Aamsanchar

साजनको हत्यामा संलग्न थप दुई पक्राउ

Author Image
मङ्गलवार, वैशाख ४, २०७५

झापा,

बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड–५ निवासी २१ वर्षीय मामा भान्जा भनिने सुरज चौधरी र बिर्तामोड–३ का २२ वर्षीय राहुल भनिने राजेश साह रहेका छन् ।

उनीहरुलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत झापामा सोमबार म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसअघि सुन व्यवसायी मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिर्तामोड–३ सैनिकमोड बस्ने २९ वर्षीय पारसकुमार देव, बिर्तामोड–८ त्रिवेणी टोल बस्ने १९ वर्षीय दीपेश पौडेल र बिर्तामोड–३ कै २३ वर्षीय प्रकाश भन्ने चिरञ्जीवी ओलीलाई पक्राउ गरेको थियो ।

मुखियालाई व्यावसायिक रिसइबीका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताउनुभयो ।

बिर्तामोडको गोर्खा डिपार्टमेन्टल स्टोरनजिकै रहेको देवा ज्वेलर्सका सञ्चालक साजन फागुन २० गतेदेखि एकाएक बेपत्ता थिए । मेची राजमार्गअन्तर्गत इलामको लसुने–अर्यालचोक सडकखण्डको जमुनेडाँडाको सडकबाट करीब २० फिट तल जुटको बोराभित्र बेपत्ता बनेको नौ दिनपछि साजनको शव भेटिएको थियो ।

यसअघि पक्राउ परेका तीनजनालाई प्रहरीले मानव अपहरण तथा शरीर बन्धक, खुनडाँका र संगठित अपराध मुद्दा चलाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर