Aamsanchar

विश्व छाला स्वास्थ्य दिवस मनाइयो

Author Image
आइतवार, चैत १८, २०७४

काठमाडौँ,

गर्मीयाम शुरु भएसँगै धुलोधुवाँ र घामले छालालाई गम्भीर असर पार्नसक्ने भएकाले सचेत रहन छाला रोग विशेषज्ञले सल्लाह दिएका छन् । नेपालका छाला विशेषज्ञको छाता संगठन नेपाल चर्म, यौन तथा कुष्ठरोग समाज नेपालले विश्व छाला स्वास्थ्य दिवस र समाजको स्थापना दिवस पारेर विश्व छाला स्वास्थ्य दिवस मनाउने क्रममा छालाको हेरचाह गर्न सुझाव दिएका हुन् ।

नेपाल चर्म, यौन तथा कुष्ठरोग समाज नेपालले २७औँ स्थापना दिवसको अवसर पारेर छाला रोगबारे सचेत गराउने उद्देश्यले जनचेतनामूलक ¥याली निकालेको थियो । काठमाडौँ मेडिकल कलेजका सहप्राध्यापक तथा समाजका सदस्य वरिष्ठ छालारोग विशेषज्ञ प्रा डा सविना भट्टराईले नेपालमा स्वास्थ्य संस्थाका बहिरङग सेवामा उपचारका लागि आउने बिरामीमध्ये २० देखि ३० प्रतिशत बिरामी छालाका हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “धेरैले छालाका समस्यालाई गम्भीररुपमा नलिने गरेकाले छालामा विभिन्न एलर्जी हुने, दागधब्बा आउने, उमेरभन्दा बुढो देखिने, चाउरी पर्ने, अनुहार तथा कपाल सुक्खा हुने र छालाको सौन्दर्य हराएर जानेजस्ता समस्या देखिने गर्छ ।”

उहाँले नेपालमा कम देखिए पनि छालाको समस्या बढ्दै गएमा वा धेरै घाममा काम गरेमा छालाको क्यान्सरको जोखिम पनि बढ्ने जानकारी दिनुभयो ।
छाला रोग विशेषज्ञ डा रवीन्द्र बास्कोटाले वातावरणीय प्रदूषण, अस्वस्थकर खानपान, जथाभावी औषधिको प्रयोगलगायतका कारणले पनि छालाका समस्या बढाएको बताउनुभयो । दाद, संक्रमण, लुतो, एलर्जी, डण्डीफोर, चायाँपोतो, कत्ले रोग, दुबीलगायतका समस्या बढी देखिने समस्या हुन् ।

सुन्दरता बढाउन र सामान्य ठानेर आफैँ बजारमा पाइने जुनसुकै औषधि, क्रिम, लोसन प्रयोग नगरी छाला विज्ञको सल्लाहमा मात्र प्रयोग गर्न डा बास्कोटाले सुझाव दिनुभयो ।

छाला विशेषज्ञको अन्तर्राष्ट्रिय संस्था ‘इन्टरनेशनल लिग अफ डम्र्याटोलोजी’ को आह्वानमा हरेक मार्च २९ लाई विश्व छाला दिवस मनाउने गरिन्छ । दिवस ‘छालालाई माया गराँै, स्वस्थ रहौँ’ भन्ने सन्देशका साथ विश्वभर मनाइएको थियो । गत वर्षदेखि विश्व छाला स्वास्थ्य दिवस मनाउन शुरु गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर