सरस्वती पूजा मनले गर्ने हो धनले होइन

सविता भण्डारी

आज श्रीपञ्चमी । अर्थात वसन्त पञ्चमी । विद्याकी देवी सरस्वतीलाई विभिन्न किसिमले पूजा आरधाना गर्ने दिन । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गर्ने गरिन्छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकारिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी शिक्षक – विद्यार्थी, साहित्यकार, कलाकार, पत्रकार आदिले आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

श्रीपञ्चमी हिन्दूहरूको पर्व हो । नेपाल र पूर्वी भारतमा ठूलो उल्लाससित यो पर्व आजकै दिन मनाइन्छ । यस दिन महिलाहरूले पहेंलो वस्त्र धारण गर्दछन् । विद्याकी देवी सरस्वतीलाई विभिन्न व्यक्तिहरुले विभिन्न तवरले पूजा अर्चना गर्ने प्रचलन छ । बौद्धधर्मीहरूले उनलाई मञ्जुश्रीका नामले चिन्दछन् भने उनका विभिन्न स्वरूपलाई चिन्तन गर्दै बालबालिकालाई आजै अक्षरम्भ गर्ने प्रचलनपनि रहेको छ । विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय वा आ – आफ्ना पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन् । धातु या मूर्तिमा वा प्रतिमा या उनका चित्र अङ्कति फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन् ।

संसारका सर्जक ब्रहृमाको मुखबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरूकी वाग्देवी अर्थात् वाणीकी देवी हुन् । राजहंसवाहन भएकी देवीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन् । सेतो वस्त्रले सजिएकी हरदम मुस्कुराइरहन्छिन् र सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्छिन । भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको ’सरस्वती कवच’को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरे । आवश्यकता अनुरूप संहारका बेला महाकाली रूप धारण गर्ने र जीवदेखि जगत्सम्मको सञ्चालनमा महालक्ष्मी रूप धारण गर्ने देवी सिर्जनाका बखत महासरस्वतीको रूपमा सर्वत्र विराजमान रहेकी देवीको महिमालाई यसरी वर्णन गरिएको छ ।

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी

हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती

तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा

सप्तमं चैव कौमारी अष्टमं वरदायिनी

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी

एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी

द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः

जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।

विभिन्न किंवदन्ति अनुसार सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञानुसार ब्रह्माले जीवहरुको सृष्टि गर्नुभयो । जसमा विशेष त मनुष्य योनीको रचनामा गरिसकेपछि भगवान ब्रह्मा खुशी हुन भएन । उहाँलाई केही कुराहरुको कमी भएको भानभयो र फेरी विष्णुको अनुमति लिएर उहाँले आफ्नो कमण्डलुबाट जल पृथ्वीमा छर्नुभयो । पृथ्वीमा जलकण छरिने बित्तिकै कंपन हुनथाल्यो । यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्तिभयो । यो प्राकट्य एक चतुर्भुजी सुंदर स्त्रीको थियो । जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो । अरु दुई हातहरूमा पुस्तक र माला थिए । ब्रह्माले देवीसित वीणा बजाउने अनुरोध गरे । जब देवीले वीणाको मधुरनाद गरिन् तव संसारका समस्त जीव–जन्तुहरूलाई वाणी प्राप्तभयो ।

जलधारामा कोलाहल व्याप्त भयो । हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो । तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भनेर नामाकरण गर्नुभायो । आजपनि सरस्वतीलाई बागीश्वरी, भगवती, शारदा, वीणावादनी र वाग्देवी, सरस्वती, शारदा, जगत्माता, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नामहरूले पूजा गरिन्छ । संगीतको उत्पत्ति गरेको कारण यि नी संगीतकी देवी पनि हुन् भनिन्छ । स्वर, सङ्गीत, ताल, लयकी श्रोत स रे ग म प ध नि सं देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीको माधुर्य, गला र कलाको निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीका विभिन्न साधना र पूजा अर्चना गरिन्छ ।

श्रीपञ्चमीका दिन कामदेव र रतिको पनि पूजा पनि गरिन्छ । वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतिको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ । जीवनलाई शृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ । काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्तराग साधनाको श्रोत नै हो । कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी नै हो ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धागिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्वसिद्ध प्राप्त हुन्छ भन्ने विश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

यस्तो अथाह महिमा बोक्ने सरस्वतीलाई आज हामी सम्झदैछौं । सबैजसो विद्यालयमा ज्ञानकीधनी सरस्वतीको पूजा आरधना गरिदैछ । तर, उनै सरस्वतीको नाममा कतै हामी गलत बाटोमा त लागिरहेका छैनौं । सरस्वतीको पूजाका नाममा वाटामा वटुवासंग चन्दा उठाइरहेको हामीले देख्ने गरेका छौं । पूजा मनले गर्ने हो धनले होइन । पूजाका नाममा वाटामा ‘धराप’ थापेर दस दुनियाको बचन खाएर संकलन गरेको पैसाले किनेको प्रसादले के हाम्रो मनोकामना पूरा होला । हुन्छ जस्तो कदापि मलाई लाग्दैन । बटामा एक थरिका मात्र मानिस हिड्दैनन् । धर्म निरपेक्ष हाम्रो मुलुकमा सवैले सवैको धर्मलाई सम्मान गर्न सक्नुपर्छ । सरस्वती पूजा हिन्दू धर्मावलम्बीहरुको हो । के अन्य धर्म मान्ने मानिसले सरस्वती पूजाका लागि चन्दा देलान् त ? चन्दा नमागी सरस्वती पूजा गर्नै नसकिने हो र ? पक्का सकिन्छ । अनि फेरि किन चन्दा उठाउनु परेको त प्रश्न उठ्न सक्छ । हो, हामी तडक भडकमा लागेका छौं । देखासिकी गर्नु छ हामीलाई । अरुको देखासिकीका लागि पनि हामीले पूजा चाँही भव्य गर्नु छ । भव्य पूजा आयोजना गर्न सिमित बजेटले नपुग्ने भएकाले हामीले जवरजस्ती चन्दा संकलन गर्नु परेको हो । सहजै पैसा नउठ्ने भएपछि वाटामा डोरी टाँगेर पैसा माग्नुको विकल्प पनि त छैन नि ।

विद्यालयमा कार्यरत हामी शिक्षकले पनि विद्यार्थीलाई यस्तो क्रियाकलावमा सम्लग्न हुन दिनु कत्तिको उचित हुन्छ सवैले मनन् गर्न जरुरी छ । हामी वरपर हिनडुल गर्दा देखिरहेका हुन्छौं । हाम्रो विद्यार्थी वाटामा वटुवासंग सरस्वतीको नाममा पैसा उठाइरहेका हुन्छन् । के यसले तत्काल असर परेको नदेखिएपनि कालान्तरमा असर नपुर्याउला भन्न चाँही सकिन्न । तसर्थ हामीले विद्यार्थीलाई नैतिक शिक्षासंगै आचरण र व्यवहार सुधार्नपनि लगाउनुपर्छ । वरु उनीहरुलाई बचत गर्ने वानीको विकास गर्न सिकायौ भने वचत गरेको केही रकम मध्ये सानो अंशले पनि सरस्वतीको पूजाका लागि रकम आफैं विद्यार्थीले जुटाउन सक्छन् । सरस्वतीको पूजा विद्यार्थीले मात्र गर्ने नभई शिक्षकले पनि गर्ने भएकाले विद्यार्थीले नै आयोजना गरेको पूजा छ भने पनि शिक्षकले नेतृत्वदायी भूमिका निर्वाह गरेर उनीहरुलाई हौसला प्रदान गर्नुपर्छ । यसो गर्न सके हरेक वर्ष विद्यालयमा आयोजना गरिने सरस्वती पूजाले अर्थ राख्छ । अहिले त विद्यालयमा मात्र होइन प्रत्येक टोल टोलमा सरस्वती पूजाको आयोजना गरिएको हुन्छ । जहाँ जसले जसरी सरस्वती पूजाको आयोजना गरेपनि तडक भडक रहित पूजा गर्न सिकौं सबैलाई श्रीपञ्चमीको हार्दिक मंगलमय शुभकामना ।

लेखक : गौरीशंकर माविकी शिक्षक हुन् ।

                                                       [email protected]

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com