Aamsanchar

मुलुककै उत्कृष्ट बिर्तामोड खानेपानी

Author Image
आइतवार, फागुन ६, २०७४

पत्रकारमाझ अवार्ड सार्वजनिक गर्दै बिर्तामोड खानेपानीका अध्यक्ष जलकुमार गुरुङ तथा पदाधिकारीहरु ।

चारपाने, फागुन ६ । साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मुलुककै उत्कृष्ट बनेको छ । नगर विकास कोषले आफ्नो ३०औँ वार्षिकोत्सवका अवसरमा बिर्तामोड खानेपानीलाई ‘उत्कृष्ट खानेपानी अवार्ड’ प्रदान गरेको हो ।

स्थापना कालदेखि हालसम्म गरेको कामहरुको मूल्यांकनका आधारमा बिर्तामोड खानेपानीले अवार्ड पाएको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङले बताए । ‘उपभोक्तालाई सहज रुपले खानेपानी उपलब्ध गराउन सकेकाले नै हामीले अवार्ड पाउन सक्यौँ,’ अध्यक्ष गुरुङले भने, ‘वास्तवमा हामीले धेरै मेहनत गरेर उपभोक्ताको घर–घरमा खानेपानी पु¥याएका छौँ ।’
राजधानीमा २ फागुनमा सम्पन्न नगर विकास कोषको वार्षिकोत्सव समारोहका अवसरमा संस्थालाई यो अवार्ड प्रदान गरिएको थियो । बिर्तामोड खानेपानीले आइतबार पत्रकार सम्मेलन गरी अवार्ड सार्वजनिक गरेको हो ।
जनसहभागितामूलक अवधारणामा आधारित भइ नगर विकास कोषको लगानी समेतमा निर्माण भएका साना सहरी खानेपानी तथा सरसफाई आयोजनाहरुमध्ये बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सफलतापूर्वक उक्त आयोजनाको सञ्चालन तथा व्यवस्थापनमा सुधार गरेकोमा अवार्ड प्रदान गरिएको नगर विकास कोषले प्रदान गरेको प्रमाणपत्रमा उल्लेख छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक मनिराम सिंह महत, अध्यक्ष धुव रिजाल र तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङलाई अवार्ड प्रदान गरेका थिए ।
‘हामीले स्थानीय तहबाट भने पर्याप्त सहयोग पाउन सकेका छैनौँ,’ पत्रकार सम्मेलनमा बिर्तामोड खानेपानीका अध्यक्ष गुरुङले भने, ‘यसपटक बजेट सार्वजनिक गर्दा पनि बिर्तामोड खानेपानीका लागि नगरपालिकाले सम्झिएन ।

यसरी स्थापना भयो बिर्तामोड खानेपानी बिर्तामोडका बासिन्दालाई स्वच्छ खानेपानी वितरण गर्ने उद्देश्यले २०५१ सालमा बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्था स्थापना भएको थियो । बिर्तामोडलाई केन्द्रबिन्दु मानेर तत्कालीन अनारमनी, चारपाने, शनिश्चरे र अर्जुनधारा गाविसका वडाहरुलाई समेटेर एसियाली विकास बैंक (एडीबी) र खानेपानी डिभिजन कार्यालय भद्रपुर झापाको सहयोगमा ४५० घन मिटरको ओभरहेड ट्यांकीबाट शुभारम्भ गरिएको संस्था हाल आएर बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नामबाट परिचित छ ।

संस्थाले आफ्नो स्थापनाकालदेखि हालसम्म उपभोक्ताको हितलाई मध्यनजर राख्दै काम गर्दै आएको संस्थाका सचिब मेघराज बास्तोलाले बताए । संस्थाले हाल ४ सय ५० घन मिटरका ३ वटा ओभरहेड टयांकीमार्फत् उपभोक्तालाई पानी वितरण गरिरहेको छ । बिर्तामोड–५, अर्जुनधारा–१० र बिर्तामोड–३ मा ओभरहेड ट्यांकी रहेको बताइएको छ । ओभरहेड ट्यांकी रहेका स्थानमा डिप बोरिङसमेत रहेको पत्रकार सम्मेलनमा जनाइयो ।

यस्ता छन् आगामी लक्ष्य
हाल ५ हजार ५ सय उपभोक्ता रहेको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले टेकबहादुर गिरी बसपार्कमा ओभरहेड ट्यांकी निर्माण गर्ने लक्ष्य राखेको छ । बसपार्कमा हाल डिप बोरिङ मात्र स्थापना गरिएको छ ।
मिनरल वाटर उत्पादन, अत्यावश्यकीय स्थानमा पाइपलाइन बिस्तार, खानेपानी महसुल अनलाइनबाटै भुक्तानी गर्ने व्यवस्था तथा संस्थाका गतिविधिहरु वेवसाइटका माध्यमबाट सार्वजनिक गर्ने आफूहरुको लक्ष्य रहेको सचिब बास्तोलाले बताए ।
पछिल्लो समय उपभोक्ताको संख्या ह्वात्तै बढेको अध्यक्ष गुरुङले बताए । ‘अहिले पनि खानेपानीका लागि झण्डै ८ सयजति नयाँ निवेदन परेको छ,’ उनले भने, ‘त्यसैले हामी ५० किलोमिटर पाइपलाइन थप्ने तयारीमा छौँ ।’ हाल बिर्तामोड खानेपानीको पाइपलाइन ३ सय किलोमिटर बिस्तार गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर