Aamsanchar

वीरता जेसीजको नयाँ कार्यसमितिले पदभार ग्रहण गर्यो ।

Author Image
सोमवार, माघ २९, २०७४

बिर्तामोड, माघ २९। सन् २०१८का लागि वीरता जेसीजका अध्यक्ष एकराज गिरीले सोमबार पदभार ग्रहण गरेका छन् ।
बिर्तामोडमा भएको ३७औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहकाबीच अध्यक्ष गिरीले पदभार ग्रहण गरेका हुन् । सन् २०१७का अध्यक्ष सञ्जु भारतीको गलामा रहेको जेसीज चेन पूर्व अध्यक्षहरुले सन् २०१८का अध्यक्ष गिरीलाई पहि¥याएर पदभार हस्तान्तरण गरेका हुन् । त्यसक्रममा सन् २०१७का अध्यक्ष भारतीले सन् २०१८का अध्यक्ष गिरीलाई शपथ समेत गराएका थिए ।

सन् २००४बाट जेसीजमा प्रवेश गरेका अध्यक्ष गिरीले आफ्नो मन्तव्यको क्रममा जेसीजलाई व्यक्तित्व र नेतृत्व विकास गर्ने विद्यालयको रुपमा विकास गर्दै सदस्यहरुमा सामाजिक र मानवीय सेवाभाव जागृत गराउने बताए । उनले सबैको साथ पाए वीरता जेसीजलाई उत्कृष्ट बनाउने समेत प्रतिबद्धता जनाए । आकर्षक लाग्ने समारोहकाबीच बुद्धस्मृति एजुकेशन फाउण्डेशनका पञ्चकन्या र नौमती बाजासहित स्कटिङ गरेर अध्यक्ष गिरीसहित प्रथम महिला सुजाता आचार्य गिरीलाई मञ्चमा पु¥याइएको थियो ।

वीरता जेसीजका पूर्वअध्यक्ष प्रशान्त भण्डारीले अध्यक्ष गिरीसहित नयाँ कार्य समितिको नाम घोषणा गर्दै अग्रज पत्रकार लक्ष्मण ढकालले तयार पारेको अध्यक्ष गिरीको व्यक्तित्वको परिचय प्रस्तुत गरेका थिए ।समारोहका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, भद्रपुर जेसीजका अध्यक्ष प्रकाश भण्डारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

समारोहमा दमयन्ता रिमाल उत्कृष्ट जेसीज पुरस्कार नगदसहित सन् २०१७का महासचिव जीवनकुमार खड्कालाई पुरस्कार संस्थापक परिवारको तर्फबाट यादव रिमालले प्रदान गरेका थिए । सन् २०१७का अध्यक्ष भारतीले आफ्नो कार्यकालमा सहयोग पु¥याउने कार्य समिति, संयोजकहरु तथा संघ–संस्थाका प्रतिनिधिलाई मायाको चिनो प्रदान गरेका थिए ।
सन् २०१८का अध्यक्ष गिरीले विभिन्न पदमा मनोनित गरी कार्य समितिलाई पूर्णता दिँदै पद तथा गोपनीयताको शपथ गराएका छन् । कार्यसमितिको कानूनी सल्लाहकारमा दिवाकरलाल चौधरी, महासचिवमा बिनोद पाण्डे कमल, कोषाध्यक्षमा जीवनकुमार खड्का, प्रकरण निर्देशकमा विशाल थापा, सह–कोषाध्यक्षमा घनश्याम चौधरीलाई मनोनित गरेका छन् ।
त्यस्तै अन्तरशाखा संयोजक प्रवीण खड्का, अवार्ड संयोजक प्रकाश सुवेदी, शिक्षा संयोजक राजीव धिमाल, मातृशाखा संयोजक दिवाकर प्रसाईं, शाखा सम्पादक तुलसीप्रसाद निरौला, रक्तदान संयोजक ओमप्रकाश लुइँटेल, प्रविधि संयोजक सुमन ढकाल, सञ्चार संयोजक सन्तोष अधिकारी, कार्यक्रम व्यवस्थापन संयोजक यम बिमली रहेका छन् ।

त्यस्तै सम्बन्ध विकास संयोजक किरण थापा, वातावरण संयोजक वीरबहादुर दर्नाल, स्वागत संयोजक रमेश चौधरी, जनचेतना संयोजक दीपक साफी, स्वयम्सेवक संयोजक दीपेन चौधरी, अतिरिक्त क्रियाकलाप संयोजक राजु सापकोटा, विपद् जनचेतना संयोजक नवराज भारती, अर्थ संयोजक धनलाल राजवंशी, दुर्घटना न्यूनीकरण संयोजक कमल श्रेष्ठ, नेपाल जेसीज संयोजक राकेश साह, सांस्कृतिक कार्यक्रम संयोजक सुनील थापा, संघ–संस्था समन्वय संयोजक सन्तोष उप्रेती रहेका छन् ।
त्यसैगरी अन्तर्राष्ट्रिय संयोजक किशोर बस्नेत, खेलकुद संयोजक योगेश गिरी, कोषबृद्धि संयोजक सुमन पौडेल, स्वास्थ्य संयोजक नवीन सिटौला, युवा संयोजक टहलदास ओली, ज्येष्ठ नागरिक सेवा समन्वय संयोजक रोनित राजवंशी, बालबालिका तथा महिला संयोजक पुकार बराल, साहित्य संयोजक आशिमज्वयल श्रेष्ठ रहेका छन् ।

यसअघि निर्वाचन प्रक्रियाबाट कार्यकारी उपाध्यक्षमा मिजास पोखरेल र मिकी कार्की, संयुक्त सचिवमा प्रवेश बस्नेत, उपाध्यक्षहरुमा सञ्जीव घिमिरे, युवराज कुँवर, पवन न्यौपाने र अशोक चौधरी, जनसम्पर्क अधिकारीमा कुशल खतिवडा र तालिम संयोजकमा विकास बस्नेत सर्वसम्मत चयन भइसकेका छन् । कार्यक्रममा सोहिल पाण्डेले गीत प्रस्तुत गरेका थिए भने ग्ल्यामरस नेपालको आयोजनामा फेशन शो कार्यक्रम भएको थियो । कोरियाग्राफर लक्ष्मण ज्वयल श्रेष्ठको कोरियोग्राफीमा मोडलहरुले फेशन शो प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक प्रकाश सुवेदीले स्वागत गरेको कार्यक्रममा कानूनी सल्लाहकार मिजास पोखरेलले आस्था वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सन् २०१७का महासचिव खड्का र २०१८का महासचिव पाण्डेले संयुक्त रुपमा गरेका थिए ।
को हुन् एकराज गिरी ?
पूर्वी नेपालको झापा जिल्लाको प्रशिद्ध तीर्थस्थल कोटीहोम नजिकै कन्काई नगरपालिका–१स्थित प्रजापतिमा आमा देवकुमारी र बुबा मानबहादुरका माइला छोराका रुपमा वि.स. २०३८ असोज १८ गते जन्मिएर ग्रामीण जीवनका भोगाइहरु छिचोल्दै यहाँसम्म आउनु चुनौतिपूर्ण परिवेश हो । सामान्य कृषक परिवारमा जन्मिएको बालकको लालनपालन, उचित शिक्षा–दीक्षा र सेवासुविधा अझै पनि दुष्कर जस्तै रहेको छ ।
ती आमा–बुबा धन्य छन् जसले मध्यम वर्गीय परिवारको आवश्यकताहरु पूरा गर्दै आफ्ना सन्तानलाई समयोचित शिक्षा दिँदै व्यवहारिक, नैतिक र आदर्श चरित्रको निर्माणको मार्ग दर्शन गर्छन् । सन्तानलाई सर्वस्व ठान्ने पूर्वीय संस्कृतिमा तिनकै लागि आफ्नो सुखशयल, इच्छा, आकांक्षा, सपना र स्वार्थलाई तिलाञ्जलि दिएर सन्तानप्रतिको अपेक्षा पूर्ण भएको हेर्न पाउनु आमाबुबाको सबैभन्दा ठूलो उपलब्धी मानिन्छ ।

दाजु बेदनाथ, दिदी तुलसाको औंलो समाएर घरबाट झण्डै तीन किलोमिटर पैदल हिँडेर दुर्गापुरस्थित हालको भृकुटी माध्यमिक विद्यालयमा पढ्नका लागि धाउनु बालकका लागि सहज हुँदैन । आजको जस्तो शिक्षा शुलभ थिएन त्यस क्षेत्रमा, नजिकै निजी विद्यालयहरु पनि थिएनन् र भृकुटी माविको विकल्प पनि थिएन त्यो परिवारका लागि । उनीपछि जन्मिएका भाइ गायत्रीनाथ समेत दाजुकै पद चिन्हमा हिँड्न थालेपछि सायद उनी स्वयम् जिम्मेवार भए दाजु हुनुको कारणले र निरन्तरको शिक्षा प्राप्त गर्ने लालसाले स्कूलको शिक्षा त्यही विद्यालयले पूरा गरायो– उनलाई ।
एसएलसी उत्तीर्ण गरेपछिको अध्ययनका लागि बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी कलेजमा प्रवेश गरेका उनी त्यही समयदेखि अर्थात् वि.स. २०५४ सालदेखि, पत्रकारिताको यात्रामा लामबद्ध भए । आज पर्यन्त अर्थात् पत्रकारिता क्षेत्रको यात्राले बिराम लिएका छैनन् बरु झन् परिस्कृत, संस्कारित हुँदै गहन जिम्मेवारीसहितको व्यवसायिक नेतृत्व गर्ने सवल र सक्षम नेतृत्वका रुपमा स्थापित हुँदैछन् उनी ।
परिश्रमले मानिसलाई बलियो र पूर्ण बनाउँछ भन्ने भनाइ यिनको जीवन संघर्षले समेत प्रमाणित गरेको छ । सानैदेखिको लगनशील, परिश्रमी र निष्ठापूर्ण संघर्ष र व्यवहारले संघर्षमय जीवनको कठिन यात्रा हिँड्दै गरेका उनी अहिले अर्धाङ्गिनी सुजाताका साथमा छन् र उनका उत्तराधिकारीका रुपमा समृद्धि र सोनिका दुई सन्तान छन् । अध्ययन, दाम्पत्य र पत्रकारिताको जीवनलाई एकसाथ संयोजन गर्दै तीनै क्षेत्रमा माझिँदै, अब्बल हुँदै र नेतृत्व क्षमताको समेत विकास गर्दै स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका उनी हाल पनि उत्तिकै सक्रिय छन् ।

पत्रकारिता विषय लिई कक्षा १२ उत्तीर्ण गरेका उनले यसै क्षेत्रलाई लक्ष्य बनाएर सेवा गर्दै जाँदा मर्निङ पोष्ट धरान, नयाँ सडक दैनिक काठमाडौं, हिमालय टाइम्स दैनिक, मेची ट्युन्स एफएम, सप्तरंगी एफएम र रेडियो सनराइजसँग समेत आवद्ध भइ सञ्चार क्षेत्रका छापा तथा विद्युतीय माध्यममा रहेर सेवा गरे । यी लगायत हिमाल, नेपाल, समय लगायतका पत्रिकाहरु समेत सेवा प्रदान गरेका छन् उनले । उनी हालसम्म संवाददाता हुँदै आफू आवद्ध पूर्वाञ्चल दैनिकको सम्पादकको गहन भूमिका समेत कुशलतापूर्वक निर्वाह गरिरहेका छन् भने रेडियो नेपालको झापा संवाददाताका रुपमा समेत कार्यरत् छन् ।
पत्रकारिताकै माध्यमबाट समाज परिवर्तनका लागि क्रियाशील उनी बहुमुखी प्रतिभा सम्पन्न पात्र हुन् भन्ने उदाहरण उनका विशेषताहरुले देखाएका छन् । बहुदलीय प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा भएका प्रमुख घटनाहरुको अभिलेखीकरण गर्दै सचित्र दस्तावेजहरुको संग्रह जनआन्दोलन–२ उनको प्रतिभाको अर्को पाटो हो । यो बाहेक शिक्षा, वातावरण, सुशासन, स्वास्थ्य एवम् विकास निर्माण क्षेत्रका सूचना, प्रवाह गरेर, सचेतना प्रदान गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेको, उत्कृष्ट योगदान दिएको भन्दै स्थानीयदेखि राष्ट्रिय तहसम्मका पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्– उनले ।
वातावरण तथा जलवायु परिवर्तनका विषयमा उनको गहिरो चासो र चिन्ता छ । वातावरण संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई हरियाली बचाऊ आन्दोलन झापाद्वारा हरितक्रान्ति पुरस्कार २०६६, सामुदायिक वन उपभोक्ता महासंघ झापाद्वारा प्रथम चन्द्रमान वातावरण संरक्षण पत्रकारिता पुरस्कार २०६८, राष्ट्रिय वातावरण पत्रकारिता पुरस्कार २०७० प्रदान गरिएको छ । उनी भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा समेत परिचित छन् । उनलाई ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा भ्रष्टाचारविरुद्धको पुरस्कार सन् २००५, लेखनबृत्ति पुरस्कार २०६८, शिक्षा मन्त्रालयबाट राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०६९, दमयन्ता रिमाल उत्कृष्ट जेसीज पुरस्कार सन् २०१३ लगायतका पुरस्कार प्रदान गरिएको छ ।

यी बाहेक डिभिजन सहकारी कार्यालय झापाबाट उत्कृष्ट पत्रकारिता पुरस्कार ०७३, उत्कृष्ट पत्रकारिता पुरस्कार लक्ष्मी माविबाट–२०७१, बाल सुवोधिनी निमाविबाट उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार–२०७१, लक्ष्मी बहुउद्देश्यीय उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार २०७२, देवीप्रसाद उप्रेती निजानन्द आश्रम पत्रकारिता पुरस्कार २०७२, इडन गार्डेन टीका–रत्न पत्रकारिता पुरस्कार २०७३ लगायतका पुरस्कारहरुले उनको योगदानको मूल्यांकन गरेको छ ।
यी बाहेक उनको सेवा, भूमिका र योगदानको मूल्यांकन गर्दै चन्द्रसूर्य सिप विकास संस्था, सामुदायिक भूमिगत जल सिञ्चाई संस्था–झापा, सिने दर्पण फिल्म प्रालि, क्रियटिभ ग्रुप झापा, निर्माण व्यवसायी संघ झापा, प्रेस युनियन झापा, राउण्ड टेवल अफ जर्नालिष्ट नेपाल, हिमाली निमावि, जिल्ला शिक्षा कार्यालय झापा, रेडियो सनराइज, नेपाल दशनामी समाज झापा लगायतका संघ–संस्थाले पनि सम्मान गरेका छन् ।

त्यसैगरी गोमेन्द्र बहुमुखी महाविद्यालय, बिर्तामोड, सहारा नेपाल लगायतका संस्थाहरुबाट कदरपत्रद्वारा सम्मानित उनी हाल समाजमा शान्ति स्थापनार्थ क्रियाशील संस्था क्षेत्रीय संवाद समूह झापामा पनि आवद्ध छन् । शान्तिका लागि संवादको सहजकर्ता तथा शान्ति निर्माता भनेर राजनीतिक दल, प्रशासन तथा आम झापावासीले चिनेका व्यक्तित्व हुन् उनी । हाल नेपाल रेडक्रस उपशाखा बिर्तामोडका सचिव, राष्ट्रिय उपभोक्ता मञ्च झापाका सहसचिव र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्षका रुपमा फरक संगठनमा ओजपूर्ण उपस्थिति जनाएका छन् उनले । पत्रकारिता, उद्घोषण, असल शासन, वातावरण तथा जलवायु परिवर्तन लगायतका विषयका प्रशिक्षकका रुपमा समेत उनले आफ्नो परिचय बनाएका छन् । उनको जीवन नै समाजसेवा र पत्रकारिता बनेको छ । आदर्श माता पिताको प्रेरणा, गुरुहरुको सही मार्गदर्शन अनि निरन्तरको लगनशीलता नै उनको आजको यो उचाइका सिढीहरु हुन् । थोरै बोल्ने, मिजासिलो स्वभाव र सहयोगी भावनाकै कारण फरक परिचयसहित सवैको मन मस्तिष्कमा छाएका छन् ।

वीरता जेसीजका हरेक अभियान सवैमाझ पुर्याउन उनको भूमिका महत्वपूर्ण छ । जेसीजको गरिमा बढाउन सदैव क्रियाशील मात्र होइन उनको जेसीज आवद्धतापछिका अध्यक्षहरुको कार्यकाल सफल बनाउन उनले निर्वाह गरिरहेको भूमिकाको उच्च प्रशंसा गर्नैपर्छ । वीरता जेसीजमा आजभन्दा पन्ध्र बर्ष अघि सन् २००३मा प्रभावकारी भाषणकला तालिम प्राप्त गरी जेसीज अभियानमा जेसी बिनोद बस्नेतको प्रेरणाले संलग्न भई २००९मा सञ्चार संयोजक, २०१०मा वातावरण संयोजक, ०११मा उपाध्यक्ष, ०१२मा संयुक्त सचिव, ०१३मा महासचिव, ०१४ मा कार्यकारिणी उपाध्यक्ष, ०१५ मा कानूनी सल्लाहकार, ०१६मा कोषाध्यक्ष, ०१७ तािलम संयोजक हुँदै निरन्तर, निष्ठापूर्ण र कर्मशील सेवाले अहिले सन् २०१८को अध्यक्षमा निर्विरोध निर्वाचित हुन सफल भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)