मेसिनमार्फत सर्वे शुरु गरिसकेको जनाइएको छ ।

सर्वे पश्चात चिन्ह लगाएर नयाँ पिलर राखिने छ । झापा र मोरङसंग जोडिएको किशनगञ्ज सीमा क्षेत्रमा मात्र १ सय ९१ वटा पीलर निर्माण हुन बाँकी देखिन्छ ।

मेची नदीमा डल्फिनको संरक्षण गर्दै पिलर निर्माण गरिने

नेपाल–भारतको सीमा बैठकमा मेची नदीमा देखिने डल्फिनको संरक्षणको बिषयमा चर्चा गर्दै राष्ट्रिय जल जीवलाई बचाउन दुवै देशको कर्तव्यको बारेमा छलफल भएको थियो ।

त्यसैले पिलर निर्माण गर्ने बेलामा त्यसलाई ध्यानमा राखेर सर्वे गर्ने राष्ट्रिय सर्वे टोलीलाई आग्रह गरिएको थियो । सीमा पिलर राख्दा नदीमा रहेको डल्फिनलाई असर नपर्ने गरी काम गर्न दुवै देशका सरकारी निकाय सहमत भएका छन् ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com