शौचालय निर्माणमा प्राविधिक पक्षबारे बेखबर

[रेजिना गौतम]

झापा।

झापाको कमल गाउँपालिका वडा नम्बर–१ शरणपाडाका प्रेम सापकोटाले कंक्रिट रिङ प्रयोग गरेर शौचालय बनाएका छन् । उनकै भनाइमा शौचालय निर्माण गरेको १० वर्ष भयो । १० वर्ष अघि बनाइएको ‘अफ सेट’ प्रकृतिको शौचालय अहिले फुटेर प्रयोग गर्न नसकिने भएपछि सापकोटा अर्को शौचालय निर्माण गर्ने सोचमा छन् ।

जतिबेला सापकोटाले शौचालय निर्माण गरे त्यतिबेला अतिकतिमात्रै ध्यान पु¥याएको थियो भने एकदशकमै फेर्नुपर्ने थिएन । तर, निर्माणताका उक्त प्राविधिक पक्ष आफूलाई थाहै नभएको सापकोटाले बताए । उनले भने– ‘त्यतिवेला केही थाहा भएन, अर्को बनाउनै पर्ने भयो ।’ कमल गाउँपालिकामा प्राविधिक पक्षलाई ध्यान नदिई शौचालय बनाउने सापकोटा एक प्रतिनिधि पात्र मात्र हुन् ।

गाउँपालिकामा निर्माण गरिएका ‘अफसेट’ प्रकृतिका अधिकांश शौचालयको समस्या एउटै देखिएको छ । रिङ र घपनी जडान गर्दा ध्यान पु¥याइएको छैन भने दोस्रो कंक्रिटयुक्त रिङ खुल्ला छ । शौचालय निर्माण गरिएका अघिकांश शौचालयका रिङ माटोले छोपिएका छैनन् । अफसेट प्रकृतिको शौचालयमा दिसा जम्मा हुने रिङ छोपिएका भए पनि पेनसेटमा जोडिएको रिङ खुल्लै छन् ।

रिङ नछोपिएका कमल गाउँपालिका मात्र होइन कचनकवल गाउँपालिकाको अवस्था पनि त्यस्तै छ । दुवै स्थानीय तहमा निर्माण गरिएका ‘अनसेट र अफसेट दुवै प्रकृतिका पेन अर्थात् प्रोटोटाइप स्ल्यावमा जडित रिङ जमिनको सतह भन्दा निकै (डेढदेखि दुई अढाई फुटसम्म) उच्चा ठाउँमा राखिएका छन् । यसरी बनाइएका चर्पीमा दिसा–पिसाब जान बालबालिका र बृद्धबृद्धालाई कठिन देखिन्छ । यसले बालबालिकालाई दिसा–पिसाब चर्पी मै गर्नुपर्छ भन्ने बानी बस्न कठिन छ । कचनकवलमा दिसा जम्मा हुने खाल्डोमा लगाइएको रिङ पुरिएको भए पनि पेन सेट जडित रिङ भने छोपिएका छैनन् । अभियानमा जुटेका अभियन्ताहरुले पनि रिङको सुरक्षाका बारे सबैलाई जानकारी दिनसकेका छैनन् ।

अफसेट चर्पी बनाउने क्रममा प्यान राख्नका लागि प्लेटफार्मको सट्टा जमिनमाथि एउटा रिङ राखेर त्यसमा नै प्यान सेट गरी पाइपबाट दिसा खाडलमा जम्मा हुने बनाउने प्रविधि छिटो र सहज भएकोले मूलतः आपतकालीन अवस्थामा प्रयोग गरिने भए पनि अहिले सबैजसो घरायसी चर्पीमा यही प्रविधि प्रयोग गरिएको भेटिन्छ । प्यान सेट गर्दा जमिनमाथि रिङ राखेर सेट गर्नुभन्दा पनि जमिनमाथि प्लेटफार्म उठाएर सेट गर्नु दिगो, सजिलो र सुरक्षित भएको बताउँछन्– खुल्ला दिसामुक्त अभियानमा सहयोग गरिरहेको ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रमका झापा जिल्ला संयोजक बिनोदप्रसाद शर्मा ।

‘सहजीकरण गर्ने निकायले प्राविधिक पक्षमा ध्यान पु¥याउन नसक्दा उत्तिकै खर्च गरेर पनि कमसल चर्पी बनिरहेका छन्’– शर्मा भन्छन्– ‘रिङमा प्यान सेट गर्दा सजिलो हुने भएकोले यो प्रविधि मिस्त्रीको पनि रोजाइमा छ । जोखिम बढी हुँदाहुँदै पनि यसैगरी बनाउन मिस्त्री बानी परेका छन् ।’

त्यसो त, खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्ने निकायहरुले उपयुक्त प्राविधिक विकल्पको बारेमा कुरा नगरेका भने होइनन् । ‘खुल्ला स्थानमा दिसापिसाव गर्नेहरुलाई चर्पीसम्म पु¥याउनु नै फलामको च्युरा चपाउनुजस्तै बनेको छ’– केचनाका सरसफाई सहजकर्ता श्रवण गणेशको अनुभव छ– ‘त्यसैले हामीले जानेर पनि प्रविधिमा ध्यान पु¥याउन सकेका छैनौं ।’ यही कुरा स्वीकार्छन् सहारा नेपालका खुल्ला दिसामुक्त अभियान संयोजक किसन गौतम ।

‘शुरुका दिनमा हामीले उपयुक्त प्राविधिक सहजीकरण गर्न नसकेकै हो’– गौतमको भनाइ छ– ‘पछिल्ला दिनमा हामीले पनि प्रविधिमा ध्यान दिन थालेका छौं ।’
खुल्ला दिसामुक्त हुन बाँकी झापाका सबै स्थानीय तह अहिले खुल्ला दिसामुक्त बनाउने अभियानमा जुटेका छन् । स्थानीय तहका शौचालयबिहीन घरहरुमा शौचालय बनाउने र बनाउनुपर्छ भनेर जागरुक गराउने कार्य जारी छ ।

शौचालय बनाउने कार्य जारी रहँदा शौचालयको दिगोपनलाई ध्यान दिन अनेक प्रयासका बाबजुद निर्माण गरिएका शौचालयको आयु जतिसक्दो लामो होस् भन्ने भए पनि रिङमाथि देखियो भने त्यसको आयु कम हुन्छ भन्ने आफूले पनि धेरै पछि मात्र थाहा पाएको कमल गाउँपालिका वडा नम्बर १का वडाध्यक्ष केदार कटुवालले बताए । उनले भने– ‘प्राविधिक पक्षमा जानकारी नपाउँदा हामीले पनि चर्पी बनाउने काम मिस्त्रीको जिम्मामा छोडिदियौं, उनीहरुलाई चर्पीको किसिम र चर्पी बनाउने क्रममा हुन सक्ने कमजोरीको बारेमा बताउन सकेनौं ।’

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com