Aamsanchar

साजनको हत्या आरोपमा थप दुई पक्राउ

Author Image
मङ्गलवार, वैशाख ४, २०७५

बिर्तामोड । बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड–५ निवासी २१ वर्षीय मामा भाञ्जा भनिने सुरज चौधरी र बिर्तामोड–३का २२ वर्षीय राहुल भनिने राजेश साह रहेका छन् । उनीहरुलाई प्रहरीले बिर्तामोडबाटै पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई प्रहरीले जिल्ला अदालत झापामा सोमवार म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसअघि सुन व्यवसायी मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिर्तामोड–३ सैनिकमोड बस्ने २९ वर्षीय पारसकुमार देव, बिर्तामोड– ८ त्रिवेणी टोल बस्ने १९ वर्षीय दीपेश पौडेल र बिर्तामोड–३कै २३ वर्षीय प्रकाश भन्ने चिरञ्जीवी ओलीलाई पक्राउ गरेको थियो ।
मुखियालाई व्यावसायिक रिसीइबीका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।
बिर्तामोडको गोर्खा डिपार्टमेन्टल स्टोर नजिकै रहेको देवा ज्वेलर्सका सञ्चालक साजन फागुन २० गतेदेखि एकाएक बेपत्ता थिए । मेची राजमार्ग अन्तर्गत इलामको लसुने–अर्यालचोक सडकखण्डको जमुनेडाँडाको सडकबाट करिब २० फिट तल जुटको बोराभित्र वेपत्ता बनेको ९ दिनपछि साजनको शव भेटिएको थियो ।
यसअघि पक्राउ परेका तीन जनलाई मानव अपहरण तथा शरीर बन्धक, खुनडाँका र संगठित अपराध मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर