Aamsanchar

सिडियोका अगाडि बालकले मागे बाबुसँग चर्पी भिक्षा “के आफ्नो छोरालाई दिसा खाइरहने बनाउनुहुन्छ बुबा ?”

Author Image
मङ्गलवार, चैत ६, २०७४

 विनोद धौलागिरि, शरणामती (झापा)

स्थानीय महेन्द्र आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत साम मोहम्मद सरसफाइ प्रवद्र्धन बाल क्लबको अध्यक्ष हुनुहुन्छ । गाउँका सयौं घरमा पुगिसक्नुभएको छ चर्पी बनाउन अनुरोध गर्दै । तर पनि आफ्नो घरमा चर्पी नहुँदा उहाँलाई गाउँ र साथीहरुबीच ‘मुख देखाउन’ पनि कठिन भएको थियो ।
सरसफाइ प्रवद्र्धन अनुगमन टोली शरणामती पुगेको थाहा पाएपछि साम मोहम्मद टोलीसमक्ष आइपुग्नुभयो । “मेरो बुबाले चर्पी नबनाउँदा मेरो पनि बेइज्जत भैसक्यो सर, उहाँलाई जसरी पनि चर्पी बनाउन लगाउनुप¥यो”, जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलसँग साम मोहम्मदले भन्नुभयो, “मेरो घरमा पनि चर्पी बनेन भने हाम्रो गाउँ कसरी खुल्ला दिसामुक्त घोषणा हुन सक्छ ?”

अनुगमन टोलीमा रहेका झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले खुल्लामा दिसा गर्नु अपराध भएको र अभिभावकको कमजोरीका कारण विद्यार्थीलाई ग्लानी महसुस हुन नहुने बताउँदै राम मोहम्मदका बुबा मोहम्मद वादसाह शेखलाई बोलाउनुभयो । “बुबा, हजूरले चर्पी नबनाउँदा स्कूलमा पनि मेरो इज्जत रहेन”, बुबासँग सामले प्रश्न गर्नुभयो, “हामीले झिंगा र अन्य विभिन्न माध्यमबाट आफ्नो दिसा अरुलाई खुवाइरहेका छौं भने हामीले अरुको दिसा समेत खाइरहेका छौं । के आफ्नो छोरालाई दिसा खुवाइरहन चाहनुहुन्छ ?”
छलफल कार्यक्रममा उपस्थित मुस्लिम धर्मगुरु अनारुल हकले समेत सरसफाइ आधा इमान भएको र सरसफाइबाट नै सभ्यता र सुसंस्कारको थालनी हुने भएकोले सबैले अनिवार्य रुपमा चर्पी बनाएर त्यसको सही प्रयोग गर्नुपर्ने बताएपछि मोहम्मद वादसाह शेखले वाचा गर्नुभयो, “मैले आजैबाट चर्पी बनाउन थाल्छु र एक हप्ताभित्र बनाइसकेर प्रयोग गर्न मिल्ने बनाउँछु ।”

खुल्ला दिसामुक्त गर्नु जनप्रतिनिधिको पहिलो दायित्व

झापालाई तोकिएकै मितिमा खुल्ला दिसामुक्त गर्ने अभियानको क्रममा कमजोर सरसफाइ अवस्था भएका स्थानहरुमा घरदैलो र समुदाय भ्रमण गरिरहेको प्रशासन र प्रहरी प्रमुखहरुसहितको जिल्लाको टोली आजै झापा जिल्लाको झापा गाउँपालिकामा पुग्यो । सम्पूर्ण जनप्रतिनिधिहरुले खुल्ला दिसामुक्त अभियानलाई टुंगोमा पु¥याउनु आफ्नो पहिलो दायित्वको रुपमा लिनुपर्ने जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल । “हामी सबै स्थानीय तहहरु स्थानीय सरकार भैसकेका छौं । हामीसँग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैको अधिकार छ”, अनुगमनका क्रममा भएको छलफलमा जनप्रतिनिधिहरुतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, “आवश्यक पर्छ भने नीतिगत निर्णय गरौं, कामको पहिलो सूचीमा खुल्ला दिसामुक्त अभियानलाई राखौं ।”

खुल्ला दिसामुक्त अभियान राज्यको अभियान र यसको अगुवाइ गर्नु स्थानीय तहको जिम्मेवारी भएको बताउँदै उहाँले भन्नुभयो, “गैरसरकारी संस्थाहरुले गाउँपालिका तथा नगरपालिकाले बनाएको योजनाअनुरुप सहजीकरणमा सघाउनुहुन्छ, आवश्यक प्राविधिक सहयोग गर्नुहुन्छ । बाँकी सबै काम स्थानीय तहको हो ।”
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले खुल्लामा दिसा गर्ने कार्य दण्डनीय भएकोले अभियानमा वाधा पु¥याउनेहरुमाथि आवश्यक परेमा प्रशासनिक कारवाही गर्न समेत सुरक्षा क्षेत्रलाई निर्देशन दिनुभयो ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले यही चैत्र महिनाभित्र झापालाई खुल्ला दिसामुक्त गर्ने कार्यमा सघाउनका लागि आफू पनि झापा गाउँपालिकामा आइपुगेको बताउनुभयो ।
झापा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र अन्य जनप्रतिनिधिहरुले चैत्र महिनाभित्र गाउँपालिकालाई खुल्ला दिसामुक्त गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अनुगमन टोलीले कुमरखोद र शरणामतीका विभिन्न बस्तीको स्थलगत अनुगमन गरी अन्तरक्रिया समेत गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर