जलवायु परिर्वतनले मानवीय अस्तित्व संकटमा

[नरेन्द्र ढकाल]

झापा,

पछिल्लो समय नेपालसहित विश्वभर तापमान वृद्धि हुदै गएको र यो अवस्थामा कमी ल्याउन नसकिए यसले आगामी दिनमा विकराल रुप लिन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

जलवायु परिवर्तनका कारण नेपालको तापक्रम प्रतिवर्ष ०.०५६ डिग्री सेल्सियसका दरले वृद्धि भइरहेको तथ्य सार्वजनिक भएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयले सुनसरीको इटहरीमा गरेको कार्यक्रममा उक्त जानकारी गराइएको हो । हिमाल, पहाड र तराई तीन भागमा रहेको र फरक–फरक मौसम रहेकाले यहाँको मौसम छिटो–छिटो परिर्वतन भएकाले मौसमको भविष्यवाणी गर्न समेत समस्या हुने गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाका सुनिल पोख्रेलले बताए । उनले प्रस्तुत गरेको प्रतिवेदनमा तापक्रम वृद्धिको दर यसअघि विश्वास गरिएकोभन्दा बढी भएको पुष्टि गरेको छ । यसका लागि सन् १९७१ देखि २०१४ सम्मको ४४ वर्षको तापक्रम र वर्षाको तथ्याङ्क विश्लेषण गरिएको हो ।

यसअघि नेपालले विश्वभरि तापक्रम वृद्धिको दर ०.०४ डिग्री प्रतिवर्ष रहेको बताउँदै आएको थियो । तापक्रम वृद्धिको दर र अवस्थासम्बन्धी यति व्यवस्थित र वृहत सरकारी अध्ययन यसअघि नभएको बताइएको छ । अतिविकसित तथा विकसित मुलुकले उत्सर्जन गरेको हरित ग्यासका कारण त्यसको प्रत्यक्ष असर नेपाल जस्ता अल्पविकसित मुलुकले ब्यर्होनु परेको जलवायु परिर्वतनका क्षेत्रमा कार्यरत विषय विज्ञ मन्जित ढकालले बताए । उनले भने– नेपालको मनाङ जिल्लामा तिब्र रुपमा जलवायु परिर्वतन भइरहेको र वार्षिक ०.१२ डिग्री सेल्सियसले तापक्रम बढिरहेकाले यो नेपालका लागी चुनौतिको विषय हो । तापक्रम वृद्धिको नयाँ तथ्याङ्कले नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले झन् जोखिममा रहेको पुष्टि गरेको छ ।

वातावरणमा भएको परिर्वतनले गर्दा नेपालमा नदीहरुमा ठूलो बाढी आउने गरेको र त्यसले ठूलो जनधनको क्षति हुने गरेको वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले बताए । वर्षायाममा ठूलोबाढी आउने गरेका कारण झापासहित तराईका जिल्लाहरु बढी जोखिममा रहेको बताए । राष्ट्रिय अनुकूलन योजना (न्याप) तर्जुमाका तीन प्रतिवेदन सार्वजनिक न्याप निर्माणकै क्रममा तयार भएका वस्तुस्थिति (स्टकटेकिङ्ग), जलवायु परिवर्तनको प्रवृत्ति (ट्रेण्ड) र जलवायु सङ्कटासन्नता एवम् जोखिम मूल्याङ्कनको राष्ट्रिय संरचना र सूचक सहितको प्रतिवेदन सार्वजनिक गरिएको छ । यि प्रतिवेदनले पनि नेपालको जलवायु परिर्वतनलाई उठाएको पाइन्छ ।

तापक्रमको बृद्धिसंगै वर्षाको नियमित चक्रमा परिवर्तन आउँदा जलवायु परिवर्तनका कारण नेपाल थप सङ्कमा पर्दै गएको छ । नेपालले हरितगृह ग्याँसको उत्सर्जन अत्यन्तै न्यून गर्ने भएकोले आप्नो अस्तित्व रक्षाका लागि अनुकूलित हुने र समानुकूलन क्षमता बढाउनु पर्ने निष्कर्षका आधारमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । यसैक्रममा नेपालले राष्ट्रिय अनुकूलन कार्यक्रम (नापा) तयार गरी स्थानीय अनुकूलन कार्ययोजना (लापा) को संरचना मार्फत तत्कालै गर्नु पर्ने र अत्यावश्यक अनुकूलनका कार्यहरू कार्यान्वयन गरिरहेको बताइएको छ ।

जलवायु परिवर्तन सम्बन्धी महासन्धि, क्योटो अभिसन्धि र पेरिस सम्झौताको पक्ष भएकोले तिनबाट सिर्जित दायित्व, नेपालको जलवायु परिवर्तन नीति (२०६७), चालु चौधौं योजना र पेरिस सम्झौता कार्यान्वयनका लागि तयार भएको राष्ट्रिय स्तरमा निर्धारित योगदान (एन.डी.सी.) बमोजिम मध्य र दीर्घकालीन अनुकूलनका लागि नेपालले राष्ट्रिय अनुकूलन योजना (न्याप) तर्जुमा गरेको छ ।

नेपालको तापक्रम अब सन् २०३० तथा २०५० मा कसरी बढ्छ भन्ने आंकलन गर्न सहज बनाउने बताइएको छ । अहिलेकै प्रवृत्तिका आधारमा तापक्रम वृद्धिको अनुमान गर्न सकिन्छ । यहि अवस्था रहेमा नेपालमा हिमाश्रृङखला तथा हिमतालहरु बढी जोखिममा रहेको इटहरीमा भेला भएमा वातावरणमा क्षेत्रमा कार्यरत विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् । उनीहरुले विकाससंगै वातावरणसंरक्षणमा ध्यान नदिए तराईका जिल्लामा पानीको ठूलो समस्या निम्तन सक्ने चेतावनी समेत दिएका छन् ।

जलवायु परिवर्तनको आधारमा नेपालका जोखिमयुक्त क्षेत्र, जिल्ला पत्ता लगाएर अनुकुलनका उपायसम्मको खोजी गरिनेछ । उप्रेतीले न्याप निर्माण प्रकृया आधा बाटोमा पुगेको प्रतिक्रिया दिएका छन् । जलवायु परिर्वतनले गर्दा तराईका जिल्लाहरु धेरै प्रभावित बन्नु परेको र पूर्वका झापा, सुनसरी, मोरङ र सप्तरीमा मौसम एकै किसिमको रहेको प्राक्टिकल एक्सनका सुनिल आर्चायले बताए । उनले झापाको कनकाई नदीमा जडान गरिएको पूर्वसूचना प्रणाली जडान गरेर ठूलो जनधनको क्षति हुनबाट जोगिएको बताए । उनले इलामको मैनाचुलीमा निर्माण गरेको मौसम मापन केन्द्र बाढीले बगाएका कारण अहिले भने समस्या भएको उल्लेख गरेका छन् ।

जनसंख्या तथा वातावरण मन्त्रालयका सह–सचिव डा.रामप्रसाद लम्सालले जलवायु परिर्वतन न्यूनीकरणका लागी सबै क्षेत्र मिल्नुपर्ने बताए । उनले मौसममा आएको परिर्वतनका कारण कतै त्यसले मानव सभ्यतालाई नै जोखिममा पार्ने होइन भन्ने विषय गम्भिर बनेको धारणा ब्यक्त गरे । उनले चुरेक्षेत्रमा भइरहेको दोहन रोक्न स्वय स्थानीयबासी लाग्नुपर्ने विचार ब्यक्त गरे ।

प्राक्टिकल एक्सन नेपाल,जल तथा मौसम विज्ञान विभाग र इसिमोड लगायतका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्राविधिक सहकार्यमा यी प्रतिवेदनहरु तयार भएको वातावरण मन्त्रालयले जनाएको छ । दुई दिनसम्म भएको कार्यक्रममा प्रस्तुत प्रतिवेदनले कृषि तथा खाद्य सुरक्षा, जलवायुजन्य विपद्, वन तथा जैविक विविधता, जनस्वास्थ्य, खानेपानी तथा सरसफाई, पर्यटन, प्राकृतिक तथा सांस्कृतिक सम्पदा, शहरी बस्ती तथा पूर्वाधार, जलस्रोत तथा ऊर्जा, लैङ्गिक तथा सीमान्तकृत समुदाय र जीविकोपार्जन तथा सुशासनमा जलवायु परिवर्तनबाट परेको प्रभावलाई उजागर गरेको छ ।

त्यसै गरी सन् १९७१ देखि २०१४ सम्मको ४४ वर्षको तापक्रम र वर्षाको तथ्याङ्क विश्षेषण गरी तयार भएको जलवायु परिवर्तनको प्रवृत्ति सम्बन्धी प्रतिवेदनले राष्ट्रिय र जिल्लास्तरमा तापक्रम र वर्षामा आएको परिवर्तनलाई स्पष्ट पारेको छ । जलवायु सङ्कटासन्नता र जोखिम मूल्याङ्कन गर्नको लागि नेपालले एक नयाँ संरचना (फ्रेमवर्क) तयार गरेको छ । यस संरचनाले नेपालमा मात्र नभई अन्य देशमा पनि जलवायु सङ्कटासन्नता र जोखिम मूल्याङ्कन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मैसम परिवर्तत छिन–छिनमा हुने गरेपनि जलवायु परिर्वतनको असर भने धेरै समयपछि मात्र देखा पर्ने र त्यसले मानवीय जीवनमा नै ठूलो हलचल ल्याउन सक्ने वातावरणको क्षेत्रमा कार्यरत विज्ञहरुले धारणा ब्यक्त गरेका छन् । युएनडिपीका असिष्टेन्ट डाइरेक्टर विजय सिंह, प्राक्टिकल एक्सनका दिनानाथ भण्डारी, आशा प्रोजेक्टकी ऐन्जिला मिश्र, केयर नेपालका ठाकुर चौहान, संयुक्त राष्ट्रसंघिय खाद्य तथा कृषि संगठनका कृष्णप्रसाद पन्त लगायतले जलवायु परिर्वतनले नेपालमा हिमाल, पहाड र तराई तीनै क्षेत्रमा क्रमिक रुपमा असर गर्ने गरेकाले सचेतनाको आवश्यक रहेकोमा जोड दिएका छन् ।

उनीहरुले नदी किनारमा अवैधानीक रुपमा सञ्चालन गरिएका क्रसर उद्योगहरुले वातावरणय तथा जैविक विविधतामा ठूलो असर गरेको धारणा ब्यक्त गरेका छन् । पानीको मुहान सुक्दै जानु तथा पानीको सतह घट्दै जानु, हिमालमा हिउ पग्लने क्रम बढ्नु हिमतालहरुमा पानीको सहत बढेर ताल फुट्ने जोखिम बढ्नु र हिमालहरु काला पहाडमा परिणत हुदै जानु राम्रो संकेत नभएको बताएका छन् ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com