Aamsanchar

सूचना टाँस गरेरै जनप्रतिनिधिहरु खुल्ला दिसामुक्त अभियानमा

Author Image
शुक्रवार, फागुन ४, २०७४

विनोद धौलागिरि
भद्रपुर (झापा), ४ फाल्गुण ।  भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ अचेल दिउँसो कार्यालयमा भेटिदैनन् । प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको दैनिकी समेत उस्तै छ । उनीहरु दैनिक दिउँसो २ बजे सरसफाइ प्रवद्र्धनका लागि घरदैलो गर्ने कार्यमा समुदायमा पुग्छन् ।
“हामी अभियानकर्ताहरुमात्र समुदायमा गएर पुगेन”, भद्रपुर नगरपालिका खुल्ला दिसामुक्त अभियानका कार्यक्रम अधिकृत फणिन्द्र दाहाल भन्छन्, “त्यसैले नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत समेत घरदैलो गरी चर्पी बनाउन अनुरोध गर्ने, आवश्यक प्राविधिक सहयोग गर्ने र आपूर्ति पक्षको व्यवस्थापन गर्ने काममा खटिनुहुन्छ ।”
उनीहरुसँगै रहन्छन् सामाजिक विकास शाखाका प्रमुख राजन न्यौपाने । “हामी कार्यालयमा बसेर समुदाय खुल्ला दिसामुक्त नहुनेरहेछ, त्यसैले दिउँसो दुई बजेसम्म कार्यालयको काम गर्ने र बाँकी समय समुदायमा पुग्ने तालिका बनाएका छौं”, न्यौपानेले भने ।
उनीहरुलाई सघाइरहेका छन् सरसफाइ अभियानकर्ताहरुले । “खुल्ला दिसामुक्त अभियानको प्राविधिक कुरा हामीले गर्छौं, नगरपालिकाको तर्फबाट भन्नुपर्ने कुरा प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले भन्नुहुन्छ”, अभियानका एरिया संयोजक सीताराम भण्डारीले बताए ।

सूचना टाँसेरै अभियानमा
भद्रपुर नगरपालिका, वडा नं. २ पृथ्वीनगरका वडाध्यक्ष भीमबहादुर सुब्बा कार्यालयमा सूचना टाँस गर्नुका साथै सामाजिक सञ्जालबाट सूचना जारी गरेर खुल्ला दिसामुक्त अभियानमा निस्किए। “हाम्रो नगरपालिकाको इज्जतको सवाल छ”, वडाध्यक्ष सुब्बाको प्रतिवद्धता छ, “जसरी भए पनि यही चैत्र महिनाभित्रै हाम्रो नगरपालिकालाई समेत खुल्ला दिसामुक्त गर्नुपर्नेछ । त्यसैले तालिका बनाएरै लाग्ने निर्णय भएको छ ।”
वडाध्यक्ष सुब्बाले आफ्नो वडामा भेला गरी सामुहिक प्रज्वलन गर्ने, प्रतिवद्धता लिने, अटेरी गर्नेलाई सम्झाउने र अभियान सबैको सरोकारको विषय भएकोले समुदायका अगुवाहरुलाई जिम्मेवारी समेत दिनेगरी १० दिनको योजना बताएका छन् । आफ्नो वडाका सदस्यहरु र सामाजिक अगुवाहरुलाई लिएर दिउँसो २ बजेपछि तोकिएको टोलमा पुगेर भेला गरी सामुहिक छलफल गर्ने र सबैलाई चर्पी बनाउन अनुरोध गर्ने योजनाअनुरुप सूचना जारी गरिएको सुब्बाले बताए । “कम्तिमा १० दिनमा मेरो वडाका सबै घरमाम पुगेर त्यहाँको अवस्था बुझ्ने र उनीहरुको घरमा सुरक्षित शौचालय बनाउन लगाउँछु”, वडाध्यक्ष सुब्बाको योजना छ, “त्यसपछि केही दिनको समय दिएर फेरि समुदायमा जान्छु ।”
पहिलो चरणको अनुगमन गर्नुका साथै घरदैलो गरेर प्रतिवद्धता लिएपछि त्यसको निरन्तरता दिने जिम्मेवारी अभियानका सहजकर्ताहरुको रहने छ । यसैगरी, घरदैलोको क्रममा व्यक्त प्रतिवद्धता कार्यान्वयन भए नभएको हेर्न र अभियान ठीक ढंगले अगाडि बढाउनका लागि भद्रपुर नगरपालिकामा सामाजिक विकास शाखाका प्रमुख राजन न्यौपानेको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ । अनुमगन समितिमा कार्यपालिका सदस्य, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रतिनिधि र खुल्ला दिसामुक्त अभियानका कार्यक्रम अधिकृतलाई समेत समावेश गरिएको छ । “समग्रमा हामीले अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सहयोग गर्छौं”, अनुगमन समितिका सदस्य एवम् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति झापाका महासचिव बाबुराम कार्कीको भनाइ छ ।

अब सम्पूर्ण वडाको अभियान
वडा नं. २ मात्र नभै सबै वडाध्यक्षहरुलाई कार्यालयको समय व्यवस्थापन गरी खुल्ला दिसामुक्त अभियानका लागि योजना बनाउन अनुरोध गरिसकेको नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । “अधिकांश जनप्रतिनिधिहरु खुल्ला दिसामुक्त अभियानको विषयमा नयाँ हुनुहुन्थ्यो, उहाँहरुलाई समेत पहिलो चरणको अभिमुखीकरण र फिल्डमा काम गर्ने तौरतरिकाको बारेमा जानकारी भैसकेको छ”, नगर प्रमुख श्रेष्ठले भने “अब आफ्नो वडाको अवस्था अनुसार योजना बनाएर अघि बढ्न मैले सुझाव दिइसकेको छु ।”
हाल स्थानीय तहको पुनःसंरचनाको क्रममा भद्रपुर नगरपालिकामा गाभिएको वडा नं. १ र २ मा खुल्लामा दिसा गर्नेभन्दा पनि असुरक्षित शौचालयको संख्या बढी भएको बताउँछिन् सरसफाई अभियान सहजकर्ता रमला अधिकारी । “असुरक्षित शौचालयमा दिसा गर्नेको संख्या बढी भएकोले पनि हामीलाई प्रज्वलन गर्न कठिन भएको छ”, अधिकारीको भनाइ छ, “त्यसैले वडाध्यक्षहरुले दैनिक तालिका नै बनाएर टोल बस्तीमा पुग्नुपर्ने भएको छ।” यस्तै समस्या वडा नं. ४ र ५ मा समेत रहेको बताउँछन् सरसफाइ अभियान सहजकर्ता विकास राजवंशी । बाँकी वडाहरुमा समेत यसैगरी दैनिक तालिका बनाएर अभियान अगुवाइ गर्न आफूहरुले वडाध्यक्षलाई अनुरोध गरेको उनले बताए ।

कठोर बन्दै नगरपालिका

भद्रपुुर नगरपालिकामा सक्नेहरुले चर्पी नबनाउँदा खुल्ला दिसामुक्त घोषणा हुन सकेको छैन । त्यसैले सक्षमहरुलाई पहिले चर्पी बनाउन लगाउने र अति विपन्नको हकमा स्थानीय सहयोग संयनत्रमार्फत सहयोग गर्ने योजना नगरपालिकाको छ । त्यसो त आफ्नो घरमा सुरक्षित शौचालय नहुनेहरुलाई कुनै पनि सार्वजनिक पदमा नराख्ने र नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा समेत नदिने निर्णय नगरपालिकाले गरिसकेको छ । “अब निर्णयलाई कार्यान्वयन गर्ने बेलाा आएको छ”, नगर प्रमुख श्रेष्ठको भनाइ छ, “पहिलो चरणमा अभियानकर्ता साथीहरुले अभियान चलाउनुभयो, दोस्रो चरणमा हामीले घरदैलो गरेका छौं । अब पनि अटेर गर्नेलाई नगरको निर्णयअनुसार कारवाही हुन्छ ।”
धेरै अगाडि विभिन्न संघसंस्था र निकायले शौचालय निर्माणका लागि प्रदान गरेका सामग्रीहरु दुरुपयोग भएको समेत अहिलेको घरदैलोको क्रममा भेटिएको कार्यक्रम अधिकृत फणिन्द्र दाहालले बताए । “अधिकांशको त गरिबीको बहानामात्र हो नगरपालिका क्षेत्रभित्र”, दाहालको भनाइ छ, “घरमा सोलार, टेलिभिजन, डिस र मोटरसाइकल राख्नेहरुले समेत चर्पी नबनाएको र अनुदानमा पाएका निर्माण सामग्रीको दुरुपयोग गरेको भेटियो । त्यसैले अब कडाइ गरिरहेका छौं ।”
नगरपालिका क्षेत्रभित्र पर्ने बुधकरण टी स्टेटले कामदारका लागि शौचालय नबनाएका कारण पनि सरसफाइ प्रवद्र्धनमा समस्या भएको थियो । अहिले चिया बगानभित्र समेत शौचालय निर्माणको थालनी भएको छ ।
नेपालकै सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको भद्रपुरका १४ हजार ६ सय १५ घरधुरीमध्ये १२ हजार ५ सय ४१ घरधुरीमा मात्र सुरक्षित शौचालयको पहुँच रहेको छ भने नगरपालिकालाई खुल्ला दिसामुक्त गर्नका लागि अझै २ हजार ७४ घरधुरीमा सुरक्षित शौचालय निर्माण गर्न बाँकी रहेको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर