Aamsanchar

देवी गुठीको जग्गामा भू– माफियाको चलखेल,दानवीर डोमालालले प्रदान जग्गा अतिक्रमण

Author Image
बिहिवार, फागुन ३, २०७४

बिर्तामोड।

बिगतमा दाताहरुले विभिन्न प्रयोजनका लागि निःशुल्क प्रदान गरेको जग्गा अतिक्रमण भइरहेको छ ।दान दिएको जग्गाको दुरुपयोग हुँदा समेत जिम्मेवार निकाय मौन बस्दा समाजमा दानशीलताको खडेरी पर्ने खतरा बढेर गएको छ । झापाका विद्यालय तथा धार्मिक मठमन्दिरलाई दाताहरुले तिनीहरुको सञ्चालन तथा व्यवस्थापनका लागि प्रदान गरेको जग्गा अतिक्रमण भइरहँदा त्यसको संरक्षणका लागि कतैबाट ठोस् पहल गरिएको छैन ।

मुलुक संघीय संरचनामा गएसँगै संविधान अनुसार त्यस्ता सामाजिक सम्पदाहरुको संरक्षणको जिम्मा स्थानीय तहलाई गएको छ । यसअघि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जग्गा व्यवस्थापन समितिको व्यवस्था थियो र विद्यालय व्यवस्थापन समिति, मन्दिर व्यवस्थापन समितिमार्फत जग्गा सम्वन्धी विवादको निरुपण गरिँदै आएको थियो । इलाम, तेह्रथुमका सामुदायिक विद्यालय सञ्चालनका लागि दाताहरुले प्रदान गरेको जग्गा मात्र होइन झापाकै बिद्यालय तथा गुठीका जग्गाहरु पनि अहिले अतिक्रमणका कारण समाप्त हुँदैछन् ।

अतिक्रमणको पछिल्लो उदाहरण हो तत्कालीन अनारमनी गाविसमा रहेको देवी गुठीको जग्गा । अनारमनी–५स्थित दानवीर दाता डोमालाल राजवंशीले प्रदान गरेको १२ विगाह जग्गा भू– माफियाले चलखेलका कारण स्वामित्व परिवर्तन गर्दै बिक्री गरिएको छ । अनारमनी–५स्थित देवी गुठीको साविक कित्ता नम्वर १२२, ८२०, ८१२, १२०, ८२२, ८२५ र ८१५ रहेको जग्गा व्यक्तिको नाममा कायम गरिएसँगै सार्वजनिक जग्गा अतिक्रमण भएको र गुठीको सम्पत्ति समाप्त भएको हो ।

झापाकै गौरव मानिएको झापा गोल्डकपको तेस्रो संस्करण यही देवी गुठीको जग्गामा बनाइएको खेल मैदानमा फागुन १९ गतेबाट सञ्चालन हुँदैछ । जग्गादाता डोमालाल राजवंशीको योगदानको सम्मान गर्दै दातालाई जीवन्त राख्न रंगशालाको नामाकरण गरिएको यो ठाउँको जग्गाको श्रेस्ता अहिले न देवी गुठीको नाममा छ, न त डोमालाल राजवंशी रंगशालाको नाममा नै कायम छ । अनारमनीका सचेत तथा युवाहरुको पहलमा हाल खेल मैदान बनाइएको जग्गा संस्थाकै नाममा रहनुपर्ने स्थानीयहरुको माग छ ।

गुठीको जग्गा व्यक्तिको नाममा हडप्ने गिरोहले आर्थिक चलखेल गरी जग्गाको स्वामित्व समेत मिलाएका हुन् । गिरोहमा गुठी संस्थानका पूर्व अधिकारीहरुको समेत संलग्नता भएको स्रोतको दावी छ । देवी गुठीका तत्कालीन अध्यक्ष खेम मैनाली र गणेश ओलीको प्रत्यक्ष संलग्नतामा रातारात गुठीको जग्गा राज गुठी हुँदै व्यक्तिको नाममा ल्याइएको बताइएको छ ।

स्थानीय डोमालाल राजवंशीले जोतभोग गर्दै आएको उक्त जग्गा २०२१ सालमा बिर्ताबजारमा रहेको देवी मन्दिर र शिवालयको संरक्षण र सञ्चालनका लागि गुठीलाई हस्तान्तरण गरिएको थियो । यसरी गुठीको नाममा आएको जग्गा २०५४ सालमा राजगुठीको नाममा ल्याइएको थियो । राजगुठीको नाममा कायम भएको जग्गाबाट काठमाडौं निवासी रमेश महर्जन र टीकादेवी बिमलीको नाममा श्रेस्ता कायम गरिएको छ । अहिले सो जग्गाको एउटा श्रेस्ता देवीगुठीको नाममा कायम छ भने अर्काे श्रेस्ता रमेश महर्जन र टीकादेवी बिमलीको नाममा कायम रहेको बताइन्छ ।

काठमाडौंका मर्हजनले झापा नै नआई आफ्नो नाममा मोहियानी हक कायम गरेका थिए । त्यस्तै बिमलीले उपल्लो स्तरबाट पहँुच पु¥याएर जग्गा हडपेको बताइन्छ । गुठीको जग्गा आफ्नो नाममा सार्न महर्जनले जग्गा नै नदेखी आफ्नो नाममा मोहियानी हक कायम गर्न सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । बिमली र महर्जनले गुठी संस्थानलाई विपक्षी बनाई दायर गरेको मुद्दामा सर्वोच्च अदालतले समेत गुठीको जग्गा व्यक्तिको नाममा कायम हुने फैसला गरेको थियो । यही फैसला बोकेर जग्गा कायम गर्न आएका महर्जन र बिमलीलाई स्थानीयले लखेटेका थिए ।

स्थानीयले त्यसपछि जग्गाको स्वामित्व खोज्दा रातारात व्यक्तिको नाममा धनीपूर्जा आएको थाहा पाएका थिए । यसरी व्यक्तिको नाममा धनीपूर्जा आएपछि जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरुको समेत संलग्नता रहेको खुलेको थियो । उक्त कार्यमा जिल्लामा क्रियाशील राजनीतिक नेतृत्वको समेत मिलेमतो भएको स्थानीयले आरोप लगाएका छन् ।

यसरी गुठीको जग्गा व्यक्तिको नाममा आएपछि राजनीतिक दलकै अगुवाईमा संघर्ष समिति समेत बनाइएको थियो । तर, यसले पनि गति लिन सकेन । जग्गा भोग्न नसकेपछि महर्जन र बिमलीले फैसला कार्यान्वयन गर्न पटक–पटक दवाव दिँदै आएका थिए । स्थानीय वासिन्दाले लखेटेपछि २०६६ साल फागुन ०९ गते सर्वोच्च अदालतले गरेको फैसला अनुसार जग्गा अझै पनि उनीहरुले भोग्न भने पाएका छैनन् । व्यक्तिले हडपेको देवीगुठीको जग्गा अहिले पनि आम चासोको विषय बनेको छ । तर, यस विषयमा अहिले केही पुराना जानकारहरु बोल्न रुचाउँदैनन् ।

गुठीको नामको हालको डोमालाल राजवंशी रंगशाला बनाइएको जग्गा २०५२÷०५३ सालदेखि नै भू–माफियाको गिद्देदृष्टिमा परेको थियो । मन्दिरको जग्गा राजगुठीमा लाने निर्णयपछि भू–माफियाले जग्गा हडपेका थिए । रंगशालाको कित्ता नम्वर १२०को एक विगाहा दुई कठ्ठा १० धुर, ८२२को छ कठ्ठा, ८२५ को १३ कठ्ठा र ८१५को सात कठ्ठा टीकादेवी बिमलीको नाममा सारिएको छ । त्यस्तै कि.नं. ८२०को आठ कठ्ठा रमेश महर्जनको नाममा र ८१२को सात कठ्ठा सूर्यकुमार बिमलीको नाममा कायम भएपछि मात्र स्थानीयबासीले थाहा पाएका थिए ।

२०५४ सालमा सूर्य मगर र शान्तिदेवी खड्काका नामबाट मोहियानी खरिद गरी जग्गा लिएको मालपोत कार्यालयको श्रेस्तामा उल्लेख छ । तत्कालीन देवी गुठीमा रहेका मैनाली र ओलीले गुठीलाई राजगुठीमा लाने निर्णय गरी श्रेष्ठ र विमलीहरुसँग मिलेर जालझेल गरेको स्थानीयको आरोप छ । स्थानीयबासीले सो थाहा पाएपछि लोकबन्धु कन्दङ्वाको संयोजकत्वमा आन्दोलन समिति र खगेन्द्र प्रसाईंको नेतृत्वमा संरक्षण समिति बनाएका थिए । आन्दोलनपछि श्रेष्ठ र बिमलीहरु मोही नभएको र अख्तियारको दुरुपयोग गरेको भन्दै पहिले डोमालाल राजवंशीले मन्दिरलाई दान दिएको जग्गामा भू–माफियाले चलखेल गरेको ठहर गरी मालपोतले मोही रद्द गरेको थियो ।

माफियाहरुले शुरुमा काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका थिए । त्यहाँ उनीहरुले जितेपछि संरक्षण समितिले मुद्दा पुनरावेदन अदालत पाटन पु¥याएको थियो । पुनरावेदन अदालत पाटनले भू–माफियाको षड्यन्त्र थाहा पायो र जनताको पक्षमा फैसला गर्यो । त्यसपछि उनीहरु सर्वोच्च पुगेका थिए ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय गौरी ढकाल र राजेन्द्रप्रसाद कोइरालाको इजलासले २०६६ फागुन ९ गते नै अनारमनी दुर्गास्थान राजगुठीको नाममा रहेको जग्गा भन्दै सूर्यकुमार विमली, टीकादेवी विमली र रमेश महर्जनको नाममा मोही कायम गराउन फैसला गरेको थियो । अदालतको मुद्दा शाखाले मालपोत कार्यालय झापालाई फैसलाको तीन महिनापछि अर्थात् २०६७ वैशाख ३० गते मोही कायम गरिदिन पत्राचार गरेको थियो । मालपोतले त्यसको तीन महिनापछि मात्र तत्कालीन अनारमनी गाउँ विकास समितिलाई पत्राचार गरेको थियो ।

बिर्ताबजारबाट दक्षिण–पश्चिममा डोमालाल राजवंशीले देवीगुठीलाई दान दिएको जग्गाको वजार मूल्य अहिले झण्डै एक अर्ब पुगेको छ । तर, उनै डोमालालका सन्तान भने यतिवेला सुकुम्बासी बनेका छन् ।डोमालालका दुई छोरा गजेन्द्रसिंह, देवेन्द्रसिंह र छोरी ढापु राजवंशीमध्ये देवेन्द्र पहिल्यैदेखि बेपत्ता छन् । गजेन्द्रको पनि मृत्यु भइसकेको छ । गजेन्द्रका दुई छोरा छविलाल र भीमबहादुर हजुरबुबाले गुठीलाई दान दिएकै जग्गामा सुकुम्बासीका रुपमा फुसका छाप्रा बनाएर बसेका छन् । डोमालालका नाति ज्याला मजदुरी गरेर गुजारा चलाइरहेका छन् ।

यता बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले देवीगुठीको जग्गा गुठीकै नाममा कायम रहेको बताएका छन् । उनले यो जग्गा मेरो हो भन्दै कोही नआएकाले गुठीको जग्गा सुरक्षित भएको बताए । सर्वाेच्चले गरेको निर्णयका विषयमा आफूलाई जानकारी छ भन्दै उनले भने– त्यो थाहा पाए लगत्तै निर्णय बदरको माग गर्दै हामी अगाडि बढेका हौं, अब यो जग्गा मेरो हो भन्दै को आउँछ त्यसलाई सामाजिक रुपमा दण्डित गर्ने हाम्रो निर्णय भएको थियो ।

सामाजिक सम्पदाहरुको संरक्षणको जिम्मा स्थानीय तहलाई आएपनि नगरप्रमुख शिवाकोटीले अब के गर्ने भन्ने विषयमा केही बोल्न चाहेनन् । उनले फागुनको तेस्रो हप्ताबाट सञ्चालन हुने प्रतियोगिताको पूर्ण सफलताको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गौरव बोकेको झापा गोल्डकपलाई सफल बनाउन नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । बिर्तामोड नगरपालिकामा राष्ट्रिय गौरवको प्रतियोगिता सञ्चालन हुन आफैमा राम्रो भएको बताउँदै नगरप्रमुख शिवाकोटीले भने– यो प्रतियोगिताले हाम्रो नगर बिर्तामोडलाई मात्र चिनाउँदैन सिंगो झापालाई चिनाउँछ, तसर्थ खेलकुदको विकासका लागि मेरो सहयोग भरपूर रहन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर