Aamsanchar

आइतबारदेखि सबै मन्त्रालय सञ्चालनमा आउने

Author Image
शनिवार, माघ २७, २०७४

पोखरा, 

प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । सो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना भइसकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार केही मन्त्रालयमा सचिवले जिम्मेवारी सम्हालिसक्नुभएको छ भने आर्थिक मामिला मन्त्रालयका सचिव विष्णुराज ढकाल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव भरतप्रसाद अर्याल र सामाजिक विकास मन्त्रालयका सचिव कृष्णमुरारी न्यौपानेले आइतबार जिम्मेवारी सम्हाल्नुहुनेछ ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रुपमा लक्ष्मण अर्यालसहित सचिवद्वय लालमणि ओझा र धर्मराज कुइँकेलले जिम्मेवारी सम्हालिसक्नुभएको छ भने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवमा फणीन्द्रमणि पोखरेल र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवमा डा बुद्धिसागर पौडेलले जिम्मेवारी सम्हाल्नुभएको छ ।

मन्त्रालयमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा आन्तरिक मामिला र आर्थिक मामिला मन्त्रालय सीप विकास केन्द्रको नवनिर्मित भवनमा स्थापित भएका छन् भने उद्योग, पर्यटन र वन मन्त्रालय क्षेत्रीय वन निर्देशनालयको भवनमा, भौतिक पूर्वाधार मन्त्रालय शहरी विकास डिभिजन कार्यालयको भवनमा र सामाजिक विकास मन्त्रालय क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर