Aamsanchar

बाढीबाट घरपरिवार जोगाउन मेचीकिनारका बासीन्दाले दिए तटबन्धन बनाउन दवाव

Author Image
शनिवार, वैशाख १, २०७५

(पार्थ मण्डल)

भद्रपुर ।

बर्षेनी डुबानको चपेटामा पर्दै आएका भद्रपुर नगरपालिका ५ स्थित मेचीकिनारका बासीन्दाले तटबन्धनको माग गर्दै दवाव दिएका छन् । मेची नदीमा आएको बाढीले बर्षेनी धनजनको क्षति पुग्ने गरेको भन्दै बाढी पीडित स्थानीयले भद्रपुर नगरपालिका कार्यालय पुगेर दवाव समेत दिएका छन् ।

मेचीकिनारको सुकुम्बासी टोलमा करिब ४० घरपरिवार बसोबास गर्दै आएको छ । मेची नदीमा निर्माणाधिन अवस्थामा रहेको मेची पूलको दायाँबायाँ निर्माण कम्पनीले तारजालीको तटबन्धन कार्य गर्दै आएको छ । पूल निर्माण कम्पनीले दक्षिणतर्फको सुकुम्बासी टोलको पूर्व पट्टीको भागमा अहिले तारजालीको तटबन्धन बनाउँदै आएको छ । तर, निर्माण कम्पनीले करिब १७० मीटर तटबन्धन गरी अधुरो छाड्न लागेपछि स्थानीय बासीन्दा त्यसको विरोधमा उत्रिएका हुन् । उनीहरुले सुकुम्बासी बस्तीलाई बाढीबाट जोगाउन थप ७० मीटर तटबन्धनको माग गरेका छन् । अहिले बनाएको तटबन्धनलाई अधुरै छाडेमा बाढीले फेरी बस्ती डुबान पार्नेमा स्थानीय चिन्तित देखिएका छन् ।

पूल निर्माण कम्पनीले सो क्षेत्रका बस्ती डुबानमा नपर्ने गरी तटबन्धन बनाउनेमा स्थानीय र नगरपालिका ढुक्क थिए । तर, निर्माण कम्पनीले आफ्नो इस्टिमेट बमोजिम अधुरो तटबन्धन बनाउने बारेमा स्थानीय बेखबर रहेको स्थानीय बिर्जु सहनीले बताए । तटबन्धनलाई नबढाए बाढीले पूरै गाउँ डुबानमा पर्ने स्थानीय महिला काली महत्तोले बताइन् ।

‘एकातर्फ मेचीको बाढी अर्कोतर्फ पैनीले गाउँ बर्षेनी डुबानमा पर्छ, स्थानीय साबु माझीले भने– ‘अहिलेसम्म मान्छे बगाएको छैन्, यस्तै हो भने मान्छे बगाउन पनि बेर छैन, त्यसैले तटबन्धन बनाउनुपर्छ ।’ स्थानीय सिजान दासले भनिन्– ‘अधुरो तटबन्धन बनाएर बालबालिका र महिलालाई सुरक्षित बस्ने व्यवस्था सम्बन्धित पक्षले मिलाइ दिनुपर्छ ।’ यता भद्रपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बन्धु कार्कीले मेचीकिनारको सुकुम्बसी टोलका बासीन्दाले यसअघि नै तटबन्धन निर्माणका लागि वडा कार्यालयमा लिखित पत्र बुझाइसकेको छ ।

‘त्यहाँ बाढी पीडित बासीन्दा शक्रुवार विहान पुनः नगरपालिका आएपछि अधुरो तटबन्धन पूरा गराउन हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासलाई लिखित पत्र बुझाएका छौ, उनले भने । तटबन्धनलाई ७० मीटर लम्बाइ बढाउन वडा कार्यालयले सम्बन्धित निकायमा सक्दो पहल गर्ने उनले बताए । हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासले भने– ‘पूलदेखि १०५ मीटर तटबन्धन बनाउनु पर्नेमा पूल कम्पनीले त्यसलाई बढाएर १७० मीटर बनाएको छ ।’ योजना कार्यालय इटहरीमा नयाँ कार्यालय प्रमुख आउन साथ यस बारेमा छलफल गरि अघि बढने उनले बताए । स्थानीयले थप ७० मीटर तटबन्धन बनाउन माग गरेकाले अहिले ताराजाली पूल कम्पनीसंग नरहेकोले केही समय पर्खिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर