Aamsanchar

२०० वर्ष पुरानो मन्दिर शिलान्यास

Author Image
बुधवार, फागुन ३०, २०७४

सिन्धुपाल्चोक, 

भूकम्पले क्षतिग्रस्त करीव २०० वर्ष पुरानो गोल्मा भीमेश्वर मन्दिरको पुनःनिर्माणका लागि आज बाह्रबीसे नगरपालिका–८, मानेश्वाँरामा शिलान्यास गरिएको छ ।

चालु आवमा रु १५ लाख रकम विनियोजन गरी पुरातत्व विभागले परम्परागत सुर्खी र चुना प्रयोग गरी पेगोडा (छानेशैली)मा बनाउन लागेको मन्दिरमा नेपाल तिब्बत युद्धका बेला जंगबहादुर राणाले पूजाआजा गरेको प्रमाण भेटिएको बताइएको छ ।

मन्दिरको आज प्रदेश नं ३ का उद्योग, पर्यटन तथा वनमन्त्री अरुण नेपाल, प्रदेशसभा सदस्य रमेश पौडेल, विश्व हिन्दू महासंघ नेपालका सभापति नीलप्रसाद भण्डारी, स्वामी दीनदयालजी महाराज, राष्ट्रिय धर्मसभाका धर्मराज बराल, बाह्रबीसे नगरपालिकाका उपप्रमुख सुशीला पाख्रिन, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गौरीशंकर नेपाल, समाजसेवी अम्बिका नेपाललगायतले सामूहिक शिलान्यास र पूजा गर्नुभयो ।

सो अवसरमा प्रदेश नं ३ का उद्योगमन्त्री नेपालले सिन्धुपाल्चोकको बाह्रबीसेदेखि रसुवाको भैरवकुण्डसँग बाटो निर्माण गरी पर्यटक भित्र्याउनुपर्नेमा जोड दिनुभयो । नगरपालिकका उपप्रमुख पाख्रिनले नगरपालिकाले मन्दिर बनाउन सहयोग गर्ने बताउँदै घुमथान–राम्चे–मानेश्वाँरा १३ किमी बाटो कालोपत्रे गरिने जानकारी दिनुभयो ।

हिन्दू महासंघका सभापति भण्डारीले करीब ९६ प्रतिशत ॐकार परिवारका मानिस रहेको नेपालमा हिन्दूधर्मले सबैलाई समान व्यवहार गर्ने बताउँदै मन्दिरका लागि महासंघले सहयोग गर्ने वचन दिनुभयो ।

स्वामी दीनदयालले मानेश्वाँरालाई धार्मिक पर्यटकीयस्थल बनाउन सुझाव दिनुभयो । मन्दिरका आजीवन संरक्षक बरालले मन्दिर क्षेत्रमा धर्मशाला एवं सत्तल बनाई हिन्दू धर्म, संस्कृतिका बारेमा दिनहुँ अन्तक्र्रिया गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य पौडेल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गौरीशंकर, बाह्रबीसे–८ का वडाध्यक्ष सुरज लामा, नेकपा (माओवादी)का पोलिटब्यूरो सदस्य सरल सहयात्री, साहित्यकार डा शैलेन्दुप्रकाश नेपाल, तत्कालीन जिविस सदस्य भक्तबहादुर नेपाली, अच्यूत नेपाललगायतले मन्दिर निर्माण गरी सो क्षेत्रमा महायज्ञ गरी धार्मिक पर्यटकीयस्थल बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर