Aamsanchar

गोलीको छर्रा लागेकी अनुपामा १५ वर्षपछि खुशी फर्कियो

Author Image
मङ्गलवार, चैत २०, २०७४

[सुरेन्द्र भण्डारी] 

झापा,

पाँचथरको हिलिहाङ गाउँपालिका–७ निवासी ३१ वर्षीया अनुपा राईको १५ वर्षपछि खुशी फर्किएको छ ।  ओखलढुंगाको कुइभीर माविमा कक्षा–९ मा अध्ययनरत रहेकै बेला जनयुद्धमा होमिनुभएकी अनुपा ०५९ साल वैशाख २४ गते संखुवासभाको चैनपुर आक्रमणमा सेनाले थापेको धरापमा पर्नुभएको थियो । त्यो बेला लागेको गोलीको छर्रा बिर्तामोडमा रहेको बिएण्डसी हस्पिटलले निकाल्दै निःशुल्क उपचार शुरु गरेपछि उहाँमा १५ वर्षपछि खुशी फर्किएको हो ।

दश वर्ष लामो गृहयुद्धपछि शान्ति सम्झौता भएको ११ वर्ष बितिसक्दा समेत उपचारमा कसैले चासो नदिँदा अनुपा विगत १५ वर्षदेखि शरीरभरि गोलीको छर्रा लिएर कष्टपूर्ण जीवन बिताइरहनुभएको थियो ।

२०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएपछि तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो ।

युद्धविराम पछि माओवादी शान्तिपूर्ण राजनीतिमा आएर पटक–पटक सरकारमा पुगे पनि जनयुद्धकी घाइते अनुपाको उपचारका लागि न त पार्टीले सहयोग ग¥यो न त सरकारले नै । आर्थिक अभावका कारण शरीरभरि गोलीका छर्रा लिएर कष्टपूर्ण जीवन बिताइ रहनुभएकी अनुपाको बिएण्डसी अस्पतालले निःशुल्क उपचार शुरु गरेसँगै उहाँमा गुमेको खुशी पुनः फर्किएको हो ।

आफैँलाई पढाउने शिक्षकसहित १५ जना साथी एकैपटक माओवादीमा प्रवेश गर्दै युद्धमा होमिनुभएकी अनुपालाई चैनपुर आक्रमणमै शहीद घोषणा गरिएको थियो । सोमबार अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अनुपाले भन्नुभयो – मलाई चैनपुर आक्रमण मै मृत्यु घोषणा गर्दै शहीद घोषणा गरियो । तर, दुई दिनपछि मेरो होस आएर स्थानीयवासीको सहयोगमा म २१ दिनपछि पार्टीको सम्पर्कमा पुगेँ । तर, शरीरमा लागेका गोलीका छर्रा निकाल्न नसक्दा आज पनि घाइते अवस्थामा दुःखले जीवन बिताइरहेकी छु ।

पाँचथरमा अनुपा आर्थिक अभावमा शरीरभरि गोलीका छर्रा लिएर उपचारका लागि वर्षौंदेखि भौँतारिइरहेको समाचार राष्ट्रिय समाचार समितिले समाचार प्रकाशन गरेपछि बिएण्डसी अस्पतालले उहाँको उपचार निःशुल्क गर्ने घोषणा गरेको थियो । दुई दिन अघि अस्पताल आइपुग्नुभएकी उहाँलाई निःशुल्क उपचार शुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाँईले बताउनुभयो ।

यता अस्पतालका न्यूरो सर्जन डा पंकज नेपालले आज अनुपाको शल्यक्रिया गर्ने बताउनुभयो । “उहाँको एउटा छर्रा जटिल ठाउँमा छ, त्यो छर्राले दिमागलाई छोएको छ,” डा पंकजले भन्नुभयो “मान्छेको दाहिने दिमागले देब्रेलाई कन्ट्रोल गर्छ, देब्रेले दाहिनेलाई । उहाँको दाहिने दिमागमा छर्रा छ, त्यसैले देब्रे दिमाग लाटो भएर बसेको छ ।”

दिमागभित्रको छर्रा गर्मीमा तातेपछि अनुपालाई असर गरिरहेको डाक्टर पंकजले बताउनुभयो । “यो छर्रा निकाल्न सम्भव छ, हामीले पहिले पनि यस्तै ठाउँमा भएको छर्रा निकालेका छौँ,” उहाँले भन्नुभयो – “यो एकदमै जटिल शल्यक्रिया हो, म चारजनाको टिम लिएर जान्छु, झण्डै १० घण्टा समय लगाएर अनुपाको सफल शल्यक्रिया गर्छु ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर