“एक थोपा आँसु”

 

                                                               विश्लेषण

पदमप्रसाद दाहाल प्रधान सम्पादक वर्तमान अभिव्यक्ति साहित्यिक पत्रिका

(दूधे)

देवी प्रसाद सुँयल थापा ‘मामा’ एक सुपरिचित नाम हो । भारतको पूर्वोत्तर राज्य मणिपुर काङलातोम्बी निवासी थापा विगत एक दशकदेखि एक साहित्यिक व्यक्तित्वको रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् । यिनका “सासू” लघुकथा संग्रह र “कौब्रुको काखबाट” कविता संग्रहबारे समीक्षा गर्ने सु–अवसर पनि मैले पाएको थिएँ । उनको यस पटक (सन् २०१७) को “एक थोपा आँसु” बिमोचन कार्यक्रममा मलाई साहित्यिक स्रष्टा देवी प्रसाद थापाज्यूले निम्तो नगरेको होइन तर मेरो आफ्नै कार्य व्यस्तताले सामेल हुन पाइनँ । तर पनि उनले आफ्नो कृति उपलब्ध गराइदिएकाले यसको सामान्य अध्ययन गरी समीक्षा गर्न खोजेको हुँ ।

वास्तुवमा लघुकथा लेखन त्यति सजिलो विधा होइन । थोरैमा धेरै कुराको सन्देश दिन सक्नु यसको खास विशेषता हो । लघुकथाका पात्रहरु सिमीत हुन्छन् भने कथावस्तु र परिवेश पनि सिमीत नै हुन्छ । यस दृष्टिले हेर्दा यिनका कथाहरु आकारका दृष्टिले मात्रै नभई अन्य दृष्टिकोणले पनि उपयुक्त देखिन्छन् । यिनका कथाहरुको अध्ययन गर्दा हाम्रा गाउँघरमा घट्ने सामान्य घटना, परिवारमा घट्ने पारिवारिक घटना लगायत देश र अन्र्तराष्ट्रिय परिवेशसम्मलाई फन्को मार्न यिनले भ्याएका छन् । सामान्य कुरालाई पनि कथावस्तु बनाई घतलाग्दो किसिमले पाठक समक्ष प्रस्तुत गर्न सक्नु यिनको विशेषता हो । यिनका कथाहरु सामाजिक, यर्थाथवादी र केही मनोवैज्ञानिक यर्थाथवादी पनि छन् । यिनले स्वेर कल्पनामा आधारित कथाहरु पनि लेखेका छन् । कुनै कुनै कथामा यिनले आफ्नो नास्तिकवादी भावना पनि देखाएका छन् ।

कवितामा प्रसिद्धि हासिल गरेका थापाले लघुकथाकारितालाई पनि उत्तिकै उचाँईंमा पु¥याउन जोडतोडले लागेको पाइन्छ । लामा कथाको प्रकाशन गर्न पनि तयारी गरिसकेका थापाले आफू त्यसतर्फ अझै सफल हुन नसक्ने सोंचेर पुनः लघुकथामै आफ्नो ध्यान केन्द्रित गराएको कुरा उनको आवरण पृष्ठमा लेखिएको परिचयमा खुलेको छ । आफू प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्य उत्थानका लागि लागीपरेका सुँयल थापा ‘मामा’ नेपालमा आउँदा प्रायः साहित्यिक व्यतिmत्वहरुसँग भेटघाट र कुराकानीमा रमाउँछन् भने यहाँका सञ्चारमाध्यमहरुले पनि यिनलाई मन पराएको पाइन्छ । चाहे हिमशिखर टेलिभिजनको साहित्यिक कार्यक्रममा होस् चाहे कञ्चनजंघा एफ.एम.को साहित्यिक कार्यक्रममा यिनी साहित्यकारका रुपमा उभिएका छन्, उभ्याइएका छन् ।

त्यस्तै पूर्वाञ्चल दैनिक, जनसंसद दैनिक, सतासी साप्ताहिक पत्रपत्रिका साथै आमसञ्चार डटकम जस्ता अनलाइनहरुले त यिनका बारेमा लेखिएका समीक्षाहरु समेत प्रस्तुत गरी यिनलाई उचाँईंमा पु¥याएका छन् । शिक्षण पेशामा समेत संलग्न मणिपुरेली साहित्यकार थापा आफ्नो पेशाप्रति उत्तिकै जिम्मेवार देखिन्छन् । आफ्नो अध्यापनलाई असर नपारी साहित्यिक यात्रामा दौडन यिनले समयलाई व्यवस्थित पारेको देखिन्छ ।

माथि नै भनियो यिनी सामाजिक, राजनैतिक, मनोवैज्ञानिक धारामा कलम चलाउन सक्ने कथाकार हुन् । यिनका कथाहरु समसामायिक र सान्दर्भिक छन् । Hudson ले भनेका छन् : M “In history nothing is true except names and dates, in fiction everything is true except names and dates.” इतिहासमा नाम र तिथि बाहेक अरु कुरा ढाँट हुन्छन् तर आख्यानमा नाम र तिथि बाहेक सबै कुरा साँचा हुन्छन् । यिनका कथाका पात्रहरु धनसिंह साहु, थापा ठूले, अब्दुल, धिरेन आदि काल्पनिक नाम हुन् सत्य होइनन् तर यिनीहरुका भनाइ र व्यवहार साँचा हुन्, जसले समाजमा विभिन्न परिदृश्यको प्रतिनिधित्व गरेका छन् । त्यसैले त साहित्यलाई “समाजको दर्पण” भनिएको हो ।

हाम्रो गाँउघरमा ठ्याक्क मेल खाने एउटा क्रियाकलाप हेरौं, आजभोलि छोराबुहारी विदेश र बाबुआमा घरमा । जब बुहारी सुत्केरी हुृन्छे त्यसबेला चाहिन्छ सासू । ‘थाङना धुन’ भन्ने कथाको एक अंश हेरौं ः “अनि धेरै किन्नु भयो त, दुईचार दिनमा बिग्रिदैंन र ?” श्रीमतीले प्रश्न राखिन् । दिदीले उत्तर दिइन् ः “बिग्रन्छ नि, तर यो वहाँ विदेश लेर जानुछ । घरमा किन यत्रो चाहिन्थ्यो ।”

“ए ! तपाँईं पनि हजुरआमा बन्नुहुँदैंछ । “श्रीमतीले अड्कल काटिन् । आश्चर्य मान्दै दिदी बोलिन् ः “तपाँईंलाई कसरी थाहा भयो ?” श्रीमतीले हाँस्दै जवाफ दिइन् ः ‘विदेशी बुहारीलाई थाङना धुन सासू चाहिन्छ ।’

उक्त कथा पढ्दै गर्दा भरखरै मेरा एक जोडी आफन्तको सम्झना आयो, जो यु.के. जान छोराले भिसा पठाउँदा खुशी थिए पछि थाहा भयो बुहारी सुत्केरी हुन लागेकी रहिछन् । त्यस्तै भ्रष्टचार गरेर अकुत सम्पत्ति कमाउने भ्रष्टचारीहरुलाई व्यङ्ग यसरी गरेका छन् कथाकारले दुर्दशा शीर्षकमा । ‘रमेश मनमनै सम्झिँदैथ्यो, रणेका बाबु र मेरा बाबु एकै पदमा जागिर खान्छन् । उसको त्यस्तो रङ्गीचङ्गी छ । मेरा बाबुको कस्तो विचार । मरेर कसले लान्छ रुपैंया ? उनीहरुमा किन अन्तर ? उसका बाबुले प्रत्येक माग पुरा गरिदिन्छ, मेरा बाबुले किन यत्रो सोच्नुपर्ने ? मोबाइल किन्न नपाएकोमा ऊ खिन्न थियो । दुःखी थियो । आफ्ना बाबुप्रति क्रोध जन्मिरहेको थियो ।

त्यत्तिकैमा उसका आँखा बाटातिर पुगे । दसजना पुलिसले रणेको बाबुलाई गाडीमा हाले । त्यो दृश्यले ऊ झसङ्ग भयो ।
छोराले प्रश्न राख्यो ः “बुबा किन यी पुलिसले रणेको बुबालाई गाडीमा हालेको ?” बाबुले पसिना पुछ्दै उत्तर दिए, ः “छोरा ! इमान्दारी सधैं आफ्नो परिश्रमको फल खान्छन् । वेइमानी सधैं गाडीमा चढेर हिंडछन् । सित्तैमा सम्पत्तिमा लोभ गर्छन् । अरुलाई मारेर आफू बाँच्छन् ।” त्यतिबेला रमेशले आफ्नो बाबुका अनुहारमा सत्यवादी हरिश्चन्द्रको रुप देख्यो ।

त्यस्तै ‘प्युरिटी कार्ड’ लघुकथामा जति नै सम्पत्ति कमाएता पनि धनसिंह साहु जस्ता धनीमानीहरुले मरेर जाँदा लगेको रुपैंया पनि स्वर्गका राजा इन्द्रले यो “करेन्सी” चल्दैन भनेपछि स्वर्गमै हाम फालेर पुनः मरेको परिकल्पना गर्दै जीवनमा कमाएको पैसा समाजसेवामा लगाए मात्र पुण्य मिल्छ भन्ने सन्देश दिइएको पाइन्छ ।

‘भोज’ कथामा अर्काको उपकार गरी बचाउने पात्रले कहिलेकाहीं आर्फै मनुपर्ने स्थितिको वोध गराएको छ भने ‘बोक्सी’ कथामा अन्धविश्वास र कुसंस्कारमा अझै पनि शिक्षित व्यक्तिहरु समेत जकडिएको तथ्य पाइन्छ । ‘खतिपूर्ति’ कथाले प्रहरीले गर्ने अन्याय अत्याचारको पर्दाफास गरेको छ । ‘ओपन लाइसेन्स’ कथाको पात्र पाखे माहिलो बहुलाएको छ, तर उसका सम्पूर्ण भनाइहरु सत्य र तथ्य छन् । वास्तविकता ओकल्न उसले बहुलाउनु परेको छ ।

कथाकार ‘मामा’ ले यस संग्रहमा ७५ वटा कथाहरु साहित्यानुरागी व्यक्तित्वहरुका अगाडि पस्केका छन् । सबै कथाहरु कुनै न कुनै रुपमा सन्देश दिने खालका छन् । व्यवहारमा चलिआएका नीति, संस्कार, परम्परा, जातीयता, मानवता, धार्मिक, राजनैतिक, सामाजिक, ऐतिहासिक सबै पाटाहरुलाई छुने प्रयास गरिएको छ । यसमा आलोचनात्मक टिप्पणी गर्ने ठाउँ नगण्य नै छ । वर्ण विन्यासको दृष्टिले हेर्दा छोटा र सरल वाक्यहरुको अत्याधिक प्रयोग देखिन्छ ।

कुनै कुनै शब्दहरु अशिष्ट जस्ता देखिए पनि ग्रामीण समाजको कथ्य भाषा भएको हुनाले ग्राह्य नै ठहरिएका छन् । “दुर्दशा” शीर्षकको कथालाई ‘अन्तर’ शीर्षक राखिएको भए कथावस्तुलाई अझ समेटिन्छ कि जस्तो लागेको छ (पृष्ठ २६) । “ओषधि” (पृष्ठ ६७) को ‘औषधी’ हो जस्तो लाग्छ । शीर्षक “खतीपुर्ति” (पृष्ठ २४) ‘क्षतिपूर्ति’ भए राम्रो, पृष्ठ ३ मा रहेको “सम्झि” र “प्रत्क्षय” मा ‘सम्झी’ र ‘प्रत्यक्ष’ हुनुपर्ने देखिन्छ । यी सामान्य कुरालाई त्रुटीका रुपमा लिइएको होइन तैपनि समीक्षाको धर्म निभाएको मात्र हो ।

अन्त्यमा, लघुकथाकार देवीप्रसाद सुँयल ‘थापा’ लाई हार्दिक धन्यवाद दिन चाहन्छु । उनको लेखनी अझ पनि साहित्यको क्षेत्रमा ऊर्जा बनी दौडिरहोस् । साहित्यका विविध विधाहरुमा कलम चलाई एक बहुमुखी प्रतिभाका धनी बनेर आफूलाई चिनाउने सामथ्र्य उनलाई प्राप्त होस् । शुभकामना धन्यवाद ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com