Aamsanchar

‘पूर्वसांसदको भूमिका महत्वपूर्ण’

Author Image
सोमवार, माघ २९, २०७४

काठमाडौँ,

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक स्थायित्वका लागि पूर्वसांसदको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो ।

पूर्वसांसद मञ्चले आज यहाँ आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै राष्ट्रपतिले पूर्वसांसदको व्यावसायिक क्षमता, अनुभव र योगदानको कदर हुने विश्वास आफूले लिएको बताउनुभयो । राष्ट्रपति भण्डारीले मुलुकमा राजनीतिक संक्रमणको अन्त्य भएकाले देश र जनताप्रति जनप्रतिनिधि उत्तरदायी हुन्छन् भन्ने विश्वास व्यक्त गर्नुभयो । अर्काे प्रसङ्गमा उहाँले उच्च आर्थिक वृद्धिदर, सामाजिक न्याय, विधिको शासनले मात्र लोकतन्त्र संस्थागत हुने बताउनुभयो ।

कार्यक्रममा कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले आधारभूत मानव अधिकार, प्रेस स्वतन्त्रता, कानून र विधिको शासन संसदीय व्यस्थाको गहना भएको बताउनुभयो ।
पूर्वसभामुख तारानाथ रानाभाटले पूर्वसांसदको कार्यानुभव र सल्लाहलाई सरकारले कदर गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै जनप्रतिनिधिले संसदीय व्यवस्थालाई मर्यादित र रचनात्मक बनाउन इतिहासबाट पाठ सिक्नुपर्ने बताउनुभयो । मञ्चका अध्यक्ष एवं पूर्वसांसद ओमकारप्रसाद श्रेष्ठले पूर्वसांसदले मुलुकमा प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

नेपालमा २००७ मा संसदीय व्यवस्थाको स्थापना भए पनि त्यसको आठ वर्षपछि विसं २०१५ फागुन ७ गते पहिलो पटक संसदीय निर्वाचन भएको थियो । पूर्वसांसद मञ्चमा ४४० आजीवन सदस्य र झण्डै एक हजार ४०० साधारण सदस्य छन् । प्रतिनिधिसभा निर्वाचनमा मञ्चका सदस्य लालबाबु पण्डित, कृष्णप्रसाद दाहाल र रामेश्वर राय यादव निर्वाचित हुनुभएको छ । शान्ति, स्थिरता, लोकतन्त्र, सुशासन र समृद्धिको मूल मन्त्र भन्ने अभियानका साथ शुरु भएको दुईदिने भेलामा विभिन्न जिल्लाका पूर्वसांसदको उपस्थिति छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर