Aamsanchar

अझै तयार भएन ६ लेनको डीपीआर

Author Image
मङ्गलवार, फागुन ८, २०७४

[सुरेन्द्र भण्डारी÷ नरेन्द्र ढकाल]

बिर्तामोड।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग नेपालको सबैभन्दा लामो राजमार्ग हो । तत्कालीन राजा महेन्द्रले वि.सं २०१९मा निर्माण शुरू गरेको यो राजमार्गको नाम उनकै नामबाट महेन्द्र राजमार्ग राखिएको थियो ।

भारत तथा सोभियत संघको सहयोगमा निर्माण भएको यो राजमार्गको लम्बाई १०२७.२७ किलोमिटर रहेको छ । २०२८ सालबाट यो राजमार्ग सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको ४४ वर्षपछि सरकारले राजमार्गलाई ६ लेनको बनाउन शुरु गरेको छ । पाँच वर्षभित्र १६० किलोमिटर सडक ६ लेनको बनाइसक्ने गरी सरकारले काम शुरु गरे पनि पूर्वमा भने यसको डीपीआर समेत तयार नगरेको सरकारका एक अधिकारीले बताए ।

दुई वर्षअघिबाट सरकारले नारायणगढ–बुटवल खण्ड विस्तारको काम शुरु गरेको थियो । एशियाली विकास वैंकले सडक विस्तारका लागि १८ करोड अमेरिकी डलर ऋण दिने घोषणा गरेपछि नेपाल सरकारले सडक विस्तारलाई तीव्रता दिएको हो । तर, पूर्वमा भने सडक विस्तारको काम अघि बढ्न नसकेको सरकारी अधिकारीहरुको भनाइ छ । पहिलो चरणमा काँकरभिट्टाको मेचीपुलबाट कोशीको लौकहीसम्म ६ लेनको सडक बनाइने बताइएको छ ।

निर्वाचनको समयमा सडक विस्तार गर्दै राजमार्गलाई ६ लेनको बनाउने राजनीतिक दलहरुले चुनावी नारा नै घन्काएका थिए । तर, तीन तहको निर्वाचन सम्पन्न भएर नयाँ सरकार बनिसक्दा पनि सडक विस्तारको डीपीआर समेत तयार हुन सकेको छैन । सडक दिनप्रतिदिन जीर्ण बन्दै जाँदासमेत जिम्मेवार निकाय मौैन रहेको छ । पूर्वको सडकको सुरक्षा गर्ने जिम्मा पाएको पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय दमकले सडक सुरक्षाको विषयमा काम नै नगरेको यातायात व्यवसायीहरुले आरोप लगाएका छन् ।

राज्यले यातायात व्यवसायीसँग लिने शुल्क बर्षेनि बढाउँदै लगे पनि सडकको अवस्था दिनप्रतिदिन बिग्रिँदै गएकाले दुर्घटनाको जोखिम बढ्दै गएको यातायात व्यवसायीको भनाइ छ । सडकमा जानकारीमूलक होर्डिङबोड राख्ने, सडकको सुरक्षा गर्ने लगायतका अधिकार सडक विभागलाई प्रदान गरिएको छ । सडक तथा यातायात ब्यवस्था ऐन २०४९मा सडक विभागलाई बुँदागत रुपमा स्पष्टसँग काम कर्तव्यहरुको बारेमा उल्लेख गरिएको छ । तर, पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय दमकले भने सडक सुरक्षाको विषय मात्रै होइन सडकमा जेब्राक्रस समेत बनाएको छैन ।

यसैबीच पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय दमकका प्रमुख राजेश यादवले सडकको अनुगमन गर्ने बताएका छन् । तर, मेचीदेखि मावा खोलासम्मको ५५ किलोमिटर सडक विस्तारको काम भने शुरु नभएको उनको भनाइ छ ।

सडक मिच्दै पार्किङ

राजमार्गको झापा सडक खण्डमा ५ स्थानमा धर्मकाँटा बनाइएको छ । धर्मकाँटाले सडकको भागलाई छाडेर छुट्टै पार्किङ बनाउनुपर्ने भए पनि सबै धर्म काँटाले पार्किङ बनाएका छैनन् । पार्किङ नबनाएका कारण मालवाहक ठूला सवारीले सडक मिचेर पार्किङ गर्ने गरेका छन् ।

धुलाबारी र बिर्तामोडमा २÷ २ वटा धर्मकाँटा छन् भने दमकको तारावारीमा एउटा धर्मकाँटा रहेको छ । सडकमा जथाभावी पार्किङ गरेका कारण दुर्घटनाको जोखिम बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले बताए । उनले सडक मिच्नेहरुलाई हटाउने काम ट्राफिक प्रहरीको मात्र नभएको भन्दै सडक डिभिजन कार्यालय, यातायात कार्यालय र स्थानीय निकायले यो विषयमा चासो दिन जरुरी रहेको बताए ।

दिनप्रतिदिन सवारीको संख्या बढ्दै जानु, सडक फराकिलो नहुनु, भएको सडक पनि जीर्ण हुनु सवारी दुर्घटना बढ्नुको प्रमुख कारण रहेको प्रहरी सहायक निरीक्षक खड्काको भनाइ छ ।

१० टनको क्षमतामा ५२ टनका सवारी

राजमार्गमा गुड्ने सवारीमा १० टन मात्र लोड गर्न पाउने व्यवस्था रहेको छ । तर, नियमन गर्ने निकाय यातायात कार्यालय सडकमा नै नआउने गरेकाले राजमार्गमा ५२ टनसम्म लोड भएका सवारी साधन गुड्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय सवारी साधनलाई निषेध गर्न नमिल्ने बताउँदै प्रहरी सहायक निरीक्षक खड्काले भने– यसको नियमन गर्ने निकाय हो– यातायात कार्यालय । ट्राफिक प्रहरीले नियम उल्लंघन गर्नेलाई पाँच सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना लिन पाउने प्रावधान रहेकाले सोही अनुरुप यस्ता सवारीलाई कारवाही गर्र्छाैं– खड्काले भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले माघ र फागुनमा क्षमताभन्दा बढी सामान वोक्ने १० वटा मालावहक सवारीलाई कारवाहीका लागि यातायात व्यवस्था विभाग मेची पठाएको बताइएको छ ।

कामभन्दा गफ धेरै

झापामा सवारी चाप बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले पटक–पटक विभिन्न राजनीतिक दल, संघ–संस्था, सरकारी निकायका कर्मचारी, यातायातका मालिक तथा मजदुरका साथै सवारी चालकसँग दुर्घटना रोक्ने विषयमा छलफल गरे पनि छलफल छलफलमा नै सीमित हुने गरेको पाइएको छ ।

केही संस्थाहरुले सडक दुर्घटना रोक्ने भन्दै अभियान शुरु गर्ने बताइरहे पनि उनीहरुले स्पष्ट दृष्टिकोण सार्वजनिक गरेका छैनन् । दुर्घटना रोक्ने विषयमा सबै पक्ष सकारात्मक भएपनि कसरी दुर्घटना न्यूनीकरण गर्ने भन्नेमा सबै अलमलमा रहेका छन् । सडक फराकिलो नहुनु अनि सवारीको चाप बढ्नु नै दुर्घटनाको मुख्य कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको ठम्याई छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)