Aamsanchar

महले सबै भाँडा भरिए, मह बेच्न बजारको खोजी

Author Image
मङ्गलवार, वैशाख ४, २०७५

[गोपालप्रसाद पोखरेल ]

पथरी,

मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् । आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेका कारण मह बेच्ने ठाउँ नहँुदा समस्या भएको हो ।

स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसान घरमै मह भण्डारण गरी बजार खोज्न थालेको मेलीफेरा मौरीपालन सहकारी संस्था अध्यक्ष बोधराज खतिवडाको भनाइ छ । उर्लाबारी क्षेत्रमा मात्र यो मौसममा ९० क्विन्टल मह उत्पादन भएको संस्थाका अध्यक्ष खतिवडाले सुनाउनुभयो ।

किसान रमेश खड्काका अनुसार तोरी फुल्ने मौसममा भन्दा जंगली बिरुवा फुल्ने मौसममा मह बढी उत्पादन भएको छ । एक दिन अघि मह काढ्नु भएका खड्काले घरमा धान भण्डारण गरे जसरी नै मह राखेको सुनाउनुभयो । उहाँले भन्नुभयो– “मह यति धेरै उत्पादन भयो कि किनेर ल्याएका सबै भाडा भरिएर घरका जग, अंखोरामा पनि मह राख्नुपर्ने अवस्था छ ।”

खड्काले यो वर्ष तोरी फुलेको सिजनमा चार क्विन्टल र जंगली फूलको मौसममा दुई क्विन्टल गरी छ क्विन्टल मह उत्पादन गर्नुभएको छ । उहाँले हाल २५ घार मौरी पाल्नुभएको छ । गत वर्ष पाँच क्विन्टल मह उत्पादन गर्नुभएका खड्काले भन्नुभयो–“४ क्विन्टल बिक्री भयो । एक क्विन्टल मह मौरीलाई खुवाएर सकेँ ।”

अध्यक्ष खतिवडासँग अहिले ७० घार मौरी छन् । एक पटकमा एक घारबाट १० किलोसम्म मह उत्पादन हुने खतिवडाको भनाइ छ । अर्का किसान भोला पोख्रेलको १३ घारबाट ११४ किलो, हरि विष्टको १६ घारबाट १०८ किलो र नवीन कार्कीको १० घारबाट ८० किलो मह दुईदिन अघि मात्र काढिएको हो ।

मौरीपालन विकास शाखा, गोदावरीका प्राविधिक सहायक सुवास खनालको प्रत्यक्ष निगरानीमा मह काढेका किसान डाबर र पतञ्जलीको महको प्रयोगलाई घटाउन सरकारी स्तरबाट जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ ।

प्राविधिक सहायक खनालका अनुसार महलाई आगोमा पकाउनु हुँदैन, तर बहुराष्ट्रिय कम्पनीको मह ८० डिग्री तापक्रममा उमालेको हुन्छ । त्यसैले, सबै फूलबाट प्राप्त मह एकै रङको हुने हुन्छ । हरेक वनस्पतिअनुसार महको पनि फरक स्वाद र रङ हुने हुनाले स्वदेशी महको प्रयोग उपयोगी हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर