Aamsanchar

अपराधबिरुद्धको रणनीति असफल

Author Image
बुधवार, फागुन ३०, २०७४

बिर्तामोड।

सरकारले अपराध नियन्त्रणका लागि विभिन्न रणनीति अपनाए पनि पूर्वमा भने असफल भएको छ । पूर्वका झापासहितका १६ जिल्लामा बर्षेनि अपराधका घटना बढ्दै गएको प्रहरीको तथ्यांकले पुष्टि गरेको छ । आर्थिक बर्ष २०७३÷०७४को साउन महिनादेखि चैत मसान्तसम्म पूर्वका १६ जिल्लामा एक सय १४ वटा कर्तव्य ज्यानका मुद्दा दर्ता भएका छन् ।

त्यस्तै ज्यान मार्ने उद्योग अन्तर्गत १ सय ५१, अपहरण ८, हातहतियार खरखजाना ४८, विष्फोटक पदार्थ सात, लागूऔषध चार सय ८२, राज्यविरुद्धको अपराध १, गर्भपतन ६, झुण्डिएर आत्महत्या ६ सय ९६, विष सेवन गरी आत्महत्या एक सय ८४, आगो लगाएर आत्महत्या सात, बम बिस्फोट २, औजार हतियारबाट आत्महत्या ३, गौबध ६ लगायतका जघन्य अपराधका घटना भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

जघन्य अपराध झापामा मात्रै १२ वटा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग १९, अपहरण २, हातहतियार खरखजाना ४, लागूऔषध ८१, झुण्डिएर आत्महत्या एक सय ३५, विष सेवन गरी आत्महत्या २२ गरी झापामा जघन्य अपराधका घटनामा बृद्धि हुँदै गएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रहरीले अपराध न्यूनीकरणका लागि विभिन्न योजनाहरु ल्याए पनि जघन्य अपराधका घटनामा कमी आउन नसकेको प्रदेश नम्बर १ प्रहरी कार्यालय बिराटनगरका प्रमुख पशुपति उपाध्यायले जानकारी दिए । पूर्वका १६ जिल्लामध्ये मोरङमा कर्तव्य ज्यानका घटना धेरै हुने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आर्थिक बर्ष ०७३÷०७४को साउनदेखि चैत मसान्तसम्म २० वटा हत्याका घटना भएका थिए भने दोस्रो स्थानमा सुनसरीमा अपराधका घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ ।

पूर्वका जिल्लामध्ये तेस्रो स्थानमा झापा पर्ने गरेको प्रहरीले जनाएको छ । जघन्य अपराध हुने जिल्लालाई दृष्टिगत गरेर प्रदेश प्रहरीले सोही अनुसारको सुरक्षा रणनीति अख्तियार गरे पनि अपराधका घटना न्यूनीकरण हुन नसकेको प्रहरीकै तथ्यांकले देखाएको छ ।

स्थानीय तथा प्रदेशको निर्वाचन सम्पन्न भएर प्रदेश सरकार गठन भइसक्दा समेत प्रदेशले सुरक्षा रणनीति परिवर्तन गर्न नसक्दा दैनिक जसो अपराधका घटना बढ्दै गएका छन् । यसैबीच प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला कानूनमन्त्री हिक्मत कार्कीले सुनचाँदी व्यवसायका क्षेत्रमा अपराधका घटना बढ्दै गएकाले उक्त क्षेत्रमा प्रहरीले निगरानी बढाएको बताएका छन् । प्रहरीसँग स्रोत र साधनको कमीले गर्दा अपराधको नजिकसम्म पुग्न कठिन भइरहेको भन्दै उनले प्रदेश नम्बर १मा प्रहरीले छिट्टै परिणाम देखिने गरी काम गर्ने बताए ।

प्रदेशको सुुरक्षालाई मध्यनजर गरेर कानून निर्माण गर्ने काम भइरहेको र हाल संघीय सरकारका अधिकारहरु प्रदेश सरकारमा ल्याउने काम भइरहेकाले तीन महिनाभित्रमा कानून निर्माण सम्पन्न गरेर कार्यान्वयनको चरणमा लैजाने योजनाका साथ आफू कानून निर्माणमा व्यस्त रहेको कानूनमन्त्री कार्कीको भनाइ छ । उनले पूर्व क्षेत्रमा घटेका अपराधलाई मध्यनजर गर्दै एक बर्षभित्रमा अपराध शून्यमा झार्ने रणनीतिका साथ आफूहरु लागेको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर