Aamsanchar

बिर्तामोडको कफी हाउसमा कफीका पारखीको भीड

Author Image
बुधवार, फागुन ३०, २०७४

बिर्तामोड।

यूएईमा रहेको एक कफी टेलरमा ६ बर्ष काम गरेर फर्किएका बिर्तामोड–१का राम तिवारीले बिर्तामोडमा सुविधासम्पन्न कफी हाउस सञ्चालन गरेका छन् ।

उनले सञ्चालनमा ल्याएको कफी हाउसमा कफीका पारखी इटहरीदेखि आउने गरेका छन् । ४० भन्दाबढी कफीको आइटम ग्राहकको रोजाईमा तत्काल उपलब्ध गराउन सक्ने तिवारीले सञ्चालनमा ल्याएको थ्रड होम कफी हाउस सँधै भरिभराउ हुन्छ । झण्डै ६० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको कफी हाउसमा सेनाका कर्णेलदेखि सरकारी ओहोदाका उच्च पदस्थ कर्मचारीको समेत लर्को लाग्छ ।

बिदेशमा रहँदा लामो समयसम्म अध्ययन र अनुसन्धानपछि उनले स्वदेशमै कफी हाउस सञ्चालन गरेका हुन् । उनी अष्ट्रेलिया जाने बिद्यार्थीलाई प्रशिक्षण प्रदान गर्न पनि अब्बल छन् । २००६देखि बिदेशमा रहँदा उनले कफीका विषयमा सिकेको ज्ञान र सिपलाई आफ्नै देशमा लगानी गरेर कफीका फ्यान बनाए । उनको कफी हाउसमा अहिले अग्र्यानिक कफी पाइने भएपछि कफीका पारखीको उपस्थिति बाक्लो हुन्छ ।

विश्वमा पेट्रोलियम पदार्थपछि सबैभन्दा बढी कफीको कारोबार हुन्छ । नेपाली बजारमा उत्पादित कफीले मात्र धान्न सक्ने अवस्था नरहेपछि काठमाडौंका तारे होटलले बिदेशबाट समेत कफी आयात गर्ने गरेका छन् । तर, थर्ड होम कफी हाउसका सञ्चालक तिवारीले भने आफ्ना ग्राहकलाई इलाममा उत्पादित अग्र्यानिक कफी बिक्री वितरण गरिरहेका छन् । उनले सञ्चालनमा ल्याएको कफी हाउसमा एक सय १० रुपैँयादेखि ५ सय ५५ रुपैयाँसम्मको कफीको मूल्य निर्धारण गरिएको छ । दैनिक १५ हजार रुपैयाँको कारोबार गर्ने उनी झापाका एक मात्र सफल कफी व्यवसायी हुन् ।

उनी मात्र होइन, बिर्तामोड–३ भगवानचौक निवासी दुर्गा खड्का र बिर्तामोड–५का पारस खतिवडाले पनि विदेशको अनुभवलाई स्वदेशमा लगानी गर्दै आय–आर्जनको बाटो रोजेका छन् । उनीहरुले झण्डै ५० लाख रुपैयाँ लगानी गरेर बिर्तामोडमा रोड–वे फास्टफुड सञ्चालनमा ल्याएका छन् । नेपालमै पहिलोपटक विदेशी अवधारणा अनुसार सञ्चालनमा ल्याइएको फास्टफुडमा ग्राहकको रोजाई अनुसार फाष्टफुड तयार पारिन्छ । जापानमा १० बर्षको अनुभव संगालेका खड्काले इन्टरनेशनल रिलेशनसिपमा मास्टर गरेका छन् । जापनीज प्रविधि अनुसार सञ्चालनमा ल्याएको फास्टफुड हाउसबाट ग्राहकको भावनालाई बुझेर तत्काल उपलव्ध गराइने उनको भनाइ छ ।

खानपानका कारण पछिल्लो समय धेरै मानिस अस्वस्थ रहने गरेकाले उनीहरुलाई सन्तुलित आहारका लागि समेत ज्ञान प्रदान गरिने अवधारणासहित कफी हाउस सञ्चालनमा ल्याएको बताइएको छ । खड्काले जापानको दाइतोबुङ्का युनिभर्सिटीबाट सन् २०१२मा मास्टर गरेका छन् । खड्काले पनि जापानमा लामो समयसम्म काम गरेर फास्ट फुड सम्बन्धी धेरै अनुभव बटुलेका छन् । सोही अनुभवलाई व्यवहारमा उतार्दै आय–आर्जनको बाटो उनीले रोजेका हुन् । खतिवडाले सन् २०१४मा ग्रेक इन्टरनेशनल कलेजबाट टे«डिङ विजनेशमा वीएसम्मको अध्ययन गरेका छन् । उनले पनि अन्य पेशा व्यवसायलाई छाडेर आफैंले आजर्न गरेको ज्ञान र सिपलाई आय–आर्जनको बाटो बनाए ।

पढेर जागिरको खोजी गर्नुभन्दा अरुलाई समेत रोजगारी दिलाएका तिवारी, खड्का र खतिवडा अहिले सवैका लागि उदाहरणीय पात्र बनेका छन् । उनीहरुले सञ्चालनमा ल्याएको कफी हाउस र फाष्टफुडमा अहिल ५÷७ जनाले रोजगारी समेत पाएका छन् । अध्ययनपछि भने जस्तो काम नपाइने भन्दै शैक्षिक बेरोजगार युवा विदेशिनेको लर्को लागिरहेको समयमा उनीहरुले स्वदेशमै आयआर्जनको बाटो रोजेर अरुलाई समेत व्यवसायप्रति आकर्षित गराएका छन् ।

दैनिक एक हजार ५ सय भन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन् । त्यतिकै संख्यामा अवैधानिक बाटो भएर विदेशिनेको युवाको जमात पनि छ । तर, उनीहरुलाई समेत स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देशका लागि उनीहरुले शुरु गरेको व्यवसाय अहिले सबैका लागि अनुकरणीय छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर