Aamsanchar

सनसाइनले दियो पत्रकार उपचार कोषलाई ५१,१११

Author Image
बिहिवार, फागुन १७, २०७४

बिर्तामोड l
बिर्तामोडस्थित सनसाइन किन्डर हाउसले नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ ।
विद्यालयका संस्थापक निर्देशक दीपक गिरी र संस्थापक प्रिन्सिपल पूजा गिरीले पत्रकार महासंघका उपाध्यक्ष एवम् उपचार कोषका संयोजक एकराज गिरीलाई बिहीबार उक्त रकमको चेक प्रदान गरे ।
विद्यालयले फागुपूर्णिमाको अवसर पारी आयोजना गरेको वार्षिक कार्यक्रमकाबीच उक्त रकम प्रदान गरिएको हो । जोखिम मोलेर नागरिकलाई सुसूचित गर्ने कार्यमा अहोरात्र खट्ने पत्रकारहरु विरामी तथा घाइते हुँदा केही सहयोग पुगोस् भनेर विद्यालयको तर्फबाट कोषमा रकम प्रदान गरिएको संस्थापकद्वय गिरीले बताए ।
पत्रकार उपचार कोषमा रकम प्रदान गरेकोमा पत्रकार महासंघको तर्फबाट धन्यवाद ज्ञापन गर्दै उपाध्यक्ष गिरीले कोषको ब्याजबाट पत्रकारको उपचारमा सहयोग पुर्याइने बताए । महासंघले उपचार कोष एक करोड रुपैयाँको बनाइ त्यसको ब्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने कार्यविधि बनाएको छ । हालसम्म ३३ लाख रुपैयाँ बढी कोषमा जम्मा भइसकेको छ ।
कोषका लागि सहयोगदाताहरुको नाममा नै रकम कोषको खातामा रहने र त्यसका लागि सहयोग गरिदिन महासंघले सबैमा आग्रह पनि गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका विद्यार्थी तथा अभिभावकको उल्लेख्य उपस्थिति थियो ।

झापाको बिर्तामोडस्थित नोबल एजुकेशन फाउण्डेशनद्वारा सञ्चालित सनसाइन किन्डर हाउस एण्ड प्राइमरी स्कूलको उक्त कार्यक्रमको उद्घाटन निर्देशक र संस्थापक प्रिन्सिपल गिरीद्धयले पानसमा दीप प्रज्ज्वलन गरी संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा उपस्थित अभिभावकले छोटो समयमा नोबल एजुकेशन फाण्डेशनले विद्यार्थी रमाउन सक्ने वातावरणको सृजना गरी उल्लेख्य प्रगति गर्नुका साथै नमूना शिक्षालय बन्दै गएको भन्दै प्रशंसा गरे ।

होली को टीसर्ट र अवीरमा सजिएका प्ले ग्रुपपदेखि माथिल्ला सबै कक्षाका विद्यार्थीले नृत्य नाटक, गीत लगायतका सांस्कृतिक प्रस्तुति गरेका थिए । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल वीना पोखरेलले विद्यालयको स्वागतसहित गतिविधि र भावी योजनाको बारेमा जानकारी गराएकी थिइन् ।
तस्वीरः कमलप्रसाद पाण्डे ९बिनोद०

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर