Aamsanchar

विकासको बाधक बन्यो नेपालमा भ्रष्टाचार/सोमालियालाई पछि पार्ने सम्भावना

Author Image
शुक्रवार, फागुन १८, २०७४

(नरेन्द्र ढकाल)

देशको विकास गर्ने ठूला–ठूला सपना जब जनताको आँखामा एक जादुकरले झैं छलगरेर नेताहरुले भ्रम छरेर आफ्नो स्वार्थ पुरा गर्ने गरेको पाइएको छ । सत्ता र शक्तिमा पुगेपछि उनीहरुले देशको विकास गर्ने भन्दै गरेका नौटङकी कर्मको फल स्वरुप झन–झन देश भ्रष्ट्राचारको दलदलमा फस्दै गएका रिर्पोटहरुले पुष्टि गर्ने गरेका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) द्वारा सार्वजनिक गरिएको भ्रष्टाचार सूचाङ्कानुसार नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औँ स्थानमा छ । ठूला–ठूला राजनीतिक क्रान्ति सम्पन्न गरेका हाम्रा देशका नेताहरुले देशमा आर्थिक क्रान्तिलाई नारामा नै सिमित गर्दा देशले उल्टोगति लिएको प्रमाणि भएको छ । गरिब देश त्यस मध्ये पनि एक तिहाइ बढी भ्रष्ट्रचार अनि देशको विकास कसरी होला र ? आज पनि नेपाली जनता यति रणभुल्लमा छन् की हरेक वर्षको आर्थिक वर्षमा सार्वजानिक गरिने बजेट भाषण कुन सरकारले कति बजेट ल्यायो । आज हामी त्यसैमा फुर्ति लगाई रहेका छौं तर हामीले कहिल्यै पनि सोध्ने गरेका छैनौं एक आर्थिक वर्षमा कति विकासका काम भए ।

नेपालको आधाभन्दा धेरै बजेट तलब भत्तामा नै सकिने गरेको छ । आधाबाँचेको मध्ये वैधानीक रुपमा भ्रष्टाचार गर्ने बाटो सरकार आफैले सिर्जना गरिदिएको छ । यो वैधानिक भ्रष्टाचार गर्न स्वंयम सरकारले नै बाटो खोलेपछि भ्रष्ट्राचार नबढ्ने कुरै भएन् । हामीले भ्रष्टाचार नियन्त्रणका ठूला–ठूला अभियानहरु चलाएका पनि पाउने गरेका छौं तर त्यहाँ भित्र पनि वैधानिक भ्रष्टाचारको विषयमा सिमित ब्यक्तिले मात्र सुइको पाउने गरेका छन् । यो मुलुकको विकास गर्ने हो भने ५ प्रतिशत मात्र भ्रष्टार रोक्न सके मात्रै पनि देशले काँचुली र्फन सकिनेमा सबै जानकार नै रहेका छन् ।


टिआइले १८० देशलाई समेटेर गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचाङ्कमा गत वर्षका तुलनामा नौ स्थान माथि उक्लिँदै नेपाल ३१ अंकसहित १२२ औँ स्थानमा परेको जनाइएको छ । राजनीति, वित्तीय अनुशासन, न्यायमा पहुँचलगायत छ मापदण्डका आधारमा देशलाई शून्यदेखि १०० सम्म अंक दिइएको थियो । शून्य अंक पाएमा सबैभन्दा भ्रष्टाचार हुने र १०० अंक प्राप्त गरेमा भ्रष्टाचार हुँदै नहुने भनेर छुट्याउने आधार थियो । नेपालले भ्रष्टाचारमा सुधार गरेको प्रतिवेदन सार्वजानिक भएपनि यो प्रतिवेदन अधुरो रहेको छ । नेपालमा हाल निर्माणधिन अवस्थामा रहेका आयोजनाको मात्रै लेखाजोखा गरेर प्रतिवेदन सार्वजानिक गर्ने हो भने भ्रष्टाचार झनै मौलाएको भ्रष्ट रुपमा देख्न सकिन्छ ।

भौगोलि, प्राकृति हरेक कुराले नेपाललाई साथ दिएपनि नेतृत्व कर्ताको अभाव भयो भने ती सुन्दर बस्तुको कुनै मुल्य नै हुदैन भन्ने प्रमाणि हाम्रै देश बन्न पुगेको छ । आज हाम्रो जस्तो सबै कुराले मिलेको मुलक अन्य देशको हुनु हो भने विश्वकै एक नम्बरमा आउनेमा दुई मत छैन् तर हामीले सबै कुरा पाएर पनि नेतृत्व कर्ता सफल नपाएकाले हाम्रो मुलुकले विकास गर्न नसकेको यस्ता रिर्पोटहरुले प्रमाणि गरिसकेको छ । छिमेकी देश चीनमा भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय छ भने उत्तर कोरियामा बहालवाला मन्त्रिलाई नै फाँसी दिएका उदाहरणहरु पनि प्रस्त रहेका छन् तर हाम्रो मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा राजनीतिक भागबण्डा गरेर प्रमुख नियुक्त गर्ने प्रचलन रहेको छ । अनि कसरी होला त भ्रष्टाचार नियन्त्रण । धेरैले भन्ने गरेका छन् नेपाल भगवान भरोसामा चलेको छ । यसले नै प्रमाणित गरिहाल्छ की हामी कति भगवान भरोसामा चलेका छौं ।

 

विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउण्डेशन, वल्र्ड जस्टिम प्रोजेक्ट र भिडिइएमसमेत छ संस्थाद्वारा गरिएको सर्वेक्षणअनुसार पत्रकार र नागरिक संस्थाको सुरक्षाको प्रत्याभूति नभएका देशमा भ्रष्टाचार बढी हुने गरेको छ । तथ्यांकअनुसार सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा ८९ अंक प्राप्त गरी पहिलो नम्बरमा न्यूजिल्याण्ड र ८८ अंक प्राप्त गरी डेनमार्क दोस्रो स्थानमा छन् भने सोमालिया नौ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा छ । यस्तै अवस्था रहने हो भने नेपालले एक दिन सोमालियालाई नै पछि नपार्ला भन्न सकिन्न । सियोदेखि फलामसम्म नुनदेखि सुनसम्ममा पनि भ्रष्टाचार हुने हाम्रो मुलुक । यहाँ न त भूकम्प पिडितले राहत पाएका छन् त न द्धन्द्धपिडितले नै न्याय हाम्रो मुलकमा जसको शक्ति उसैको भक्ति भएपछि अनि भ्रष्टाचार नमौलाउने कुरै भएन् ।

दक्षिण एशियाका देशमध्ये अफगानिस्तान अन्तिमबाट चौथो स्थानमा अर्थात् १५ अंक प्राप्त गरी १७७ औँ स्थानमा रहनाका साथै बंगलादेश १४६ औँ, पाकिस्तान १२३ औँ, माल्दिभ्स ११८ औँ, श्रीलंका ९७ औँ, भारत ८५ औँ र भुटान २९ औँ स्थानमा छन् । तथ्यांकअनुसार चीन ७७ औँ स्थानमा परेको छ । यसैलाई आधार मान्ने हो भने पनि हाम्रो मुलुकमा कति भ्रष्टाचार हुन्छ भन्ने प्रमाणित भएको छ । संसद भवनमा पानीदेखि खानासम्म तथा जनताको नामदेखि विदेश भ्रमणमा समेत भ्रष्टाचार हुने गरेका छन् । जनताले तिरेको करमा यति धेरै नेता र कर्मचारीको हालि मुहाली हुदाँ समेत आँखामा पट्टी बाँधेको जनता, कानमा तेल हालेर बस्ने गरेका छन् ।

मुलुक समृद्धिको दिशा तर्फ जाँदैछ भन्ने तर भ्रष्टाचार नियन्त्रण न गर्ने हो भने मुलुकले समृद्धिको यात्रा पार गरेर भ्रष्टाचारमा सोमालियालाई जित्दै अघि नबढ्ला भन्न सकिन्न त्यसैले भ्रष्टाचार विरुद्ध नारा मात्रै होइन अब खोजखबर गरेर सामाजिक बहिस्कार गर्न जरुरी रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर