Aamsanchar

के गर्दै छ प्रहरी प्रशासन ? झापामा तस्करी बढ्यो

Author Image
बुधवार, चैत ७, २०७४

झापा।

सरकारले अर्थ चुहावट नियन्त्रण अभियानका लागि देशभरका सुरक्षा निकायलाई निर्देशन जारी गरे पनि झापाका विभिन्न सीमावर्ती नाकाबाट तस्करी रोकिएको छैन ।

मेची भन्सार कार्यालय काँकरभिट्टा र भद्रपुर छोटी भन्सारमा व्यापारीले लत्ताकपडा लगायतका सामग्री ल्याउन छाडेपछि झापामा तस्करी नरोकिएको पाइएको हो । व्यापारी तथा कारोबारीले तस्करीको माध्यमबाट भन्सार छलेर भारतबाट नेपाल सामान भित्र्याउने र नेपालबाट भारत पठाउने काम गरिरहेका छन् । कतै नेपाल प्रहरी त कतै सशस्त्र प्रहरीको मिलेमतोमा यस्तो गतिविधिले तीव्रता पाइरहेको छ ।

झापाको वाहुनडाँगी, मेचीनगर, ज्यामिरगढी, भद्रपुर, पृथ्वीनगर, बनियानी, केचना, घेरावारी, कुमरखोद, गौरीगञ्ज लगायतका नाकाहरुवाट लत्ताकपडासँगै लागूऔषध, सुर्तीजन्य पदार्थ नेपाल भित्रिइरहेको स्रोतको दावी छ । वन्यजन्तु र मानव तस्करी समेत ती नाकाबाट हुन थालेका उदाहरण पनि छन् ।
भन्सार सुनसान भएपछि अर्थ चुहावट नियन्त्रण अभियान तथा जिल्ला प्रहरी कार्यालय झापाको आदेशमा वडा प्रहरी कार्यालय भद्रपुरले सीमा क्षेत्रमा निगरानी बढाएको छ ।

वडाका प्रहरी निरीक्षक प्रकाश जवेगूको नेतृत्वमा खटिएको टोलीले विशेष सुराकीको आधारमा केही दिन अघि भद्रपुरको नयाँ बजार नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको करिव ५० हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको थियो । त्यस्तै प्रहरी टोलीले सोमबार सोही नाकाबाट भारततर्फ लैजाँदै गरेको २३ हजार ४ सय ७३ रुपैयाँ मूल्य बरावरको सामान बरामद गरेको प्रहरी निरीक्षक जवेगूले जानकारी दिए । प्रहरीले १६ वट्टा हाजमेलाको जार र ४८ थान फेयर एण्ड लब्लीसहित शंकर स्टोर नाम उल्लेखित नगदी बिल फेला परेको उनले बताए ।

यता झापामा विभिन्न डिलर लिएर बसेका नेपाल लिभरबाट उत्पादित सामान र चुरोट भारतमा खपत गराउन तस्करीको माध्यमबाट पठाउँदै आएको स्रोतले जनाएको छ । यसअघि पनि नेपाल लिभरका सामान प्रहरीले बरामद गरिसकेको छ । त्यसैगरी झापामा तीन वटा सुर्तीजन्य उद्योग सञ्चालित छन् । तर, उद्योगमा आउने सुर्ती झापाका भन्सारबाट भित्रिन छाडेको छ । निधि, नाज र राजनिवास नाम गरेका गुट्खा उत्पादन भइरहेको र ती गुट्खामा प्रयोग हुने कच्चा पदार्थ पनि भन्सारबाट आउँदैन । मेची भन्सार, भद्रपुर छोटी भन्सार लगायत कुनै पनि भन्सारबाट सुर्ती र सुर्तीजन्य पदार्थ नेपाल नभित्रिएको मेची भन्सारका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए ।

उता झापाको उत्तरी क्षेत्र काँकरभिट्टादेखि एक किलोमीटर उत्तरवाट सुक्खा तथा काँचो सुपारी भारततर्फ तस्करी भइरहेको छ । सुपारी तस्करीमा ठूलै समूहको चलखेल रहेको छ । सूचना संकलनको लागि भन्दै सादा पोशाकमा खटिएका प्रहरी नै तस्करसँग साँठगाँठमा त्यस्तो कामलाई प्रोत्साहन दिइरहेको एक कारोबारीले आरोप समेत लगाएका छन् ।

भारतको कादोगाउँबाट नेपालको कचनकवल गाउँपालिका हँुदै ब्राउन सुगर भित्र्याउने गिरोहले भद्रपुरस्थित ट्रेड युनियन चोक नजिकै कोठा भाडामा लिएर दैनिक ठूलो मात्रामा कारोबार गर्दै आइरहेको सूचना सादा पोशाकमा खटिएका प्रहरीलाई जानकारी हँुदा समेत कोही पक्राउ परेको छैन ।

छिमेकी जिल्ला इलामको पशुपतिनगर नाकाबाट भन्सार छलेका सामान झापा भित्रिन थालेका छन् । पशुपति नगरमा भारतीय भन्सार नहुँदा व्यापारिक प्रयोजनका लागि ५ हजारभन्दा बढीका सरसामान ल्याउन नपाइने नियम छ । तर पनि दैनिक मिलेमतोमा लाखौ मूल्य बरावरको सामान नेपाल भित्र्याइरहेका छन् । दुई महिना अघि सोही नाकाबाट भित्रिएको करिव एक करोड मूल्य बरावरको लत्ताकपडा गाडीसहित इलाका प्रहरी कार्यालय बिर्तामोडले मध्यरातमा नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको थियो । घटनापछि व्यापारीले करिब १५ लाख रुपैयाँ बुझाई गाडीसहित सामान छुटाएका थिए ।

तस्करी भइरहेको विषयमा जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णुकुमार केसीले प्रहरीको सक्रियतामा सरसामान बरामद भइरहेको बताएका छन् । ‘सीमामा तैनाथ प्रहरी कर्मचारी तस्करसँगको मिलेमतो तस्करी गतिविधिलाई प्रोत्साहन दिएको सूचना पाउनासाथ त्यस्ता प्रहरीलाई विभागीय कारवाही गर्छौ– उनले भने । झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सीमा क्षेत्रमा खटाइएका सशस्त्र प्रहरीलाई सक्रिय बनाइने आश्वासन दिएका छन् । आफूले तत्काल सशस्त्रका एसपीलाई यस बारेमा जानकारी गराउने उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर