Aamsanchar

सुरक्षालाई प्रविधिमा जोड्दै प्रहरी, बिर्तामोडमा घटेनन् अपराधका घटना

Author Image
आइतवार, चैत ४, २०७४

(सुरेन्द्र भण्डारी)

बिर्तामोड ।

प्रहरीले प्रमाण सहितको अनुसन्धानका लागि सहजता होस् भन्दै झापाको मुख्य बजार बिर्तामोडका प्रत्येक टोल –टोलमा सीसी क्यामेरा जडान गरेको छ ।

दिन प्रतिदिन बिर्तामोडमा क्षेत्रमा आपराधिक कृयाकलाव बढ्दै गएपछि स्थानीय निकाय, उद्योगी व्यवसायी र विभिन्न संघ संस्थाको सहयोगमा प्रहरीले पूर्व – पश्चिम राजमार्ग सहित बिर्तामोडका प्रत्येक टोल– टोलमा सीसी क्यामेरा जडान गरेको हो । झण्डै तीस लाख रुपैयाँको लागयतमा यहाँका ५० वढी ठाउँमा सीसी क्यामेरा जडान गरिएको छ । जडित सीसी क्यामेराको मोनिटरिङ जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र सीसी क्यामेरा जडित टोल समितिबाटै गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सीसी क्यामेरा जडान गर्दा प्रहरीलाई आपराधिक गतिविधिमा सम्लग्नलाई पक्राउ गर्न सहजता हुने र प्रमाणसहितको अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरेपनि आपराधिक कृयाकलावमा सम्लग्नले नयाँ – नयाँ तरिका अपनाउँदै अपराधका घटना दिनहुँजसो घटाउन थालेपछि प्रहरीलाई थपिएको सुरक्षा चुनौतिमा भने अझैं कमी आउन सकेको छैन ।

एक साता अघि आँगन एफएमका समाचार बाचक मदन संग्रौलाले बिर्तामोडको भद्रपुररोडस्थित अन्नपूर्ण चोक नजिक रहेको अफिसको प्यासेजमा मोटरसाइकल राखेर समाचार भन्न रेडियो स्टेसन छिर्नुभयो । समाचार बाचन गरिसके लगत्तै उहाँ घर फर्कन अफिसबाट ओर्लनु त भयो तर उहाँको मोटरसाइकल राखेको ठाउँमा थिएन् । लगत्तै उहाँले प्रहरीमा उजुरी दिनुभएको छ तर उहाँको मोटरसाइकल अझैं भेटिएको छैन ।

त्यस्तै चन्द्रगढी निवासी अधिवत्ता दिपेन्द्र भट्टराईको पनि यसै साता बिर्तामोडबाटै मोटरसाइकल चोरीभयो । उहाँको मोटरसाइकल संवाद समूहको सचिवालयबाटै चोरी भएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दर्ता गराउनु भएको छ । तर, उहाँको पनि मोटरसाइकल भेटिएको छैन ।

चालू आर्थिक वर्षको यो अवधिमा संग्रौला र भट्टराई सहित ५४ जनाको मोटरसाइकल चोरी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दर्ता भएको प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो ।

विषेश गरी पार्किङ गरेर राखेको ठाउँबाट मोटरसाइकल हराउने गरेका छन् प्रहरी निरीक्षक विष्टले भन्नुभयो – उजुरीका आधारमा खोजतलास गर्दा केही मोटरसाइकल फेला परेपनि सवै मोटरसाइकल फेला पार्न सकिएको छैन । १२ वटा बेबारिसे अवस्थामा भेटिएका मोटरसाइकल सवारी धनीलाई बुझाइएको छ भने ६ वटा भन्सार पठाइएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो । प्रहरीले फेला पारेका मोटरसाइकल कोशी पारि, कोशी पारिबाट चोरिएका मोटरसाइकल पूर्वमा फेला पर्ने गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल मात्रै नभई बिर्तामोडमा नगद तथा गरगहना चोरीका घटनामा पनि कमी आउन सकेको छैन । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार साउनदेखि माघसम्म गरगहना र सामन चोरीका दर्जनबढी उजुरी परेका छन् । भारतसँगको खुल्ला सिमानाका कारण चोरीका घटना नियन्त्रणमा हामीलाई चुनैति छ – प्रहरी नायव उपरीक्षक कोइरालाले भन्नुभयो–बिर्तामोड क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन नयाँ – नयाँ सुरक्षा रणनीति अपनाएपनि आपराधिक गतिविधिमा उल्लेख्य कमी भने आउन सकेको छैन ।

बिर्तामोड पूर्वको व्यापारिक केन्द्र भएको र धेरै जिल्लाबाट व्यवसायका लागि मानिसहरु यहाँ आउने गरेको कारण नगरमा कस्ता मानिसको बाहुल्यता छ तथ्याङ्क राखिनु पर्छ – बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले भन्नुभयो– खुल्ला सिमना, विलाशी जीवनशैली लगाततका कारणले पनि आपराधिक घटना बढेका हुन् । यसको नियन्त्रण गर्न कस्तो रणनीति अपनाउनु पर्छ भन्ने विषय सम्बन्धीत निकायको ध्यान केन्द्रित हुन आवश्यक छ ।

बिर्तामोड नगर क्षेत्रबाटै व्यवसायी अपहरण र हत्या जस्ता जघन्य अपराधका घटना घट्न थालेपछि व्यवसायीसहित बिर्तामोडका वासिन्दा भयरहित वातावरणमा बस्न नसक्ने अवस्था सृजना भएको नेपाल सुँन चाँदी व्यवसायी संघ झापाका अध्यक्ष राजु धमलाले बताउनुभयो । उहाँले भन्नुभयो – यहाँका सम्पूर्ण नागरिकको जन धनको सुरक्षाका लागि नगरपालिकाले पनि नगर प्रहरीको व्यवस्थापन गर्न जरुरी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर