Aamsanchar

स्वराज भ्रमणले हल्लिएको मेरो देश !

Author Image
मङ्गलवार, माघ २३, २०७४

नरेन्द्र ढकाल

नेपालको समृद्धि र विकासको चाहना पूरा हुने सपना बोकेका नेपाली जब तीनछक्क परे एउटी स्वराजको आगमनले शंकै–शंका पैदा भयो । वाह ! मेरो देश र देशको नेतृत्व गर्ने नेताहरुको हविगत । हो, भारत हामीभन्दा ठूलो होला, हामीभन्दा समृद्ध होला तर यो कुरा हेक्का राख्न आवश्यक छ । हामी नेपाली भारतको उपनिवेस वा छोटेभाइ तथा बडेभाइ होइन । नेपाल एक सार्वभौम सम्पन्न राष्ट्र हो । त्यसैले यहाँ कसैको दादागिरी चल्नुहुन्न ।

राणा शासन, पञ्चायत, राजतन्त्र जस्ता व्यवस्था पार गरेर देशलाई गणतन्त्रतर्फ लैजादै नेपाल र नेपालीको चाहना बमोजिम नेपाली जनताले संविधान निर्माण गरे । हाल संविधान कार्यान्वयनको चरणमा रहेको छ । नेपाल पहिलोपटक संघीयताको अभ्यास गर्दैछ । केही जटिलताहरु हुनु स्वभाविकै हो । अरुले बनाएको बाटोमा हिँड्न जति सहज हुन्छ आफैंले बाटो बनाएर हिँड्नु त्यो भन्दा धेरै जटिल र कठिन हुन्छ । परिर्वतनका लागि नेपाली जनाताले गरेको बलिदानलाई कसैले भुल्नुहुन्न, तर अब देश संघीयतामा गयो । अब समृद्ध राष्ट्र बन्छ भन्ने हामी नेपालीको कल्पनामाथि भारतकी एक विदेशमन्त्रीको आगमनले अलमलमा पारेको छ ।

सामान्य कुटनीति समेत पालना नगरेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई नेपालका परिकल्पना कारहरुले देखाएको खोक्रो आर्दशले नेपाल भारतसँग कति झुक्छ भन्ने स्पष्ट छ । पूर्व प्रधानमन्त्री समेत भएका र भावी प्रधानमन्त्रीको दाबेदार रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कुटनीतिक मर्यादालाई चटक्कै भुलेर हतार–हतार होटलमा शरण लिन पुगेको देख्दा भारत प्रतिको लम्पसारवाद छर्लङ्ग भएको छ ।

नेपालका आशाकारुपमा हेरिएका दुई प्रधानमन्त्रीले भारतीय विदेशमन्त्रीलाई दिएको महत्व अनावश्यक भएको छ । काम चलाउ अवस्थामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनलाई विशेष महत्व दिएर नेपालको अवस्थाको बारेमा जानकारी गराउनु भनेको मालिकलाई एक कामदारले आफ्नो कामको फेयरिस्त बुझाउनु जस्तै हो । घरभित्रको झगडा वा राम्रो कुरा छिमेकीलाई सुनाई रहन आवश्यक छैन । हामीले हाम्रो देशको समस्याका बारेमा भारतलाई बुझाउन किन यसरी मरिहत्ते गरेर लागेका हौं भन्ने विषय अब सारा नेपालीले जवाफ माग्नुपर्छ ।

जनताले राजनीतिक क्रान्ति सकिएको भन्दै अब देशको समृद्धि र विकासको अपेक्षा गरिरहेका बेला भारतीय विदेशमन्त्रीको आगमन पश्चात बामएकता अलमलमा पर्नुले कतै हामी बीचको एकताले भारतलाई टाँउको दुखेको होइनन् भन्ने विषयमा अब ओली र दाहालले गम्भीर भएर सोच्न जरुरी रहेको छ ।
भारतप्रति नेपालको परनिर्भरताले गर्दा केही समय नेपाली जनताले अझै दुःख पाउनेमा दुईमत छैन ।

तर, यो दुःख पाउन या नपाउने भन्ने विषय बाम एकतामा अझिएको छ । कतै एकता भाँडियो र भारतको इशारामा दलहरु चले भने नेपालीले केही समय दुःख नपाउलान् । तर, यो दुःख नपाउनु भने क्यान्सर रोग जस्तै हो भारतले जुनसुकै बेला पनि दुःख दिनसक्छ । तर, बाम एकता भएमा तत्काल दुःख पाउने निश्चित छ । त्यो दुःख धेरै दिनका लागी हुन्न तर यसमा बाम गठबन्धनले दृढता देखाएर देशको हितमा निर्णय गर्न आवश्यक छ ।

पछिल्लो समयको राजनीतिक घटनाक्रमलाई नजिकबाट निहालिरहेको भारतले कसरी नेपाली–नेपालीबीच फाटो ल्याउन सकिन्छ भने जोड गरिरहेका बेला एउटा अस्त्र स्वरुप विदेशमन्त्रीलाई नेपाल पठाएको हो । तर, भारतको अस्त्रलाई बुझ्न नसकेका नेपालका अदुरदर्शी नेताहरुको हबिगतले यो प्राप्त उपलब्धि नै गुम्ने त होइन भन्ने आशंका पनि ब्याप्त रहेको छ ।

नेपाललाई तह लगाउन भारतले नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुहरुमा विभिन्न बहाना बनाएर अवरोध सिर्जना गरिहेको छ । साथै भारततर्फ निर्यात हुने जुत्ता, कपाडा तथा जुसमा करको दायरा बढाएर नेपाली उत्पादनलाई भारतमा निषेध गर्ने दाउमा भारत रहेको उसको बजेट भाषणबाटै प्रष्ट भएको छ । यो अवस्थामा अझै नेपालले भारतलाई आफ्नै हितैषी मान्ने र भारतले आफ्नै इशारामा मात्र देशको राजनीति चल्नुपर्ने भन्ने मानसिकतालाई फराकिलो पार्न आवश्यक रहेको छ ।

स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर देश संघीयताको अभ्यासमा अग्रसर भइरहेको बेला एक विदेशमन्त्रीको भ्रमणले तरंगित हुने मेरो देशमा कहिले होला विकास र कहिले यहाँका जनताले शान्ति र समृद्धिको सास फेर्ने हुन् यो भने अनिश्चित जस्तै देखिएको छ । भाइ फुटे गँवार लुटे भने झैं कतै हामी माथि एकअर्कालाई शंकामाथि शंका थोपरेर भारतले आफ्नो प्रमुत्व जमाउने दाउ गरिरहेको त होइन भन्ने विषयमा सबै नेपाली चनाखो हुन जरुरी रहेको छ । नेपाल–भारत सीमा रातारात मिच्ने काम भएरहेका बेला समेत नेपालको प्रशासन बेखबर बन्नु, भारतलाई तत्काल जवाफ माग्न नसक्नुले कतै नेपालको सीमाना मिच्ने प्रश्रय पाइरहेका भारतको मनोबल त वृद्धि भएको होइन ।

अब १९५० को सन्धिलाई पुर्नलेखन गर्न जरुरी रहेको छ । कालापानी, सुस्ता मात्र होइन पशुपतिनगर, झापाका दक्षिणी क्षेत्रका केही स्थानमा समेत भारतले सीमा अतिक्रमण गरिरहेको छ । यो विषयमा अब सबै नेपाली एक भएर भारत ज्यादतीविरुद्ध एक भएर लाग्न आवश्यक रहेको छ । तर, यसमा सबैभन्दा पहिला नेता र नेतृत्व गर्नेहरु सच्चिन आवश्यक रहेको छ । देशको समृद्धि, विकास र राष्ट्रियताको हकमा आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्न जरुरी रहेको छ । एक विदेशमन्त्रीसँग तर्सिनुपर्ने अवस्थाको अन्त्य गर्दै देशको विकासतर्फ लम्किन जरुरी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर