पचास–पचास प्रतिशतमा एकता हुने सहमति नभएको : नेता खनाल

विराटनगर,

पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग ५०–५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले दुवै पार्टीका अध्यक्षबीच आपसी समानता र सहमतिका आधारमा पार्टी एकता हुने हो अरु बाँकी सबै सञ्चारमाध्यमको हल्लामात्र भएको प्रष्ट पार्नुभयो ।

पार्टीका वरिष्ठ नेता खनालले दुवै पार्टीबीच एकता अगाडि र पछाडि कुनै लिखित सम्झौता नभएको र नहुने बताउँदै एकतापछि पार्टीका हालका लागि दुई अध्यक्ष हुने अरु संगठनमा आपसी समझदारी चयन गर्ने बताउनुभयो ।

उहाँले दुवै पार्टीबीचको आपसी एकता प्रक्रिया कुनै हालतमा नरोकिने ठोकुवा गर्दै आगामी वैशाख ९ गते पार्टी एकीकरणको मितिसमेत नसर्ने प्रष्ट पार्नुभयो ।
नेता खनालले दलको एकीकरण सम्बन्धमा राजनीतिक र सांगठनिक प्रतिवेदन तयार रहेको र प्रतिवेदन जनयुद्ध सम्बन्धमा सकारात्मक रहको छ भन्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले सचिव सरुवा सम्बन्धमा केही कार्य गर्दा कोही पनि कहिले पनि पूर्ण सन्तुष्टि हुँदैन भन्दै असन्तुष्टबाट नै राम्रो कामको शुरुवात हुन्छ भन्नुभयो ।

नेता खनालले वाम गठबन्धन सरकार भर्खरै निर्माण भएको छ भन्दै जनताले अनुभूति गर्ने विकास र मुलुकको आर्थिक समृद्धिमा सरकारले दु्रत गतिबाट कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com