क्रिम निकालेको दूध जस्तै विद्यार्थी

(सविता भण्डारी)

न त खुट्टा टेकिन्थ्यो,न त हात नै चल्थ्यो,न त मुख बोल्थ्यो,न त आँखाले राम्रो देख्थ्यो, भाई बहिनीले पढेको देखेर र सुनेर खुट्टाका औंलाले धुलोमा अक्षर लेख्न सिकेकी, कल्पनाकी प्रतिमूर्ति, आफ्नो काम सधै आफैं गर्ने ,अत्यान्त अध्ययनशील, चर्चित नेपाली साहित्यकार केयू (काठमाडौं विश्व विद्यालय)बाट मानार्थ विद्यावारिधि हासिल गरिसकेकी झमककुमारी घिमिरे सिंङ्गो नेपाली महिला जगतकै नक्षत्र हुन् । जन्मैदेखि शारीरिक रुपमा असक्त घिमिरेले आफ्नो आत्मबलको आधारमा अपांगतालाई जितेर, लेखपढ गर्न सिकेर ११ वटा कृति प्रकाशित गरिसकेकी छिन् । उनको ‘जीवन कांडा कि फूल’ कृतिले मदन पुरस्कार समेत प्राप्त गरेको छ ।

आँखाले संसार अध्ययारो देख्ने, कानले कुनै आवाज नसुन्ने, मुखले कुनै शब्द नबोल्ने, अदम्य साहस, असिमित इच्छा शक्ति र लगनशीलता, १९ महिनापछि इन्द्रिय वञ्चित भएर सात वर्षसम्म नरकीय जीवन बिताएकी महान शिक्षिका एनी जुलेवानले उनको जीवनमा अमूल्य परिर्वतन ल्याएकी थिइन् । ब्रेल लिपिबाट औपचारिक शिक्षा हासिल गर्दै, अंग्रेजी साहित्यमा स्नातक गर्न सफल उनी अहिलेपनि सबैका लागि प्रेरणाकी प्रतिमूर्ति हुन् ।

हामी शिक्षक विद्यार्थीलाई विश्व प्रसिद्ध महान यस्तै व्यक्तिहरुको उदाहरण दिँदै अध्ययापन गराइरहेका हुन्छौं । तर, विद्यार्थीले सिकाएको कुरा कत्तिको बुझेका छन, त्यो हामीले मापन गर्न नसक्दा शिक्षाको गुणस्तर अझैंपनि सुधार हुन सकेको छैन । हामीले किताव र परीक्षामुखी भएर विद्यार्थीलाई अध्यापन गराइरहेका छौं । हामीले पढाएका छौं, तर विद्यार्थीलाई सिकाएका छैनौं । प्रत्येक विद्यालयमा धेरैजसो अभिभावक र शिक्षासँग सरोकार राख्ने व्यक्तिहरूको एउटै मात्र गुनासो रहेको हुन्छ, प्रभावकारी शिक्षण भएन । के हामीले विद्यार्थीलाई नपढाएकै कारण शैक्षिक गुणस्तर खच्केको हो त ? कक्षाभित्रको वातावरण प्रभावकारी नभएका कारण विद्यार्थीहरू पढाइमा कमजोर बन्दै गएका हुन् त ? कदापि होइन् ।

राजगढ श्रोत केन्द्रले गत पुस १४ गते शुक्रवार आयोजना गरेको एक दिने ‘क्रियात्मक शिक्षक सिकाई’कार्यक्रममा सहभागीताका लागि म पनि गौरीशंकर माविबाट त्यहाँ पुगेकी थिए । आफैंले अध्ययन गरेको विद्यालय फूलवारी माविमा कार्यक्रम राखिएको थियो । कार्यक्रममा शैक्षिक अभियन्ता अर्जुन भट्टले सहजीकरण गर्नुभएको थियो । त्यहाँ हामी राजगढ श्रोत केन्द्र अन्र्तगतका झण्डै एक सय शिक्षक सहभागी थियौं । सहभागी मध्ये सबैजसो शिक्षकले सामुदायिक विद्यालयको गिर्दाे शैक्षिक गुणस्तर सुधार गर्न क्रियात्मक शिक्षक सिकाइको अभ्यास गर्नुभएको थियो ।

शिक्षण व्यावहारिक, ज्ञानमूलक, सीपमूलक हुनुलाई प्रभावकारी शिक्षण मानिन्छ । अझ स्पष्ट रुपमा भन्नुपर्दा शिक्षणको उद्देश्य बमोजिम हरेक विद्यार्थीको व्यवहारमा परिवर्तन आउने गरी शिक्षण सिकाइ गरिनुलाई प्रभावकारी शिक्षण भनिन्छ । विशेष गरी प्रभावकारी शिक्षणको लागि प्रेरणा, पुनर्बल, नियमित अभ्यास र विविध सामाजिक तथा व्यक्तिगत तत्वहरूले प्रत्यक्ष प्रभाव पारेका हुन्छन् । यी विविध तत्वहरूको प्रभावकारी शिक्षणमा प्रत्यक्ष भूमिका रहेकाले यिनीहरूलाई प्रभावकारी शिक्षणका तत्वहरू पनि भन्ने गरिन्छ ।

विशेषतः कक्षा कोठाभित्र शिक्षकले विद्यार्थीहरूलाई सहज रूपले सिकाउन सक्ने र विद्यार्थीहरूले पनि शिक्षकको सहयोगीका रूपमा उत्सुक, जागरुक, प्रतिस्पर्धी, नियमित र अनुशासित भई ज्ञान हासिल गर्ने खालको वातावरण सिर्जना गर्नुपर्ने हुन्छ । अतः सिक्ने र सिकाउने दुवैका लागि अनुकूल वातावरण बनाउनु र व्यावहारिक, ज्ञानमूलक र सीपमुलक शिक्षा दिनु÷लिनु नै प्रभावकारी शिक्षण हो । तसर्थ, प्रभावकारी शिक्षण भयो वा भएन भनेर गुनासो गर्नुको सट्टा सिक्ने र सिकाउने वातावरणमा केही समस्याहरू छन् कि भनेर त्यसतर्फ ध्यान दिनु प्रत्येक जिम्मेवार पक्षको दायित्व हुन जान्छ । क्रियात्मक शिक्षण सिकाई पछि हामीले सिकाका पक्ष यिनै थिए ।

तर, हामीले वषौंदेखि अध्ययापन गराउदै आएको परिपाटी उही छ । व्यवहारिक शिक्षा भन्दा कितावमा आधारित भएर परीक्षामुखी अध्ययापनका कारण विद्यार्थीले सिक्न चाहेको कुरा सिक्न सकिरहेको छैनन् । स्वभावैले विद्यार्थी हरेक कुरामा जिज्ञासु हुन्छन् । विद्यार्थीका जिज्ञासा हामीले सहज रुपमा निराकरण गर्न सकेनौं भने सिकाइको कुनै अर्थ रहदैन । विद्यालय भनेको सरस्वतीको मन्दिर हो । ज्ञानको ऊर्जा र हौसला प्राप्त गर्ने ठाउँ । अझ भनौं, सिकारुले आफैं उत्प्रेरित भएर सिक्न सक्ने वातावरण भएको स्थान ।

तर, अचेल विद्यालय अझ चलन चल्तीको शब्द ‘स्कूल’ भन्ने बित्तिकै बालबालिकालाई अभिभावकले निश्चित समयमा जवरजस्ती पु¥याइदिने कोठामा थुनेर दिनभर लेख्न र पढ्न लगाउने अनि घरका लागि जतिसक्दो धेरै गृहकार्य दिएर पठाउने ठाउँ भन्ने नै धेरैले बुझ्छन् । यस्तो अवस्थामा विद्यार्थीले के सिक्न सक्लान ? पढाइप्रति शिक्षकले विद्यार्थीलाई उत्प्रेरणा प्रदान गर्न नसक्ने हो भने शिक्षकको मेहनत व्यर्थ हुन जान्छ अनि कसरी सुध्रन्छ शैक्षिक गुणस्तर ।

हरेक विद्यार्थीहरूले सधैँ राम्रोसँग गृहकार्य गरेर ल्याउने, राम्रा अक्षर बनाएर लेख्ने, कक्षामा मन लगाएर पढ्ने, अनुशासित भई बस्ने , सफा सुग्घर भई विद्यालय आउनेतर्फ आकर्षित गर्ने खालको वातावरण शिक्षकले तयार पारिदिनु पर्छ । विद्यार्थीलाई राम्रा–राम्रा बानी, व्यवहार, आचरण र अनुभव साटासाट गर्ने परम्परा बसाउनु पर्छ, जसले प्रत्यक्ष प्रभाव पारेको हुन्छ शिक्षण सिकाई क्रियाकलावमा । एक सफल शिक्षकले जहिले पनि कक्षा कोठामा प्रथमतः शैक्षिक वातावरण बनाउने प्रयत्न गर्नुपर्दछ । वास्तवमा रुची, उत्सुकता, सहयोग प्राप्ति र खोज÷अन्वेषण÷जिज्ञासाजस्ता प्रेरकहरूलाई धेरै हदसम्म व्यवहारमा ल्याउनुपर्ने हुन्छ ।

विद्यार्थीहरूमा विषयवस्तु पढ्ने वा कक्षा कोठामा पढाएको पाठ पढ्ने वा सुन्ने÷बुझ्ने रुची नै छैन भने त्यो शिक्षण प्रभावकारी नहुने हुँदा उसमा रूची जगाउनेतर्फ ध्यान दिनुपर्दछ । यसरी नै शिक्षकले उपयुक्त शैक्षिक वातावरणको निर्माण, उचित शिक्षण विधिको प्रयोग, चाख लाग्दा उदाहरणको प्रयोग, उचित र प्रभावकारी शैक्षिक सामग्रीको प्रयोग, निष्पक्ष मूल्यांकन परिपाटी आदिले गर्दा विद्यार्थीहरू सिकाइमा उत्सुक हुने गर्दछन् । हरेक विद्यार्थीहरू सिकाइप्रति उत्सुक भएमा कक्षा कोठाभित्रको वातावरण सिक्ने र सिकाउने खालको हुन जान्छ ।

यसरी नै विद्यार्थी र शिक्षक एक अर्काप्रति सहयोगीका रूपमा प्रस्तुत हुने खालको वातावरण शिक्षकले निर्माण गर्नुपर्दछ । विद्यार्थीहरू सहयोगी हुन सकेका छैनन् भन्ने दोषारोपणलाई त्याग्नुपर्छ । कक्षा कोठामा डर, त्रास पैदा नभई आफ्नो सिर्जनात्मक प्रतिभाको प्रस्फुटन हुने र मौलिक तथा तार्किक शक्तिको विकास गर्नेतर्फ विद्यार्थीहरूलाई लैजाने वातावरणको सिर्जना हुनु आवश्यक छ ।

हरेक शिक्षक सधैँ सहयोगी बनी विद्यार्थीहरूमा पनि सहयोगी भावना विकास गराउनमा नियमित लाग्नुपर्ने हुन्छ । यसै गरी प्रतिस्पर्धालाई पनि व्यक्तिगत प्रेरकको रूपमा लिइन्छ । विद्यार्थीहरू जब इच्छुक, जागरुक, उत्साही र सहयोगी बन्छन् तब उनीहरूमा प्रतिस्पर्धाको भावना पनि विकास हुन्छ । यस अवस्थामा हरेक शिक्षकले विद्यार्थीहरूमा समान शैक्षिक व्यवहारद्वारा प्रतिस्पर्धाको विकासलाई ध्यान दिनुपर्ने हुन्छ । यसरी नै उचित प्रकारको ज्ञान प्राप्त गर्नुपर्दछ भन्ने भावनाको विकास हुनु जरुरी छ । नयाँनयाँ खोज र अन्वेषणका माध्यमबाट हरेक विद्यार्थीहरू सक्षम बनाउनेतर्फ शिक्षक लागिरहनुपर्ने हुन्छ । हरेक विद्यार्थीहरूले शिक्षकमा पूर्णरूपमा भर नपरी आफैँ खोज तथा अनुसन्धानमा लाग्नु आवश्यक छ भन्ने कुराको ज्ञान दिएर अगाडि बढाउनुपर्ने हुन्छ ।

समयले धेरै फड्को मारिसक्दा पनि स्कूलमा पढाउने शैलीमा भने परिवर्तन आउन सकेन । कक्षा कोठामा हामी शिक्षकहरुले किताब बोकेर हुबहु पढाइरहेका हुन्छौं अथवा बोर्डमा लेखेर विद्यार्थीलाई पराम्परागत ढंगले जस्ताको तस्तै सार्न वा घोक्न लगाई रहेका हुन्छौं । कितावमा भएको जस्ताको तस्तै लेख्दा वा घोक्दा बालबालिकामा कुनै विकाश हुन पाउँदैन । बरु केही कुरा पढाएर अर्का त्यस्तै सोचेर लेख भन्ने वा कुनै प्रश्न दिएर यसको उत्तर के हुन्छ सोच भन्ने खालका सिर्जनात्मक पढाई गर्ने हो भने त्यसले बालबालिकालाई केही फाइदा पु¥याउन सक्छ ।

विद्यालयमा अभिभावकको संलग्नताले पनि विद्यालयको शैक्षिक÷भौतिक पूर्वाधार मात्र होइन, छात्रछात्राको सिकाइ उपलब्धि सुधारमा समेत महत्वपूर्ण भूमिका खेल्ने कुरा विभिन्न अध्ययनले समेत पुष्टी गरेको छ । छात्रछात्रा, शिक्षक र अभिभावक यी तीन पक्षको भूमिका प्रभावकारी हुँदा स्कूल चम्किन्छ भने कमजोर हुँदा ओरालो लाग्छ । तसर्थ सामुदायिक विद्यालयको गुणस्तर सुधार्न समय समयमा अभिभावक पनि विद्यालय आउन जरुरी देखिन्छ ।

कतिपय सामुदायिक विद्यालयहरु अब्बल रहेपनि कतिपयको अवस्था अझैं दयनीय छ । अंग्रेजी भाषा प्रतिको अभिभावकको मोहका कारण पनि निजी विद्यालयमा बढी झुकाव छ । सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा भएपनि महंगो शुःल्क तिरेर निजी विद्यालयमा अभिभावकले आफ्ना नानीहरु पढाउन पठाइरहेका हुन्छन् । सामुदायिक विद्यालयमा पनि पछिल्लो समय अंग्रेजी शिक्षालाई प्राथमिकतामा राखिएको छ । कतिपय सामुदायिक विद्यालयले मावि स्तरसम्मनै अंग्रेजी शिक्षाको अवधारणा ल्याएका छन् तर शिक्षण सिकाइ क्रियाकलाव पुरनै परिपाटीको भएकाले अभिभावकले पत्याएका छैनन् । अब्बल मानिएका विद्यालयमा समेत विद्यार्थी संख्या न्यून रहेको पाउन सकिन्छ । तर, २ वर्ष अघि २० जना विद्यार्थी बटुल्दै विद्यालय सञ्चालन गरेको निजी विद्यालयले दुई वर्षकै अन्तरालमा झण्डै एक हजारको हाराहारीमा विद्यार्थी भर्ना गराउन सफल हुन्छन् । गुणस्तरीय शिक्षा प्रदानका लागि सामुदायिक विद्यालयका शिक्षकलाई सरकारले हरेक वर्ष तालिम दिएर दक्ष बनाएपनि किन सामुदायिक विद्यालय प्रतिको विश्वास सोचे अनुरुप बढ्न सकेको छैन सबैको एउटै प्रश्न छ ।

वाह्रदशी श्रोत केन्द्र अन्र्तगतका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि श्रोत केन्द्रले नै अहिले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । श्रोत व्यक्ति छवि वस्नेतले सवै विद्यालयको अवस्थाको अवलोकन गरेपछि पहिलो प्राथमिकतामै गुणस्तर सुधारका काम अघि बढाउनु भएको छ । गाउँपालिकाले समेत शैक्षिक गुणस्तर सुधारसंगै भौतिक सुधारको कार्यक्रम अघि सारेकाले यस क्षेत्रको शैक्षिक विकासले फड्को मार्न सक्ने आश गर्न सकिन्छ । त्यसका लागि शिक्षकले सिकेको सिपलाई व्यवहारमा उतार्दै शिक्षण सिकाई क्रियाकलावलाई परिष्कृत र परिमार्जित गर्दै लान आवश्यक छ । यस क्षेत्रका सामुदायिक विद्यालयमा गरिव तथा विपन्न समुदायका वालवालिका बढी अध्ययनरत छन् । कतिपय भोको पेट लिएर विद्यालय आइरहेका हुन्छन् । के उनीहरुले भोको पेटमा कुनै नयाँ कुरा सिक्न सक्लान त ? अह ः कदापि सक्दैनन् ।

आर्थिक रुपले सवल र मध्ययम वर्गका सबैले प्राय आफ्ना नानीहरलाई निजी विद्यालय अध्ययनका लागि पठाउने गरेका छन् । अनि अति विपन्न तथा विपन्न परिवारका वालवालिका मात्र अध्ययन गर्ने थलो बन्दै गएको सामुदायिक विद्यालयमा तत्काल कसरी शैक्षिक गुणस्तर सुधार्न सकिन्छ । निजी विद्यालयको तीव्र प्रतिष्पर्धाका कारण सामुदायिक विद्यालयले उत्पादन गरेका अब्बल विद्यार्थी खोजीखोजी निजी विद्यालयले विभिन्न प्रलोभन देखाएर लाने गरेका छन् । अनि सामुदायिक विद्यालयमा चाँही क्रिम निकालेको दूध जस्तै विद्यार्थी रहन्छन् । क्रिम निकालेको दूधमा पुनः क्रिम भर्न कत्तिको सहज छ । परम्परागत शिक्षण सिकाई विधिलाई परिर्वतन नगर्ने हो भने पक्कै पनि सम्भव छैन । तर,हामी शिक्षकले शिक्षण सिकाई विधिलाई परिर्वतन गर्दै युग सुहाउदो र प्रविधि मैत्री वातावरणमा शिक्षण गर्ने हो भने सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी उत्कृष्ट र अब्बल हुन्छन् ।

 

[email protected]

लेखक :गौरीशंकर माविकी शिक्षक हुन् ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com