Aamsanchar

झापामा सामुहिक आँखादान राष्ट्रिय अभियान

Author Image
आइतवार, चैत ४, २०७४

[तुलसीप्रसाद निरौला] 
बिर्तामोड।

‘आँखा जीवन हो’ भन्ने नाराका साथ झापामा सामुहिक आँखा दान राष्ट्रिय अभियानको तयारी गरिएको छ । अप्टीमिष्ट नेपाल अन्तर्गत अप्टीमिष्ट क्लव अफ झापाको आयोजनामा झापाबाट उक्त अभियान शुरु गरिने भएको हो ।

एक जनाको आँखा दानले दुईजना दृष्टिविहीनले उज्यालो संसार देख्न सक्ने भएकोले झापामा पहिलोपटक उक्त कार्यक्रम ल्याइएको अप्टीमिष्ट क्लव अफ झापाका अध्यक्ष खगेन्द्र ओलीले जानकारी दिए ।

आगामी चैत २४ गते झापाको बिर्तामोडमा अभियानको उद्घाटन गरिने बताउँदै अध्यक्ष ओलीले उक्त अभियानलाई सार्थक बनाउन सबैलाई आग्रह समेत गरे । मृत शरीरको आँखामात्र कसैका लागि उपयोगी हुनसक्ने भएको र आँखा दान जस्तो सार्थक दान अरु केही हुन नसक्ने भएको बताउँदै उनले मरणोपरान्त दान गरिएको उक्त आँखा दृष्टिविहीनलाई प्रत्यारोपण गरिने जानकारी दिए ।

मेची आँखा अस्पताल अनारमनीको प्राविधिक सहयोगमा हुने उक्त कार्यक्रम झापामै पहिलोपटक गरिन लागिएको उनले बताए । आगामी चैत २४ गते बिर्तामोडमा औपचारिक कार्यक्रममार्फत शुरु गरिने उक्त अभियान देशैभर सञ्चालन गरिने उनले जानकारी दिए ।

मानव शरीरको महत्वपूर्ण अंगमध्ये आँखा पनि एक भएकोले उज्यालो संसार नदेख्नेहरुलाई उज्यालो संसार देखाउने आफूहरुको कर्तव्य भएकोले उक्त कार्यक्रमको आयोजना गरिएको बताउँदै अध्यक्ष ओलीले आँखा दान गर्नुभन्दा अगाडि इच्छापत्र फारम भर्नुपर्ने र त्यसका लागि परिवारको स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था भएको समेत उनले जानकारी दिए ।

संस्थाका उपाध्यक्ष निरज ढुंगेलको संयोजकत्वमा आर्थिक उपसमिति, मुकुन्द दाहालको संयोजकत्वमा आँखा दानको इच्छापत्र संकलन उपसमिति, राम काफ्लेको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, दीपक मिश्रको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । संस्थाले गरीब तथा विपन्न समुदायमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गराउने बताउँदै संस्थाका अध्यक्ष ओलीले प्रत्येक वर्ष १२ जनाको मोतियाविन्दुको शल्यक्रिया निःशुल्क गर्ने बताए ।

एक वर्षअघि काठमाडौंमा स्थापना भएको अप्टिमिस्ट नेपाल अन्तर्गत गतमाघ १८ गते अप्टिमिस्ट क्लव अफ झापा गठन गरिएको बताउँदै ओलीले रक्तदान गरेर संस्थाको औपचारिक शुभारम्भ गरिएको जानकारी दिए । खगेन्द्र ओलीको अध्यक्षतामा गठन भएको संस्थाको उपाध्यक्ष निरज ढुंगेल, सचिव राम काफ्ले, सहसचिव राजन नेपाल, कोषाध्यक्ष युवराज मैनाली रहेका छन् । त्यस्तै सदस्यहरुमा माधव लम्साल, गोविन्द सेलवाल, हेमराज श्रेष्ठ, सागर सेलवाल रहेका छन् । संस्थाको मुख्य कार्यालय अमेरिकाको सेन्ट लुइसमा रहेको र नेपालमा काठमाडौं, झापा, विराटनगर, लुम्बिनी र पोखरामा कार्यालय रहेको बताइएको छ ।

सरकारले गरेको अन्धोपन सर्वेक्षण अनुसार नेपालमा प्रतिहजार व्यक्तिमध्ये एक जना दृष्टिविहीन छन् । उक्त सर्वेक्षण अनुसार हाल विश्वमा प्रत्येक सेकेन्डमा एक जनाले दृष्टि गुमाइरहेका छन् । हाल नेपालमा ४ करोड ५० लाख व्यक्ति दृष्टिविहीन रहेकोमा त्यसमध्ये ८ प्रतिशत आँखाको नानी बिग्रेकै कारण अन्धोपनको शिकार भएको बताइएको छ । एचआईभी, हेपाटाइटिस र क्षयरोग जस्ता सरुवा रोगी तथा आँखा पाक्ने रोग भएका र क्यान्सरका बिरामीबाहेक अन्य सबैले आँखा दान गर्न सकिने मेची आँखा अस्पतालका मेडिकल सुपरिटेण्न्डेन्ट डा. पुरुषोत्तम जोशीले बताए । उनले मृत्यु भएको ६ घण्टाभित्र दान भएको आँखा मात्रै प्रत्यारोपण गर्न सकिने बताए ।

आँखाको नानी प्रत्यारोपण विशेषज्ञको सेवा सुविधालाई अझ नेपालको सबै क्षेत्रमा उपलब्ध गर्न आँखाको नानी रोग विशेषज्ञको जनशक्ति बढाउनुपर्ने र आँखा नानी प्रत्यारोपण शल्यक्रियाको लागि श्रोत, साधन र उपकरणको पनि आवश्यक मात्रामा उपलब्ध गर्न सरकारले ध्यान दिनुपर्ने उनले बताए । विश्वमै विरलै हुने भएकोले यो अभियानलाई आदर्शको रुपमा लिनुपर्ने उनले बताए ।

मेची आँखा अस्पताल बिर्तामोडमा आगामी चैत ७ गतेबाट आँखा संकलन केन्द्र स्थापना गर्न लागिएको बताउँदै उनले उक्त केन्द्रमा संकलन गरिएको आँखा प्रत्यारोपण गर्ने साधन एनके मिडियममा राखेर काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठानमा पठाइने जानकारी दिए ।

झापामै पहिलोपटक मेची आँखा अस्पताल केन्द्रमा स्थापना गरिन लागेको आँखा संकलन केन्द्रको उद्घाटन कार्यक्रममा साइट लाइफ (दृष्टि जीवन) नामक संस्थाका भाइस प्रिन्सिपल अतुल कपुर, सिनियर डाइरेक्टर प्याट्रिक इनरी, नेपाल आँखा बैंकका म्यानेजर शंकर त्वेना लगायतको सहभागिता रहने उनले बताए ।

आँखा संकलन केन्द्रमा मेची आँखा अस्पतालका नानीमा दक्षता प्राप्त नेत्र रोग विशेषज्ञ डाक्टर विजय भुसाल र डा. अनिता साहले सेवा दिने उनले बताए । अप्टिमिस्ट क्लब अफ झापाले शुरु गर्न लागेको सामुहिक आँखा दान राष्ट्रिय अभियानमा सहभागी हुन उनले सबैलाई आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर