यो पाराले देश बन्ला ?

नरेन्द्र ढकाल

राजनीति भन्ने वित्तिकै समाज सेवा र देशको निति निर्माण र समृद्धिसंग जोडिन पुग्छ तर पछिल्ले समय राजनीति उल्फाधनको रुपमा विनालगानी, विनापरिश्रम प्राप्त हुने मोटो रकमले स्थानीय युवा कार्यकर्ताहरुलाई छोटे राजाको रुपमा दादागिरि गर्ने हैसियत प्राप्त लगायतका कामहरु मात्र भएको पाइएको छ ।

मानिस जति शिक्षित र सभ्य बन्दै गयो उसको ब्यवहार भने अझ–अझ गिर्दै गएको आभास हुन थालेको छ । राजनीति गर्ने ब्यक्ति यस्तो हुनुपर्छ यसलाई समाजले स्वीकार गर्न सकोस तर यहाँ समाजभन्दा पार्टी र आफ्नो हैसियतले स्वीकार गरेमा उस समाजमा नेता भइ टोबल्नेहरु धेरै रहेका छन् । अनावृष्टि, बेरोजगारी र महँगीले पिल्सिएका जनता आशामुखी अनुहारले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई हेरी रहेका छन् । तर उनीहरुले जनतासामु जुन बाचा र विश्वास गरेका थिए त्यो क्रमश भुल्दै गएको पाउन थालिएको छ ।

निकै कर्मठ र प्रगतिशील छु भनेर गुड्डी हाँक्ने जनप्रतिनिधिहरुले ल्याउने बजेटमा के–कस्ता राहत र सहयोगका प्याकेज चैं आउलान् त भन्ने उत्सुकता र अनुमानहरु विपन्न जनताका आँखासामु सल्बलाई रहेका छन् । त्यसमाथि सरकारका तर्फबाट दिइदै आएका आश्वासन पत्याउने हो भने जनताले जीवन धान्ने न्यूनतम आवश्यकताका विभिन्न सहकारी सस्ता पसल सस्तो बजार ग्यास पानीजस्ता प्याकेजहरुमा सरकारी राहत सहयोग पाउनु पर्ने हो ।

तर यहाँ जनताको चिन्ता भन्दा पनि नेताहरुको चिन्ताको विषयले बढी प्रथमिकता पाएको पाइन्छ । स्थानी, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेको छ भने राष्ट्रिय सभाको निर्वाचनका लागी तयारी पनि तिब्र गतिमा भइरहेको छ । स्वच्छ छवीका जनप्रतिनिधि आएर देशले फड्को मार्ला कि भन्ने आशाहरुमा बिस्तारै तुसारो पर्न थालेको छ । कोही ज्यान मुद्धामा फरार त कोही किर्ते भन्दै, कोही चेलीबेटी बेचबिखनको अभियोगमा फरार रहेका छन् । यो विलकुल सहि र न्यायसंगत भएन् ।

जनादेश प्राप्त जनप्रतिनिधि कहिले आफ्नो पालो आउने हो भन्ने पर्खाइमा रहेका छन् भने निर्वाचनको बेला जनताले जनादेश नै नपाएकाहरु कुर्सीमा लिसो टाँसिए झैं टाँसिइरहेका छन् । राज्यको सम्पत्तिमा यीनिहरुको रज्जाई भइरहेको छ । भनाई नै छ –बाघको छालामा स्यालको रज्जाँई हो वर्तमान सरकारले त्यहि नै गरिरहेको छ । यो काम तत्काल बन्द गरेर जनादेश प्राप्त जनप्रतिनिधिको बाटो खुल्ला गर्नु नै अहिलेका लागी उत्तम समय हो ।

ग्रामीण क्षेत्रमा बेरोजगारी र गरिबीमा रहेका लाखौं युवालाई स्थानीय तहमै हुने उद्योग व्यवसाय र उत्पादनमूलक कार्यक्रमको विकास गर्नु अहिलेको प्रथम आवश्यकता हो । तर संचारमाध्यम र विभिन्न आलोचक पर्यवेक्षकहरुले पनि यस विषयमा पार्याप्त सुझाव, सल्लाह र आलोचना गर्दा पनि सरकार वास्ता नगरी आफ्नो हात जगन्नाथको मनस्थितिमा रहेको देखिन्छ । देशको संविधान र कानूनी व्यवस्थाले नै जिल्ला भित्रको विकास बजेट र योजनाको व्यावस्थापनमा स्थानीय निकाय पर्याप्त भूमिका रहेको अवस्थामा नीतिगत दायरामा नपर्ने जस्केलाबाट राजस्वको ढुकुटीमा लामो हात गर्ने र करोडौं रुपैयाँको निकासा लिएर आफूखुशी कार्यकर्तामार्फत खर्च गर्ने कार्यलाई कुनै कोणबाट पनि जायज मान्ने अवस्था रहदैन ।

केन्द्रमा जुनकाम गरिन्छ सोही कुरालाई स्थानीय तहका नेताहरुले पनि सिको गर्ने गरेको पाइएको छ । अधिकांश स्थानमा स्थानीय निकायका जनप्रतिनिधिहरुले आफुखुशी काम गर्न थालेको भन्दै ब्यापक असन्तुष्टि बढ्न थालेको छ । कुनै दलको तर्फबाट टिकट पाएर निर्वाचित भएपनि अब दलगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय स्वार्थको विषयमा सोच्ने बानीको विकास गर्न जरुरी रहेको छ ।

खाडी मूलूकको ४७ डिग्रीको गर्मीमा गधा, खच्चरको गोठालो लागेर होस् या विभिन्न मुलूकमा घरेलु कामदारको रुपमा आफ्नो अस्मिता र अस्तित्वमाथि जोखिम मोलेर नेपाली कामदारले पठाएको रेमिट्यान्सलाई स्वदेशकै जनप्रतिनिधिको दर्जामा रहेका अभिभावकले हदैसम्म दुरुपयोग गरिँदिँदा विदेसिएका नेपालीको मन के होला ? जनताको रगत पसिनाबाट उठेको राजश्वलाई राष्ट्रिय आय र स्वदेशमै रोजगारी बृद्धि हुने कार्यक्रममा लगाउनुसट्टा देशको विधायिकामा प्रतिनिधित्व गर्ने टाठाबाठाहरुले आफूखुशी खर्च गर्ने बाटो समात्नु जनताको घोर अपमान हो भन्नेमा दुविधा रहँदैन । नयाँ आएको गणतन्त्रमा पनि बुथ कब्जा गर्ने र मसल राजनीतिका लागि चुल्ठे, मुन्द्रे, कुण्डले, मण्डलेजस्ता भिजिलान्तेहरुको .के–कसरी जोगाड गर्दैछ नेतृत्व वर्गले भन्ने सहज अनुमान गर्न गाह्रो छैन ।

यस्तै अवस्थाबाटै देश अघि बढ्ने हो भने गणतन्त्र नेपालको भावी अनुहार कस्तो बन्दै जाने हो भन्ने अहिल्यै अनुमान गर्न गाह्रो छैन । भविष्यका कर्णधार र भावी देश निर्माताको रुपमा रहेका युवालाई यसरी भ्रष्टिकरण गर्नु सर्वथा अनुचित हो भन्नेमा कुनै द्वीविधा रहँदैन । देशको ढुकुटी सुमर्ने र डाडुपन्यू सुम्ठिने ठुलाठालू ज्यूहरुमा चेतना हुन जरुरी छ । राजनीति कुनै त्यस्तो खेल होइन जो देश विकास र जनतालाई गरिब र बेरोजगार बनाउन खेलिने खेल हो । त्यसैले नवनिर्वाचित जनप्रतिनिधिहरुले बेलैमा सोचन जरुरी छ । जनता समान हुन उनीहरुको योग्यता र दक्षता अनुसार अवसर प्रदान गरिनु पर्छ केवल आफ्न्त भर्तीकेन्द्र बननोस् । र राजनीति सबै जनताको पथप्रर्दशकको रुपमा अगाडी लम्कियोस् । शुभकामना ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com