Aamsanchar

बिर्तामोडका रेडमग र गाउँलेमा किरा भेटियो, अधिकांश होटलमा अखाद्य वस्तु बिक्रि

Author Image
शुक्रवार, चैत २, २०७४

झापा।

बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ ।क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल व्यवसायी संघ, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको टोलीले बुधबार र बिहीबार गरेको संयुक्त अनुगमनका क्रममा यस्तो पाइएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालसहितको टोलीले गरेको अनुगमनका क्रममा होटलले अखाद्य वस्तु बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको पाइएको थियो ।

रेडमग र गाउँलेमा किरा भेटियो

बिर्तामोडमा सञ्चालित रेडमग र गाउँले यहाँका नाम चलेका होटल हुन् । यी होटलमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका खाद्य सामग्रीमा किरा भेटिएको थियो । गाउँले होटलमा बुधवार गरेको अनुगमनका क्रममा खाद्यान्नमा किरा पाइएको थियो भने रेडमगमा विहीवार अनुगमन गर्दा ज्यूँदा र मरेका साङ्लासहितको खाद्य सामग्री विक्री बितरण गरिरहेको पाइएको थियो ।

रेडमगमा विक्रीका लागि राखिएका सामग्री म्याद गुज्रिएका र किरासरी पाइएपछि तत्काल होटल बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुङ्गानाले बताए ।

यसैबीच रेडमग होटलका सञ्चालक सुरेन्द्र उप्रेतीले आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् । उनले अनुगमन टोलीलाई गल्ती स्वीकार्दै तत्काल सुधार गर्ने बताए । सो होटलमा अनुगमन टोलीले पहेँलो स्टिकर टाँसेको छ । रेडमग र गाउँले मात्र होइन बिर्तामोडमा सञ्चालित अधिकांश होटलमा पहेंलो स्टिकर टाँसिएको थियो । अधिकांश होटलमा पहेंलो स्टिकर टाँसिएकाले अब उपभोक्ताले स्टिकर हेरेर मात्रै खाद्य सामग्री उपयोग गर्नुपर्ने अर्यालले बताए । उनले भने – ‘मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खाद्य सामग्री बिक्री हुँदोरहेछ, हामीले उनीहरुलाई सचेत रहन आग्रह गर्दै सरसफाईमा ध्यान दिन भनेका छौं ।

उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने होटल नसुध्रिए, अर्कोपटकको अनुगमनमा आउँदा अहिलेकै अवस्थामा पाइए होटल नै बन्द गर्छौं– अर्यालले भने । सबैभन्दा उत्कृष्टले (अतिउत्तम) थ्री स्टार पाउँछ भने उत्कृष्टले (उत्तम) टु स्टार, सन्तोषजनकले वान स्टारका हरियो रंगको स्टिकर पाउने र सामान्यले पहेंलो स्टिकर पाउने गरेको जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुङ्गानाले बताए ।

उनले भने– बिर्तामोडका अधिकांश होटल स्वास्थ्यका हिसाबले अयोग्य रहेको पाइए । यहाँ सञ्चालित अधिकांश होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेका पाइएको र केहीलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनेका छौं– खाद्य निरीक्षक ढुङ्गानाले भने ।

जनप्रतिनिधि भन्छन्– पशुले पनि खान अयोग्य

बुधवार र विहीवार गरिएको अनुगमनमा सहभागी बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले होटलमा अखाद्य वस्तुको खुलेआम बिक्री हुने गरेको भन्दै त्यस्ता अखाद्य वस्तु विक्री गर्ने होटल तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् । उनीहरुले स्थानीय निकायमा अधिकार नभएकाले आफूहरुले तत्काल केही गर्न नसक्ने बताउँदै सम्बन्धित निकायले त्यस्ता होटल तत्काल बन्द गर्नुपर्ने बताए ।

अनुगमनमा सहभागी बिर्तामोड नगर कार्यपालिकाका सदस्य भावना आचार्य घिमिरेले रेडमग होटल तत्कालका लागि बन्द गर्दै सरसफाई गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको बताइन् । उनले उपभोक्तालाई ठगेर मानव स्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको बताइन् । अनुगमनलाई निरन्तरता दिइने बताउँदै उनले भनिन्– यो होटल पूर्ण रुपमा सरसफाई गरेर मात्र सञ्चालन गरिनुपर्छ ।

यता बिर्तामोड नगरपालिका वडा नम्वर ५का सदस्य सुरेन राजवंशीले पशुले पनि खान अयोग्य वस्तु बिर्तामोडका होटलले खुलेआम बिक्री बितरण गरेर उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको बताएका छन् । राजवंशीले बिर्तामोडमा सञ्चालित रेडमगमा राखिएको खाद्य सामग्री घोडाले पनि खान अयोग्य रहेको बताए ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा नम्वर १की सदस्य यमुना आचार्यले रेडमगले उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गरेको बताएकी छिन् । अनुगमनमा सम्लग्न दलित महिला सदस्य हर्कमाया गजमेरले खान अयोग्य वस्तु विक्री गरेर बिर्तामोडका होटलले गम्भीर त्रुटी गरेको बताइन् । त्यस्तै वडा सदस्य प्रेम खरेलले खानेकुरामा किरा भेटिनु होटल सञ्चालकको चरम लापरवाही भएको बताए । होटल व्यवसायी संघ झापाकी सदस्य इन्दिरा श्रेष्ठले भने होटल व्यवसायीको बचावट गरेकी छिन् । उनले होटल व्यवसायीलाई तत्काल कारवाही गरिहाल्न नमिल्ने बताउँदै फेरि अनुगमन आउँदा उनीहरु सच्चिने बताइन् ।

कुन होटल कस्ता

बिर्तामोडमा सञ्चालित दुई वटा होटलले मात्रै अति उत्तमको लोगो पाएका छन् । खाद्य स्वच्छता सम्बन्धी ५० वटा मापदण्ड अन्तर्गत ९० अंकमाथि ल्याउन सफल बिर्तामोडको ह्याङ आउट क्याफे र मिटिङ पोइन्ट होटलले मात्रै थ्री स्टार अर्थात् अति उत्तमको स्टिकर पाएका छन् । यी होटल सरसफाई लगायत अन्य दृष्टिकोणले उत्कृष्ट रहेको पाइएको थियो ।

त्यस्तै बिर्तामोडका दुई वटा होटलले उत्तम अर्थात् टु स्टारको लोगो पाएका छन् । होटल होलिडे होम र बिनायकले टुु स्टारको लोगो पाएका हुन् । २१ वटा होटलमा गरिएको अनुगमनका क्रममा ४ वटा होटल मात्रै योग्य देखिएको अनुगमन टोलीमा संलग्न जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक ढुङ्गानाले बताए । त्यस्तै बिर्तामोडका ६ वटा होटल सन्तोषजनक रहेको अनुगमनका क्रममा पाइएको थियो ।

उनीहरुले वान स्टार लोगो पाएका छन् । वान स्टार लोगो पाउनेमा संगम स्वीट्स, श्याम मिष्ठान्न भण्डार, क्वालिटी स्वीटस् एण्ड फास्टफुड, होटल हिकोला हेरिटेज, होटल डेनियल र ओसियन होटल रहेका छन् ।

अनुगमन टोलीले अनुगमन गरेको ११ वटा होटलमा पहेंको स्टिकर टाँसेको छ । यस्ता होटल खाद्यान्न तथा सरसफाईका दृष्टिकोणले कमजोर रहेको वताइएको छ । जसमा होटल रेडमग, गाउँले खाजाघर, नटराज मिष्ठान्न भण्डार, फेमेली होटल, आशिर्वाद फ्रेण्ड्स क्याफे, ममता मिष्ठान्न भण्डार, आँगन स्वीटस्, मुनटावर, दाजुभाइ होटल, पाथीभरा स्वीटस् र तिरुपती होटालमा पहेंलो लोगो टाँस गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर