नगदेबालीमा भारतको अङकुश

अदुवा,अलैंची र कुच्चोको मुल्यमा भारी गिरावट, चियाले पायो अन्तराष्ट्रिय लोगो

(नरेन्द्र ढकाल)
बिर्तामोड ।
पूर्वका झापासहित पहाडी जिल्लामा उत्पादन हुदैं आएको नगदेबालीमा भारतले विभिन्न बहाना बनाएर अवरोध सिर्जना गर्न थालेसंगै किसानको आयस्रोतमा पनि कमी आएको छ । भारतसंगको परनिर्भरताका कारण भारतले विभिन्न बहाना बनाउने गरेको किसानहरुले बताएका छन् ।

पछिल्लो समय भारतले नेपालमा उत्पादन भएको अदुवा निकासीमा रोक लगाएको छ । त्यस्तै प्रमुख नगदेबालीको रुपमा रहेको अलैंचीका समेत विभिन्न बहाना बनाएर अवरोध गरेका कारण अदुवा र अलैंचीको मुल्यमा भारी गिरमवट आएको छ । केही वर्ष अघिसम्म प्रतिमन चार हजार रुपैंयासम्म बिक्रि भएको अदुवा अहिले बारीमा नै रहेको इलाम रोङ गाँउपालिकाका किसान डम्बर राईले बताए । उनका अनुसार केही वर्ष अघिसम्म अदुवाका साथै अलैंची पनि प्रतिमन एक लाख १० हजार रुपैंयासम्ममा विक्रि हुने गरेको थियो । तर पछिल्लो समय अलैंचीको मुल्य ३० हजार तथा अदुवा प्रतिमन ४ सय रुपैंयामा पनि बिक्रि हुन मुस्किल परेको छ ।

विभिन्न बहना बनाएर भारतले अवरोध सिर्जना गरेका कारण पूर्वी पहाडी जिल्लाका किसानहरु मरमा परेका छन् । उनीहरुको वार्षिक आयमा समेत प्रत्यक्ष असर पर्न थालेको रोङ गाँउपालिका–१ का वडाध्यक्ष वुद्धिबहादुर ढकालले जानकारी दिएका छन् । वडाध्यक्ष ढकालले भने–प्रमुख नगदेबालीका रुपमा रहेका अदुवा र अलैंचीको मुल्यमा भारी गिरावट आउनुका सार्थ बिक्नै मुस्किल परेकाले किसानहरु समस्यामा परेका छन् ।

झापासहित इलाम,पाँचथर, ताप्लेजुङ लगायतका किसानको प्रमुख आयस्रोतको रुपमा रहेको नगदेबाली नै बिक्रि हुन छाडेपछि किसानहरु ीवदेश पलायन हुने क्रम बढ्न थालेको पाइएको छ । गाँउका अधिकांश किसानहरु प्छिल्लो समउ विभिन्न खाडी मुलुकहरु प्रस्थान गर्ने क्रम बढ्दै गएको ढकालले बताए । अदुवा र अलैंचीमा किसानहरुले अपेक्षा अनुसार मूल्य नपाइरहेका बेला चियाले भने उत्पादनको डेढसय वर्षका साथै अन्तर्राष्ट्रिय बजारमा ‘उच्च गुणस्तर’का रूपमा ख्याती कमाएको लामो समयपछि सरकारले नेपाली अर्गानिक अर्थाेडक्स चियाको लोगोसम्बन्धी निर्देशिका जारी गरेको छ । कृषि मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा चियाको लोगो प्रयोगका लागि ‘नेपाली अर्थाेडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ जारी गरेको हो ।

नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि आवश्यक ठहर भएपनि व्यवसायीबीचकै टकरावले लामो समयसम्म नेपाली चियाले लोगो पाउन सकेको थिएन । चिया उद्योगीको संस्था हिमालयन अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएसन (होट्पा)ले ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ लेखिएको लोगो तयार गरेर चिया तथा कफी विकास बोर्डमा पेश गरेको थियो । लोगो बनेर जारी भएपनि निर्देशिका अभावमा थन्किएको थियो । होट्पाका प्रमुख कार्यकारी अधिकृत तथा चियाविज्ञ चन्द्रभूषण सुब्बाले भने, ‘बोर्डकै स्वामित्वमा रहने यो लोगो सबै चिया उत्पादकका लागि अनिवार्य चाहिँ होइन । तर, जसले नेपाली चियाको लोगो प्रयोग गर्छ, उसले निर्देशिका अक्षरशः पालना गर्नुपर्छ ।’

नेपाली चियाको लोगो बोर्डमा आबद्ध अन्तिम उत्पादकले प्रयोग गर्न पाउने छन् । प्याकेजर वा उत्पादकले चियामा तोकिएको गुणस्तर पुगेपछि बोर्डमा निवदेन दिनुपर्ने र बोर्डले आवश्यक परे स्थलगत अवलोकनसमेत गरेपछि मात्रै लोगो प्रयोग गर्न दिने व्यवस्था निर्देशिकामा उल्लेख छ । चियाविज्ञ सुब्बाले चियाको लोगो कार्यान्वयन निर्देशिका तयार गर्दा मुख्य ४ पक्षमा ध्यान दिएको बताए । निर्देशिकाले हरियोपत्ती उत्पादक, संकलन र ढुवानीकर्ता, प्रशोधनकर्ता, प्याकेजर, वितरकलगायत सामाजिक र वातावरणीय रूपमा सबैले पालना गर्नुपर्ने आचारसंहितासमेत व्यवस्था गरेको छ । उत्पादकले चियाको असर कृषि अभ्यास गर्नुपर्ने, आन्तरिक नियन्त्रणप्रणाली लागू गर्नुपर्नेलगायतका व्यवस्था गरेको छ । पत्ती ढुवानीकर्ताले अन्य वस्तुसँग हरियोपत्ती भण्डारण गर्न नहुने, प्रदूषणमुक्त वातावरणमा मात्रै भण्डारण गर्नुपर्नेजस्ता व्यवस्था पनि यसमा छन् ।

अन्तर्राष्ट्रिय बजारमा नेपालको पहाडी क्षेत्रमा उत्पादन भएको अर्गानिक अर्थाेडक्स चियाको बजार सम्भावना उच्च भएपनि पहिचान भने थिएन । व्यवसायी तथा किसानले उत्पादन गरेको उच्च गुणस्तरको तयारी चिया सोझै तेस्रो मुलुकसम्म पुग्ने गरेको थियो । लोगो कार्यान्वयनमा आएपछि भने नेपालको चियाले विश्वबजारमा पहिचान पाउने चिया व्यवसायीको भनाइ छ । उनले नेपालको अर्गानिक प्रमाणीकरण भएको चिया बेच्न किसान र उद्यमीले बजार खोज्दै भौंतारिनु नपर्ने बताए । चिया उद्योगी तथा होट्पाका अगुवा उदय चापागाईंले लामो समयपछि सरकारीस्तरबाटै अर्गानिक चियाको लोगो जारी हुनु र निर्देशिकामा मन्त्रीले हस्ताक्षर गर्नु उद्यमीका लागि सुखद् भएको बताए ।

चिया किसानसमेत नेपाली चियाले लोगो पाउने भएपछि खुसी छन् । किसानहरुले इलाममा उत्पादन भएको चियाले अब अन्तराष्ट्रिय स्तरमा बजार पाउनका साथै मुल्यमा समेत वृद्धि हुने अपेक्षा ब्यक्त गरेका छन् । अधिकाशं किसानहरुले अब भारतसंगको ब्यपार नितिलाई परिर्वतन गरिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले प्रमुख नगदेबालीको मुख्य बजार भरत रहेकाले भारतले आफुखुसी निर्णय गर्दा किसानहरु बरम्बार मारमा पर्ने गरेकाले अब चिया जस्तै अदुवा र अलैंचीलाई समेत अन्र्तराष्ट्रिय स्तरसम्म पु¥याउन पहल थाल्नु पर्ने बताएका छन् । इलाम क्षेत्र नम्बर–१ बट प्रतिनिधि सभासदस्य बनेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा इलाम–२ बाट प्रतिनिधि समासदस्य रहेका सुवासचन्द्र नेम्वाङले अब इलामका किसानको समस्या समाधानमा ठोस पहल गर्नुपर्ने बताएका छन् ।

प्रमुख नगदेबाली चिया, अदुवा, अलैंची र कुच्चोको आयस्रोतमा आफ्नो दैनिकी गुजारा गराईरहेका किसानहरु उक्त वस्तुको मुल्यमा आएको भारी गिरावटका कारण समस्यामा पर्दै गएका छन् । कुनै समय कामले भ्याइनभ्याई हुने गरेका किसानहरु अहिले भने के गर्ने भनेर अलमलिएर दिन काट्न बाध्य हुनुपरेको गुनासो गरेका छन् ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com