Aamsanchar

स्वेच्छिक अवकाशका लागि निवेदन दर्ता

Author Image
सोमवार, फागुन १४, २०७४

काठमाडौँ,

करिब चार हजार निजामती कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाश रोज्नका लागि निवेदन आह्वान गरेकामा करिब तीन हजार ७४८ हजारले निवेदन दिएको मन्त्रालयका स्वेच्छिक अवकाश एकाई शाखाका प्रमुख धर्मराज रोकायले जनाकारी दिनुभयो ।

मन्त्रालयले गत पुस २८ गते राजपत्रमा सूचना प्रकाशित गरेर समायोजनमा जान नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि दरखास्त आह्वान गरेको थियो । पैंतालीस दिनको समयसीमा राखेर स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई निवेदन दिन आग्रह गरिएको थियो । त्यसै अनुसार कर्मचारीले निवेदन दिएका हुन् ।

गत पुस २९ देखि फागुन १३ गतेसम्म कर्मचारीले आफू कार्यरत कार्यालय र निकायमा स्वेच्छिक अवकाशको निवेदन दर्ता गराउने व्यवस्था गरिएको थियो । उहाँले दरखास्त दिएका निवेदनलाई आवश्यक छानबिन गरी समायोजन गरिने बताउनुभयो । मन्त्रालयले ५० वर्ष उमेर पुगेका र बीस वर्षे सेवाअवधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरिएको थियो । स्वेच्छिक अवकाश लिनेमा तीन सचिव, १३ सहसचिव र ४५ उपसचिव समेत रहेका छन् । सबभन्दा बढी तल्लो तहका श्रेणीविहीन कर्मचारीले स्वेच्छिक अवकाश लिएको रोकायले बताउनुभयो ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला, संसद् सचिवालयका सचिवद्वय हिमलाल सुवेदी र वीरेन्द्र कार्कीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । उपसचिवसमेत रहनुभएका रोकायले सम्बन्धित कार्यालयमा स्वेच्छिक अवकाशका लागि निवेदन दिएका दरखास्तको यही १९ गतेसम्म संकलन गरिने जानकारी गराउनुभयो । आवश्यक अध्ययनपछि अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्मा स्वेच्छिक अवकाशका लागि लैजाने उहाँले बताउनुभयो । मुलुकभरि करिब ८३ हजार निजामती कर्मचारी रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर