Aamsanchar

ग्रामिण भेगका महिलामा पाठेघरको समस्या उच्च

Author Image
मङ्गलवार, चैत २०, २०७४

[दिपेन लावती ]

शान्तिनगर,

झापाको बुद्धशान्ति गाउँपालिकाका अधिकांश महिलामा पाठेघर खस्ने समस्या उच्च देखिएको छ । पाठेघर सम्बन्धी निःशुल्क शिविरको क्रममा स्वास्थ्य जाँच गर्न आएका अधिकांश महिला पाठेघर खस्ने समस्याको कारण पीडित रहेको पत्ता लागेको हो ।

बुद्धशान्ति गाउँपालिका स्वास्थ्य इकाई शाखाको आयोजना तथा मेची अञ्चल अस्पता भद्रपुर र प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीको प्राबिधिक सहयोगमा आईतबार र सोमबार २ दिन शिबिर चलेको थियो । शिविरमा आएका ४ सय २५ जना मध्ये अधिकांशमा पाठेघरको समस्या देखिएको छ । पाठेघर खसेका १० जनाको निशुल्क शल्यक्रियाका लागि मेची अञ्चल अस्पताल रेफर गरिएको बुद्धशान्ति गाउँपालिका स्वास्थ्य इकाई शाखाका सिनियर अहेव दिपक सापकोटाले जानकारी दिए ।

त्यस्तै पाठेघर भित्र क्यानसरको संभावना रहेका १७ जनालाई विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा रेफर गरिएको छ । भर्खरै पाठेघर खस्न थालेकादेखि ठूलै समस्यामा रहेका महिलाले शिविरबाट सेवा लिएका थिए । ‘गाउँघरमा कामकाज नगरी हुँदैन, सुत्केरी हुँदा पनि स्वास्थ्यको ख्याल नगरिए पछिको परिणाम महिलाहरूले भोगिरहनु भएको पाइयो,’ मेची अञ्चल अस्पतालकी स्त्री रोग बिशेषज्ञ डा.झुमा सिलवालले बताईन् ।

‘शिविरमा आएका अधिकांशमा पाठेघर खस्ने समस्या छ । फरक यत्ति हो कसैमा भर्खर समस्या सुरु भएको छ भने कसैमा धेरै भैसकेको छ ।’ सुत्केरी भएको समयमा पर्याप्त आराम नगर्नु, धेरै बच्चा जन्माउने लगायतका कारणले महिलामा पाठेघर खस्ने समस्या हुन्छ । पाठेघर खस्ने समस्या भएको थाहा भएका कतिपय महिला शिविरमा आउन सकेनन् । सबै महिलाको स्वास्थ्य परीक्षण गर्ने हो भने अन्या पनि यस्तो समस्या हुन सक्ने चिकित्सकले बताएका छन् ।

शिबिरमा आएका मध्ये २१ जनालाई नरप्लान्ट, ३ जनालाई आयुसिडी लगाइयो । ती मध्ये १० जनाको पाठेघरमा रिङ राखिएको छ । त्यस्तै, पाठेघर भित्र एजेरु पलाएको ८ जना भेटिएको छ भने ८० जनाको (पीआइडी) टेस्ट गरिएको छ । एउटा बच्चा जन्मिएपछि अर्को बच्चा नभएका ४ जनाको पाठेघर परिक्षण गरिएको छ ।

पाठेघरको समस्या लिएर शिबिरमा आएका महिलाहरुलाई ६२ हजार बराबरको औषधी निशुल्क बितरण गरिएको शान्तिनगर स्वास्थ्य चौकीकी प्रमुख मेनुका दाहालले बताईन् । बुद्धशान्ति गाउँपालिकाको १ लाख ६२ हजार रुपैयाको सहयोगमा सो शिबिर आयोजना गरिएको हो । शान्तिनगर स्वाथ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष बासुदेब खतिवडाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलको प्रमुख आथित्यमा सम्पन्न शिबिरमा गाउँपालिकाका कार्यकारी अधिकृत मनोज राउतको बिशेष आथित्य रहेको थियो ।

आइतबार स्वास्थ्य चौकी बुधबारे र सोमबार शान्तिनगर स्वास्थ्य चौकीमा निशुल्क शिबिर आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)