Aamsanchar

२६ औं विश्व पानी दिवसमा विभिन्न कार्यक्रम

Author Image
शुक्रवार, चैत ९, २०७४

बिर्तामोड, ८ चैत्र
२६ औं विश्व पानी दिवस विभिन्न कार्यक्रमको साथ सम्पन्न गरिएको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाको बैठकले पानी दिवसका कार्यक्रमलाई गाउँ गाउँमा केन्द्रित गर्ने निर्णय गरेसँगै सम्पूर्ण कार्यक्रमहरु गाउँ र स्थानीय तहमा केन्द्रित गरिएको हो ।

यसै क्रममा समृद्ध जीवनका लागि पानीलाई बचाउन र धर्ती सफा राख्नका लागि गौरादह नगरपालिकाका बालबालिकाहरुले अभिभावकहरुसँग अनुरोध गरेका छन् ।
“चर्पी बनाउनभएन भने जमिन सफा हुँदैन, फोहर जमिनले पानीलाई पनि फोहर बनाउँछ”, बैराती आधारभूत विद्यालय गौरादहका विद्यार्थी विकास ताजपुरियाले विद्यालयमा उपस्थित अभिभावकहरुलाई अनुरोध गरे, “त्यसैले, घरमा चर्पी बनाएर हामीलाई दिसा गर्ने ठाउँ बनाइदिनुस् । अब हामी बालबालिकाले खुल्लामा दिसा गर्दैनौं ।”
२६ औं विश्व पानी दिवसको अवसर पारेर विद्यालयमा रहेको लालीगुराँस बाल क्लबले चर्पी नहुने घरमा अभिभावकहरुलाई समेत विद्यालयमा भेला पा¥यो । “बालबालिका र अभिभावकलाई सँगै राखेर छलफल गरेमामात्र यो विषय समुदायको साझा विषय बन्न सक्ने भएकोले”, सरसफाइ फोकल शिक्षक गुञ्जा ताजपुरियाले भने, “विद्यार्थी र अभिभावकलाई सँगै राखेर चर्पी, सरसफाइ र पानीको सुरक्षाको बारेमा छलफल गर्नुका साथै चर्पीका लागि बालबालिकाले अपिल गरेका हुन् ।”

विद्यार्थीको निम्तो मान्न विद्यालयमा आएकी अभिभावक जगदम्वा राजवंशीले नानीहरुले आफूहरुको आँखा खोलिदिएको बताइन् । “घरमा चर्पी नभए पनि चलिरहेकै छ भनेर आलटाल गरेका थियौं”, उनले भनिन्, “आज सबैका सामु नानी बाबुहरुले हाम्रो आँखा खोलिदिए । अब पानी र जमिन दुबैलाई सफा राख्न घरमा चर्पी बनाउछौं ।”
बालबालिकाहरुको प्रयासले आफूहरुलाई समेत झक्झक्याएको विद्यालयका प्रधानाध्यापक पहाड सिं राजवंशीले बताए । बालबालिकाको अनुरोधलाई मान्दै विद्यालयको शौचालय मर्मतसम्भार गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

झापा जिल्लाको शरणाामतीमा रहेको रामजानकी बाल क्लबले समेत आज अभिभावकहरुलाई चर्पी बनाउन र पानीको सुरक्षाका लागि सरसफाइ राख्नुपर्नेमा जोड दिए । “हामी खुल्लामा दिसा गर्न जाँदा लाज लाग्छ”, अप्सना खातुनले आमा सोहागी बेगमलाई अनुरोध गरिन्, “अरु केही माग्दिनँ, मेरो इज्जत बचाउनका लागि पनि घरमा चर्पी बनाइदिनुस् ।”
छोरा कृष्ण गणेशको अनुरोधपछि आमा इन्दिरा गणेशले घरमा चर्पी बनाउने र घर वरिपरी सफा राख्ने प्रतिवद्धता व्यक्त गरिने । दिगो सामाजिक परिवर्तनका लागि बालबालिकालाई भविष्यका कर्णधारको रुपमामात्र नभै वर्तमानका साझेदारको रुपमा लिनुपर्ने गाउँपालिकाकी महिला सदस्य लक्ष्मी गणेशले बताइन् । प्रदूषित पिउने पानीबाट पीडित कचनकवल गाउँपालिकाका बासिन्दाहरुले पानीको सुरक्षाका बारेमा छलफल गरे । “हाम्रोमा खानेपानी योजना पनि सञ्चालनमा छैन, डिप बोरिङ पनि छैन”, कचनकवल–७ का वडाध्यक्ष भरत राजवंशीले भने, “कलबाट रातो पानी आउँछ, फिल्टर नगरीकन कपडा धुन पनि मिल्दैन ।”स्वास्थ्यकर्मी विष्णुप्रसाद राजवंशीले प्रदूषित र अशुद्ध पानीबाट ६० प्रतिशतसम्म रोगहरु लाग्ने भएकोले पानीको सुरक्षामा ध्यान दिनुपर्ने बताए ।

गौरीगञ्ज गाउँपालिकामा स्थानीय टोल समूहहरुले छलफल र अन्तरक्रिया गरेर पानी दिवस मनाए । “पानीको शुद्धीकरण र वातावरणीय सरसफाइमा केन्द्रित भएर छलफल भयो”, खुल्ला दिसामुक्त अभियानकर्ता सोम आचार्यले भने, “घरमा चर्पी भएमात्र वातावरण सफा राख्न सकिने र पानीका श्रोतहरु समेत सफा राख्न सकिने भएकोले समग्र सरसफाइमा केन्द्रित भएर आज दिनभरका कार्यक्रम भए ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)