मणिपुरमा इमा कैथेल

[शान्तिराम बस्नेत]
मणिपुर,

पहाडै पहाडैले घेरिएर बसेको, भारतको पूर्वोत्तर राज्य अन्र्तगत पर्ने मणिपुर राज्य । जसमा विभिन्न ३५ लाख जातजातिको संयुक्त फूलबारी रहेको छ । यस राज्यमा इम्फाल, काङ्पोक्पी, सेनापति, काङलातोम्बी, सेक्माई, थौबाल, बिष्णुपुर, माओ आदि ठूला बजारहरु रहेका छन् ।

हो तिनै ठूलठूला बजारहरुमा एक अनौठो व्यापार मात्र देख्न सकिन्छ । एउटा निश्चित क्षेत्र तोकेर बनाइएको ती विभिन्न बजारहरुमध्ये एउटा यस्तो व्यापार जहाँ महिलाहरुले मात्र व्यापारिक क्षेत्रमा आधिपत्य जमाएर बसेका छन् । ३० वर्षदेखि ६० वर्षसम्मका महिलाहरुले आधिपत्य जमाएर बसेको बजार हो “इमा कैथेल” । जसको नेपाली अर्थ हुन्छ ः इमा अर्थात आमा र कैथेल भन्नाले बजार । संयुक्तमा आमाहरुको बजार । जहाँ पुरुषलाई ब्यापार गर्न निषेध छ ।

महिलाहरुद्वारा सञ्चालित ती बजारमा माछामासु, तरकारी, लत्ताकपडा, भाँडाकुडाँ लगायत अन्य दैनिक उपभोग्य सामग्रीहरु सहजै पाउन सकिन्छ । ती बजारहरुमा महिलाहरुले चाहिं नाकको डाँडामा लामो चन्दन लगाएर ग्राहकहरुसंग मोलतोलका साथै ग्राहकका प्रतीक्षामा बसेका हुन्छन् भने अविवाहित महिलाहरु पटक्कै हुँदैंनन् ।

उनीहरुले आफ्नो मौलिक परम्पराका भेषभूषा, खानाका परिकारदेखि लिएर अत्याधुनिक सामग्रीहरु समेत बेच्न सिपालु रहेछन् । इमा कैथेलको एक विशेषता भनेको “एक व्यक्ति एक व्यापार” रहेछ । जसले कानुन तोड्यो, त्यो व्यापारीलाई तुरुन्त हटाउन सकिने प्रावधान समेत रहेछ ।

इमा कैथेलका बजारहरुमा आमाहरुको ममतामयी चरित्रका कारण अन्य बजारहरुमा भन्दा भीड लाग्ने गरेको मणिपुरका नेपालीभाषी प्रसिद्ध साहित्यकार देवीप्रसाद थापा “मामा” बताउँछन् । उनी भन्छन् ः मणिपुरेली नारीहरु विश्वका अन्य विभिन्न नारीहरुभन्दा गुनिला र पतिभक्त भएका कारण नै बढी मात्रामा व्यवसाय गर्ने उनीहरुको आँट रहेको छ । उनी थप्छन् ः खानपानदेखि लिएर धर्मकर्म इत्यादिमा मणिपुरेली नारीहरुको स्वच्छता अन्य विश्वका नारीहरुमा नपाइने हुदाँ उनीहरुको व्यापार बढेको हो ।

विश्वकै नौलो मानिने इमा कैथेलको इतिहास १६औं शताब्दि अघि देखि नै चल्दै आएको मणिपुरेली इतिहासमा उल्लेख गरेको पाइन्छ भन्ने कुराको प्रमाण ब्रिटिश इतिहासविद्ले लेखेको “दि मितैस” नामक पुस्तकमा पढ्न पाइन्छ । त्यस्तै मणिपुरेली पुया (मणिपुरेली पुरान) मा समेत मणिपुर स्थापना कालदेखि नै नारीहरुले व्यवसाय गर्ने कुरा उल्लेख गरेको भन्ने मणिपुरेली इतिहासविद्हरुले बताउँदैं आएका छन् ।

इमा कैथेलले मणिपुरको अर्थतन्त्रको ३०% धानेको छ । मैतै नारीहरुमात्र नभएर यहाँ रहेका कुकी, नागा नारीहरुले समेत ती बजारहरुमा व्यापार गर्दै आएका छन् । जसको सिको गर्दै गोर्खाली नारीहरुपनि नेपाली बसोबास रहेको इमा कैथेलहरुमा मिसिएर व्यापार गर्ने गरेको प्रसस्त देख्न सकिन्छ ।

त्यति मात्र हैन, मणिपुरेली नारीहरु संघर्षका साथै युद्ध गर्न निकै सिपालु भएको इतिहासविद्हरुको तर्क छ । व्रिटिशहरुका विरुद्धमा यहाँका नारीहरुले १२ डिसेम्बर. १९०४ र सन् १९३० मा लडेको युद्ध अविस्मरणीय छ । ठाँउठाँउमा बनाइएका स्मारक नै त्यसको प्रमाण हो । “नूपीलाल” नारी युद्ध व्रिटिश विरुद्धमा लडेको युद्ध मणिपुरेली पाठ्यक्रमहरुमा समेत रहेको यसको अर्को प्रमाण हो ।

चाहे जे होस्, मणिपुरेली संस्कृति झल्काउने इमाहरु शक्तिका पहिचान हुन् । जहाँ बाहिरबाट गएका अन्य सबैले नजरअन्दाज लगाउनै पर्छ ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com