Aamsanchar

सामुदायिक विद्यालयमा सिटी सफारी

Author Image
बुधवार, फागुन ३०, २०७४

झापा।

झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६, हल्दिबारीस्थित सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई विद्यालय आउन जानका लागि अभिभावककै पहलमा सिटीसफारीको ब्यवस्था गरिएको छ ।

२०४५ सालमा स्थापना भएको विद्यालयमा निजी विद्यालय सरह अंग्रेजी माध्यमबाट पठनपाठनको शुरुवात भए सँगै विद्यालयमा अभिभावकको आकर्षण बढेपछि विद्यालयले सिटीसफारीको व्यवस्था गरेर विद्यार्थी ल्याउने र लाने गरेको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद घिमिरेले बताए ।

विद्यालयले नयाँ रणनीति बनाएर विद्यालयको शैक्षिणिक विकासमा अग्रसर भएर कार्यप्रारम्भ गरेसँगै विद्यालयमा आफ्ना छोराछोरी पठाउने आमा समूहको बैठक महिनाको अन्तिम शुक्रवार विद्यालय परिसरमै बस्ने गरेको छ । उक्त बैठकमा एक सय रुपैयाँ मासिक रुपमा बचत गर्ने र समूहकै सदस्यभित्र १८ प्रतिशत ब्याजदरमा लगानी गर्ने गरेको छ भने समूहले विद्यालयका गतिविधिहरुको समेत निगरानी गर्ने गरेको छ ।

शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा, उपमेयर भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, स्रोतब्यक्ति कृष्ण भण्डारी लगायतको टोलीले पनि विद्यालयको अनुगमन गरेको थियो । अनुगमनकै क्रममा सो विद्यालयमा पुगेका उनीहरुलाई विद्यालयका प्रधानाध्यापक घिमिरेले विद्यालयका गतिविधि तथा क्रियाकलापहरुको बारेमा जानकारी गराएका थिए ।

विद्यालयको साडे तीन कठ्ठा जमिन मात्र रहेको, र हालसम्मको विद्यालयमा गरिने खर्च मागेरै भए पनि सञ्चालन गरेको बताउँदै प्रधानाध्यापक घिमिरेले विद्यालयका समस्या समाधानका सहयोग गर्न आग्रह गरेका थिए । जसका लागि भूपू विद्यार्थीहरुको सहयोग रहँदै आएको पनि घिमिरेले बताए ।

विद्यालयबाट चार किलोमिटर टाढा रहेको सालमारा, शिवगञ्ज बजार छेउ, धौलेचोक लगायतका स्थानबाट सिटीसफारी प्रयोग गरी विद्यार्थीहरु विद्यालय आउने गरेको प्रधानाध्यापक घिमिरेले बताए । सिटीसफारी सञ्चालनका लागि सिटीसफारी प्रयोग गर्ने विद्यार्थीका अभिभावकबाट प्रति विद्यार्थी मासिक तीन सय रुपैयाँ भाडा शुल्क सफारी धनीले पाउने गरेका छन् । जसबाट सिटीसफारीले मासिक १० हजार पाउने गरेकोमा यस वर्षबाट सिटीसफारी भाडा बृद्धिको माग सफारी धनीले गर्दै आएको बताउँछन् विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर बुढाथोकीले ।

विद्यालय परिसर झट्ट हेर्दा निजी विद्यालयको जस्तै देखिन्छ । विद्यालयमा प्रयोग गरिएको रंगरोगन मात्र होइन विद्यालय कम्पाउण्ड वरिपरि लेखिएका शिक्षामुलक लेख र बनाइएका चित्रका साथै विद्यार्थीहरु खेल्नका लागि बनाइएका चिप्लेटी खेल्ने ठाउँ र पिङको पनि ब्यवस्थापनले निजी विद्यालयका झैं विद्यार्थीहरुले सुविधा पाउने गरेका छन् ।

निजी स्रोतबाट दुई जना, बालविकास तर्फ एक जना, विद्यालय सहयोगी भनेर एक जना र पाँच दरबन्दी रहेको सरस्वती प्राविमा हाल प्ले ग्रुपमा २६, नर्सरीमा १८ र १ देखि ५ सम्म ५५ जना विद्यार्थि रहेका छन् । दिउँसोको खाजा विद्यालय बाटै सबै विद्यार्थीहरुका लागि ब्यवस्थापन गरेको विद्यालयमा गत वर्षबाट नर्सरी कक्षा अंग्रेजी माध्यमबाट शुरु गरेको र यसलाई वर्षै पिच्छे बढाउँदै लाने विद्यालयको योजना रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर बुढाथोकीले बताए ।

निम्न वर्गका अभिभावकका छोराछोरीहरुलाई अंग्रेजी माध्यमबाट पढाइ शुरु गरेको विद्यालय सञ्चालनका लागि प्रधानाध्यापक घिमिरेले मागेर भए पनि खाजा खुवाउने गरेको शिक्षक अभिभावक संघकी अध्यक्ष धनमाया बुढाथोकीले बताइन् ।

२०४१ सालबाट स्थानीय दीपक बुढाथोकी, प्रेमबहादुर खड्का, केदारनाथ काफ्ले, भद्रमान राई, गणेश घिमिरे, जयनारायण मैनाली, मोहन पौडेल, धमैलाल तामाङ, हेमबहादुर बुढाथोकी, लक्षी गुरागाई, र जग्गादाता भगिरथ काफ्लेको प्रयासबाट शुरु भएको सरस्वती प्राथमिक विद्यालय २०४५ सालबाट प्राथमिक तहको पढाइका लागि स्वीकृत भएको थियो ।

झापा जिल्लाका केही विद्यालयहरुमा विद्यार्थीको अभावमा भइरहँदा शिवसताक्षी नगरपालिका वडा नं. ६ हल्दिबारीमा रहेको सामुदायिक विद्यालय सरस्वती प्राथमिक विद्यालयमा अभिभावकहरुबाटै सफारी सञ्चालन गरेर विद्यालय सञ्चालन भएको यस विद्यालयले जिल्लाकै नमूना विद्यालयको उदाहरण पेश गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)