नछुटाई पढ्नु पर्ने लेख : आमा तपाईंमाथि शासन गर्ने बुहारी चाहिएन मलाई

यहीँबाट कथा आरम्भ भयो; एउटा ज्वालामुखीजस्तै विष्फोट हुनलागेको पीडाको, आँशुले पनि बगाउन नसकेको वेदनाको र दुःख नै दुःखको सागरमा चोपलिएको जीवनको यथार्थ कहानीको ।

आजसम्म आफ्नो पीडाको बारेमा बताउने कोही पनि उपयुक्त पात्र नभेटेकी आमाले आज आफ्नै सन्तानलाई एउटा कारूणिक कहानी सुनाउन लागिरहनुभएको थियो ।

त्यसैले पनि म आफ्नो धैर्यता जोगाउँदै उहाँका पीडा र वेदनाहरूको सँगालो सुन्न लालायित थिएँ । उहाँको मुखबाट एउटा अलिखित कारूणिक कहानी र एउटा दुःख नै दुःखले भरिएको सत्य घटनालाई एकचित्त भएर सुनिरहेको थिएँ ।

जसरी सानो हुँदा निद्रा नलाग्दा उही आमाले स्वैरकल्पनाका कथाहरु सुनाउनुहुन्थ्यो, यो कहानी पनि कुनै एकादेशको कथाभन्दा कम्ती थिएन । जुन घटनालाई अहिले पनि बिर्सिन नसकेको र दुःखले पनि आफूलाई बिर्सिन नसकेर सधैँ पछ्याइरहेझैँ आफ्ना अतीतका यादहरूलाई केही टाढा राख्न मद्दत पु¥याउने उहाँको विश्वास थियो ।

मैले आज त्यो वेदना र पीडाको कहानी सुन्नैपर्छ, त्यस कहानीका पीडित पात्रको आर्तनाद सुन्नैपर्छ र सहानुभूतिका आफ्ना दुई शब्द बोल्नैपर्छ, किनकि उहाँ मेरी आमा हुनुहुन्छ ।

नौ महिनासम्म गर्भमा राखेर प्रसव वेदनाबाट जन्माएको छोरासामु आफ्ना पीडाका कहानीहरू सुनाउन पाउनु उनको अधिकार थियो र त्यो सुन्नु मेरो कर्तव्य ।

उहाँको कहानीको सुरूवात नै आँशुबाट सुरू भएसँगै मैले पनि आफ्नो चेहरामा मलीनताको भाव झल्काउन पुगेको थिएँ । तर त्यो कुनै देखावटी मलीनता भने पक्कै थिएन । उहाँको यथार्थ कहानीमा एउटा भावुकता थियो, पीडा थियो र रोदन थियो । त्यसैले त आधा शताब्दीअघिका घटनाहरू समेत पनि उहाँको मानसपटलमा सजीव थिए । आँखामा सचित्र वर्णन गर्नसक्ने परिदृश्य थियो र अभिव्यक्तिमा सबैको आँखा रसाउने बनाउनसक्ने क्षमता थियो ।

आफ्नो जन्मघरलाई आठौं वसन्तको अन्त्य हुँदा नहुँदै त्याग गरेर अर्काकै जिम्मामा अपरिचित मानिसको हात समातेर हिँडेकी उहाँको जीवनमा अपरिचित व्यक्तिलाई बाबुआमाले जिम्मा दिएकै दिन जीवनमा खुसीका क्षणहरू कमैमात्र देखापरेका थिए ।

परम्परागत हिन्दूनारीमा हुने गुण नभएकै पनि होइन तर पनि कुनै न कुनै बहानामा हरेक दिन उहाँमाथि शब्दको वाण प्रहार भइरहेकै हुन्थ्यो । जवानीमा उहाँलाई कुनै पनि बहानामा हाँस्ने अधिकार दिइएन । केवल दिइयो अनावश्यक दबाब र पीडादायी क्षण ।

हो, कहानी सुरु गर्दा नगर्दै उनको आँखामा आँशुका थोपाहरू छचल्किरहेका थिए । जुन १० वर्षको उमेरदेखिको दैनिकी थियो । आफ्नो भाग्यलाई धिक्कार्दै बिताएका ५० वर्षमा उहाँको जीवनमा कहिल्यै पनि खुसीको क्षण आएन । एउटा कारूणिक चलचित्रको आभास हुन्थ्यो उहाँको जीवनीमा ।

म पढिरहेको थिएँ त्यही कहानी, जुन सुन्दा पनि अत्यास लाग्ने थियो । उहाँ भन्दै जानुहुन्थ्यो । मेले सुनिरहेको थिएँ । नौ महिने गर्भधारण र प्रसव वेदनाको पैँचो तिरेको सम्झिएर उहाँलाई सुन्दै थियो ।

समयले कोल्टे फेर्दै जाँदा अहिले मेरी आमा पनि सासू बन्नुभएको छ । त्यही सासू जसका कारणले नै १० वर्षे कलिलो उमेरदेखि ४० वर्षे उमेरसम्म कहिले पनि मेरी आमाले ओठमा मुस्कान छर्न पाउनुभएन । जवानीमा अट्टहास हाँसो हाँस्न पाउनुभएन र आफ्नो चाहनाअनुसारको कुनै पनि निर्णय गर्न पाउनुभएन ।

केवल एउटा कारागारमा बन्दी जीवन बिताएकाहरूले झैँ दिनदिनै अरूको टोकसो सहिरहनुपथ्र्याे र उनीहरूकै योजनामा चलाउनुपथ्र्याे आफ्नो जीवन समेत । बाबुआमाले जिम्मा लगाएको एउटालाई तर उहाँमाथि शासन हुन्थ्यो अरू नै बाट ।

हो, उहाँ पनि आज सासू बन्नुभएको छ । समय पहिलेकै जस्तो थियो भने उहाँले पनि कसैको ओठको हाँसो र मनको खुसी खोस्नुपर्ने हो । कसैको बैंसालु यौवनलाई आफ्नो शासनमा राखेर त्यसै खेर फालिदिनुपर्ने हो र कसैलाई यस्तै कारूणिक कहानीको पात्र बनाउनुपर्ने हो । तर, त्यसो हुनसकेन ।

भाग्यले पनि साथ नदिएको भन्ने या त के भन्ने मेरी आमाले कसैमाथि पनि शासन गर्न पाउनुभएन । उहाँ अहिले कसैकी सासू हुनुहुन्छ । तर, उहाँले शासन गर्नुको सट्टा बरू आफैं शासित बन्नुभएको छ । समाजको परिवर्तनले बुहारीको शासनमा बस्नुपरेकी मेरी आमालाई बुहारी बन्दा सासूको शासन र सासु बन्दा बुहारीको शासनले एउटा अभागी सासू र बुहारी साबित गराइदिएको छ ।

उहाँको यो कहानीसँगै कहिले उहाँमा हाँसोको भाव देखिन्थ्यो त कहिले निराशाको । अविवाहित छोराको अगाडि उहाँले सुनाएको कहानीको बदलामा मबाट एउटा प्रतिबद्धता खोजिएको थियो ।

बुहारी बन्दा जसरी आफ्नी सासूले आफूमाथि शासन गरिरहेकी थिइन्, त्यसरी नै अहिले उहाँ आफ्नै बुहारीबाट पनि पीडित बन्न बाध्य हुनुपरेको छ । जुन समस्या पछिल्लो समय मेरी आमाको मात्रै नभएर धेरैका आमाहरूले भोग्नुपरेको छ ।

त्यसैले पनि आफूलाई भाग्यमानी बुहारीको रूपमा चिनाउन नसके पनि अभागी सासूको रूपमा बाँच्न नपरोस् भन्ने चाहना उहाँको चेहरामा प्रष्टै झल्किन्थ्यो ।

त्यसैले मैले पनि १० धारा दूध र नौ महिने गर्भावस्थाको काल्पनिक पीडा सम्झिएर उहाँको चाहनाअनुसार ‘आमा तपाईंमाथि शासन गर्ने बुहारी चाहिएन मलाई’ भनेर सौहार्द्रपूर्ण अवस्थामा सासू बुहारीको मेल गरेर बाँच्नसकिने जीवन खोज्ने प्रतिबद्धता जाहेर गरेको छु । त्यही प्रतिबद्धताले आमाको आँखामा केही चमक देखिएको छ ।

उहाँलाई केही सान्त्वना मिलेको छ । कहानीले कोल्टे फेर्ने आशामा बाँचीरहेकी आमाको इच्छा पूरा गर्ने संकल्प मैले पनि गरिसकेको छु ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com