हात्ती समस्याको स्थायी समाधानका लागि पहल गर्नेछु

यहि माघ ५ गते मानव हात्ती द्धन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुनडाँगीको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

२३ सय ७४ मतदाता रहेको निर्वाचनका लागि नेपाली काङ्ग्रेसको समर्थनमा हरिप्रसाद उप्रेती र बाम गठबन्धनको समर्थनमा मेघनाथ खड्का अध्यक्षका लागि चुनावी मैदानमा छन् । राजनीतिक प्रतिष्ठाका रुपमा हेरिएको यो निर्वाचनले यतिबेला बाहुनडाँगीमा चुनावी सरगर्मी बढेको छ । यहि चुनावको सेरोफेरोमा रहेर अध्यक्षका प्रत्यासी उप्रेतीसँग गरिएको कुराकानी :

अध्यक्षका उम्मेदवार

तपाईको उम्मेदवारी किन ?

सबैभन्दा पहिलो कुरा त म बाहुनडाँगीबासी भएकाले यहाँको हात्तीको समस्याहरुलाई नजिकबाट थाहा पाएको छु । विगत लामो समयदेखि बाहुनडाँगीको हात्ती समस्या समाधानका लागि लागि परेको छु । त्यसमा पनि यहाँ हात्तीको समस्या हुँदै गर्दा हात्ती पीडित संघर्ष समितिको संयोजक भएर धेरै पटक राज्यको ढोका ढक्ढक्याउन पुगेको छु ।

जसको फलस्वरुप मेरै संयोजकत्वमा रहेको समितिकै पहलमा हात्तीबाट पीडित जनताका लागि राहत उपलब्ध हुन सुरु गरेको थियो । यसैगरी, यो मानव हात्ती द्धन्द्ध व्यवस्थापनको विधान मस्यौदा समितिको संयोजकमा पनि बसेर काम गरेको छु । यसले पनि मेरो अनुभवलाई थप सार्थक बनाउन मेरो उम्मेदवारी हो । साथै विश्व बैंकको सहयोगमा निर्माण कार्य सम्पन्न भइ समुदायमा हस्तान्तरण भएको इलोक्ट्रोनिक सोलार फेन्सिङलाई प्रभावकारी बनाएर मानव हात्तीबिचको दन्द्धलाई न्यूनिकरण गर्नका लागि पनि मेरो उम्मेदवारी हो ।

जित्ने आधारहरु के के छन् ?

मैले अघि पनि भने कि म बाहुनडाँगीमा हात्ती समस्या हुँदै गर्दादेखि निरन्तर काम गरेको छु । यहाँका आम जनताका पक्षमा रहेर काम गर्ने अवसर पाएको छु । त्यहि कामको मुल्याङकन गरेर आम बाहुनँडागीबासीले मलाई तपाई आउनु पर्छ भनेर आग्रह गर्नु भयो । मेरो जित्ने आधार भनेको नै यहाँका आम जनता हुनुहुन्छ । जसले मेरो कामको मुल्याङकन गर्नु भएको छ ।

यहाँ यो पार्टी र त्यो पार्टी भन्दा पनि आम बाहुनडाँगीबासीका लागि मैले गरेको काम नै हो । मैले काम गर्ने शिलशिलामा कुनै दिन पनि पार्टीगत स्वार्थ देखाएको छैन । अनि मैले यस भन्दा अघि पनि काम गरेका सामाजिक संघ संस्थामा आर्थिक पारदर्शितालाई महत्व दिने गरेको छु । मेरो काममा पहिलो कुरा आर्थिक पारदर्शिता हुन्छ । इमान्दारिताका साथ काम गरेको छु । सबैदलसँग मिलेर अनि सबैलाई मिलाएर टिममा बसेर काम गर्न सक्ने क्षमता म माथि छ ।

यदि तपाईले चुनाव जित्नु भयो भने तपाईका योजनाहरु के के हुनेछन् ?

यहाँ प्रश्न चुनाव जित्नेको मात्र होइन । प्रश्न यस क्षेत्रमा दिर्घकालिन हात्ती व्यवस्थापन कसरी गर्ने भन्ने हो । यस क्षेत्रमा हामीले वर्षाैदेखि धेरै पीडा र समस्या भोगेका छौँ । जब यहाँ फेन्सिङ तारले घारबारा गर्ने काम भयो अनि मात्र यहाँका बासिन्दाले केही राहत पाएको अनुभव गरेका छन् । हो त्यहि फेन्सिङ तारको सुरक्षा, व्यवस्थापन र त्यसलाई दिर्घकालिन समयसम्म सञ्चालन गर्ने, समय समयमा मर्मत सम्भार गर्ने योजनाहरु छन् ।

साथै त्यो तारको सुरक्षा र मर्मत सम्भारका लागि १८ किलोमिटर बाटो जहाँ १२ महिना सञ्चालन हुने गरी बनाउने, थोरै पारिश्रमीकमा काम गरिरहेका प्राविधिक साथीहरुका लागि दिर्घकालिन रोजगारीको व्यवस्थापन गर्ने । त्यसका लागि सम्बन्धित निकायमा जानकारी गराउने र रोजगारीको व्यवस्थापन गर्ने, हाल हात्ती पीडितले पाउने राहत रकम उपलब्ध गराउन थुप्रै झन्झटिलो अवस्था छ । धेरै प्रक्रियापछि मात्र उसले रकम पाउँछ । अबका दिनमा त्यो झन्झटिलो परिस्थितिको अन्त्य गर्न र विना झन्झट स्थानीय स्तरबाटै वा वडाबाट रकम राहत पाउने व्यवस्था गर्ने, सरकारले बाहुनडाँगीलाई यो व्यवस्थापनका लागि ३० लाखको फन्ट दिएको छ । उक्त फन्टलाई बढाएर लैजाने र एक करोडको कोष निर्माण गर्ने, जसका कारण यहाँ पर्ने सानातिना समस्याहरु यहि समाधान गर्न सकिन्छ ।

सामाजिक संघ संस्थामा त्यसमा पनि यो मानवीय सम्वेदनासँग जोडिएको संस्थामा पनि तपाईहरु स्पष्ट रुपमा पार्टीलाई कित्ताकाट गरेर राजनीतिक प्रतिस्पर्धामा उत्रिनु भएको देखिन्छ नि ?

म यो मान्दिन । यहाँ राजनीतिक क्षेत्रमा काम गर्ने मान्छेहरुले नै नेतृत्वमा आएकोले यस्तो अनुभव भएको हो । हामी सबै यो समाजमा कुनै न कुनै राजनीतिक आस्थामा बाँचेका हुन्छौँ । त्यहि व्यक्ति हो जसले राजनीति गरेको हुन्छ, सामाजिक संघ संस्थाको नेतृत्व गरेको हुन्छ । राजनीतिक आस्थाका रुपमा यो समाजमा चिनिएको हुन्छ । अनि त्यहि व्यक्ति हो जसले यो समाजका हरेक संघ संस्थालाई प्रतिनिधित्व गरेको हुन्छ । हो म कुनै दलसँग नजिक छु । अनि मेरो मित्र मेघराज जि पनि । त्यसैले गर्दा उहाँ र म प्रतिस्पर्धीका रुपमा अघि आएकाले त्यो अनुभव हुन सक्छ । तर काम गर्ने शिलशिलामा कुनै राजनीति हुदैन । जसले जिते पनि यहाँको हात्ती समस्याका लागि काम गर्ने हो । त्यसैले त्यस्तो हुनु पनि होइन र म त्यसलाई स्वीकार पनि गर्दिन ।

यदि हार्नु भयो भने ?

यो प्रजातनान्त्रि प्रक्रियाबाट चुनावी प्रतिस्पर्धामा आएपछि एक जनाको जित र अर्काेको हार अवस्य हुन्छ । यो सामान्य प्रक्रिया हो । त्यसैले मतदाताले जसलाई माया गरेर मत दिनु हुन्छ उसैले जित्छ । यदि मलाई माया गरेर जिताउनु भयो भने मेरो प्रतिस्पर्धीका रुपमा रहेका मेघराजजिलाई समेटेर उहाँका पनि भावनालाई कदर गर्दै सँगसँगै काम गर्नेर्छौँ । मेरो पराजय भयो भने पहिले जसरी सँगै रहेर काम गरेको थिए त्यसरी नै सधै मेरो बलबुताले भ्याएसम्म काम गर्नेछु ।

अन्त्यमा केही भन्नु छ ?

आम मतदातालाई पहिलो कुरा त मत हाल्नका लागि मतदान स्थल आइदिन आग्रह गर्दछु । मतको अधिकार आफुसँग भएकाले जसले काम गर्न सक्छ भन्ने विश्वास लाग्छ उसैलाई मत दिनु होला । आफ्नो विवेक प्रयोग गरेर यस क्षेत्रको यो दिर्घकालिन समस्यालाई हल गर्नका लागि योग्य उम्मेदवारको छनोट गर्नुहोस । ताकि आगामी दिनमा यो समस्याबाट बाहुनडाँगीबासीले भोग्नु नपरोस ।

हामी बोलीमा भन्दा पनि काममा विश्वास गछौँ । हाम्रो टिममा रहेका सबै साथीहरु योग्य र सक्षम हुनुहुन्छ । यहाँका हरेक समस्यालाई चिन्नु भएको छ । यसैले एक पटक हामीलाई काम गर्ने मौका दिनका लागि मत दिएर विजय गराउनु हुन अनुरोध गर्दछु । साथै तपाईलाई पनि हाम्रा कुरा बाहिर ल्याउन सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहान्छु ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com