Aamsanchar

अब चाँही केही होला की ? पुरानो ठेक्का तोड्दै सडक निर्माण

Author Image
बुधवार, फागुन ३०, २०७४

दमक।

बिर्तामोडबाट सदरमुकाम चन्द्रगढी जोड्ने १३ किलोमिटर सडक निर्माण शुरु भएको ४ बर्ष बित्दा पनि केही काम अघि नबढेपछि पुरानो ठेक्का तोडेर नयाँ प्रक्रिया थालिएको छ ।

सडक डिभिजन कार्यालय दमकका अनुसार निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले काम नगरेका कारण ठेक्का तोड्दा निर्माण कम्पनीले अदालतमा मुद्दा हालेका कारण केही काम गर्न सकिएको थिएन । पछिल्लो समयमा सर्वोच्च अदालतले सडक डिभिजन कार्यालयले निर्माण कम्पनीलाई कार्वाही गर्दै ठेक्का रद्द गरेको फैसला गरेपछि अब नयाँ प्रक्रियाबाट सडक निर्माणको काम थालनी भएको जनाइएको छ । एशियाली बिकास बैकको सहयोगमा सासेक रोड कनेक्टीभिटी प्रोजेक्ट अन्तर्गत यो सडक निर्माणको काम शुरु भएको छ ।

थोदुङ लोहनी सिंह एण्ड ब्रदर्श जेभीले सन् २०१४ जनवरी १४मा यो निर्माणको जिम्मेवारी लिएको थियो । निर्माणका लागि काम थालनी गरेपनि त्यसपछि काम बीचमा नै छाडेर निर्माण ब्यवसायी सम्पर्कमा नआउँदा समस्या भएको बताइन्छ । धुलाम्मे र कच्ची सडकका कारण सदरमुकाम आवतजावतमा पनि समस्या भएको भन्दै बारम्बार आवाज उठ्दै आए पनि समस्या सामधान हुन सकेको थिएन ।

सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी एवम् इञ्जिनियर माधव पौड्यालका अनुसार २ बर्षमा काम सक्ने गरी उक्त निर्माण कम्पनीले ९ करोड ५३ लाखमा सडक निर्माणका लागि ठेक्का लिएको थियो । काम राम्रोसँग नभएपछि सन् २०१५मा नै ठेक्का तोडिए पनि उल्टै निर्माण कम्पनीले सडक कार्यालयलाइ मुद्दा हालेका कारण छिनोफानो नभएसम्म काम अघि नबढ्दा सडक निर्माण हुन सकेको थिएन ।

इञ्जिनियर पौड्यालका अनुसार पछिल्लो समयमा सडक डिभिजन कार्यालयले नयाँ डीपीआर अर्थात बिस्तृत परियोजना विवरण तयार पारिसकेको छ । बिर्तामोडदेखि चन्द्रगढीसम्म सडक निर्माण सम्पन्न गर्न १ अर्बको लागत अनुमान रहेको छ । प्रथम चरणको ४ किलोमिटरका लागि ३६ करोड रुपैयाँ बजेटसहित टेण्डर प्रक्रियामा रहेको पौड्यालले जानकारी दिए ।

चार किलोमिटर सडकमध्ये आधा बजार क्षेत्रमा ४ लेनको र बाँकी २ लेनको सडक बन्नेछ । बिर्तामोड बजार क्षेत्र, गरामनी र चन्द्रगढी क्षेत्रमा ४ लेनको र अरु क्षेत्रमा दुई लेनको सडक बन्ने डीपीआरमा रहेको छ । करिब ३ महिनापछिबाट बिर्तामोडबाट काम शुरु हुने र त्यसै अनुसार ठेक्का प्रक्रियामा गएको उनले बताए । दुईतिर नाला एवम् ढलसहितको सडक बन्ने सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर