Aamsanchar

डिजेलको तस्करी बढ्यो

Author Image
मङ्गलवार, फागुन ८, २०७४

[पार्थ मण्डल]
भद्रपुर।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारतीय बजारभन्दा सस्तो भएकोले सीमावर्ती नाकाबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी फस्टाएको छ ।

झापाको खुल्ला सीमा क्षेत्रको फाइदा उठाउँदै तस्कर समूहले पछिल्लो समय नेपालबाट पेट्रोलियम पदार्थ भारततर्फ तस्करी गर्न थालेका छन् । सीमामा तैनाथ नेपालका सुरक्षाकर्मीले नियन्त्रणमा खासै चासो नदेखाउँदा पेट्रोलियम पदार्थको तस्करी फस्टाउँदै गएको बताइएको छ ।

यसैक्रममा नेपालबाट भारततर्फ ट्याक्टरमा लोड गरी लगिरहेको ४९ हजार ८ सय मूल्य बराबरको डिजेलसहित एक भारतीय नागरिकलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ । भारतको डोरिया पाँचगाछी निवासी ३६ बर्षीय ट्याक्टर चालक उमा शंकर गिरीलाई एसएसबी १२ नम्बर बटालियनले नियन्त्रणमा लिएको हो ।

झापाको १२८ नम्बर पिलरस्थित घेरावारी–पिडालबाडी नाकाबाट नम्बर उल्लेख नभएको ट्याक्टरमा तीन वटा ड्रममा राखिएको ६ सय लिटर डिजेल भारतीय बजारमा बेच्न लगिरहेको अवस्थामा नियन्त्रणमा लिएको भारतीय एसएसबी १२ बटालियनका डी कम्पनी धनतोला बीओपीको सब इन्स्पेक्टर आतिशकुमार मण्डलले जानकारी दिए ।

नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी फस्टाएपछि सीमा क्षेत्रमा विशेष निगरानी बढाएसँगै डिजेल बरामद गरिएको उनले बताए । बरामद गरिएको डिजेल र ट्याक्टरलाई भारतीय चार लाख २२ हजार मूल्यांकन तोकेर भन्सार बुझाइसकेको जनाइएको छ । झापाको काँकरभिट्टा, भद्रपुर, केचनकवल, झापा, गौरीगञ्ज नाकाबाट भन्सार छलेर नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ, जनावरको हड्डी तथा छाला तस्करी हुँदै आएको छ भने भारतबाट लत्ताकपडा, कस्मेटिक सामग्री, हार्डवेयर, मोटरपार्टस्का सामान नेपाल भित्रिँदै छ ।

भारत भन्दा नेपालमा १५देखि २१ रुपैया सस्तो

भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थ १५देखि २१ रुपैयाँसम्म सस्तो पाइन्छ । नेपालमा पेट्रोलको मूल्य १ सय ४ रुपैयाँ पर्छ भने, भारतको बिहार राज्यमा १ सय १९ रुपैयाँ ५० पैसा पर्छ । डिजेल र मट्टितेल नेपालमा ८३ रुपैयाँ छ भने विहारमा १ सय ४ रुपैयाँ पर्छ ।

प्रतिलिटर पेट्रोल नेपालबाट भारततर्फ लाँदा १५ रुपैयाँ फाइदा हुन्छ । डिजेल र मट्टितेलमा प्रतिलिटर २१ रुपैयाँ फाइदा हुन्छ । त्यसैले सीमा क्षेत्रमा सञ्चालित नेपालका डिपोहरुबाट खरिद गरी तस्कर समूहले दैनिक रुपमा पेट्रोलियम पदार्थ भारततर्फ चोरी पैठारी गर्दै आएका छन् । भारतीय बजार पठाए बापत तस्कर समूहमा आवद्ध कारोबारीले प्रतिलिटर १० देखि १५ रुपैयाँ पाउने गरेको स्रोतको दावी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर